२०७८ श्रावण ५, मंगलवार ०७:५५

प्राविधिक कारण देखाई कामकाज बन्द गरिएको सूचना टाँस गरेर पनि ‘सेटिङ’ काम गरेको भन्दै आक्रोसित सेवाग्राही तथा लेखापढी व्यवसायीहरुले सोमबार राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा चर्को नाराबाजी गर्दै धर्ना दिएका छन् ।

उनीहरुले दोषि कर्मचारी माथि कारवाही नगरिए मंगलबार पनि कार्यालयको मूल गेटमै धर्नामा बसी कामकाज ठप्प पार्ने चेतावनी दिए । लेखापढी व्यवसायी संघ मालपोत इकाईका सचिव बद्रि नारायण यादवका अनुसार नायब सुब्बा गयाप्रसाद यादवले कार्यालय खुल्ना साथ बिहान १० बजेतिर प्राविधिक कारणले कमप्युटर फाँट एक दिनका लागि बन्द रहने सूचना टाँस गरेका थिए । उक्त सूचनामा आ.ब. २०७७÷७८ को मुल्याङ्कन कमप्युटरमा प्रविष्ट गर्ने काम विभागको आदेशानुसार एक दिनका लागि बन्द गरिएको उल्लेख गरिएको थियो । सूचना पढेर टाढा टाढाबाट आएका अधिकांश सेवाग्राही निराश हुँदै घर फर्किए पनि केही सेवाग्राहीसँग भने १० देखि २५ हजारसम्म लिई भित्र भित्रै काम गरेको लेखापढी व्यवसायी संघका सचिव यादवले दाबी गरेका छन् । सचिव यादवले नासु यादवसँगै कमप्युटर फाँटका कर्मचारी राजन ठाकुर र टेकेन्द्र साहले सेवाग्राहीसँग १० देखि १५ हजार रुपैयाँ घुस लिई काम गरेको दाबी गरे । यसबारे नासु यादव तथा कमप्युटर फाँटका कर्मचारी टेकेन्द्र र राजनसँग सम्पर्कको प्रयास गर्दा उनी काम सकेर घर गइसकेको एक कर्मचारीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उक्त घटना बारे आफूलाई पनि जानकारी आएको भन्दै यसबारे सत्यतथ्य बुझ्ने काम भइरहेको बताए ।

Comment


Related News

Latest News

Trending News