२०७८ श्रावण ७, बिहीबार ०८:०३

सर्लाहीमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण विवाद चर्किदै गएको छ ।

क्रियाशिल सदस्यता वितरण विवादलाई लिएर प्रधानमन्त्री एवं पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेताहरुबीच आरोप–प्रत्यारोप पनि बढ्दै गएको छ । क्रियाशील सदस्यता वितरणमा जिल्ला सभापति नागेन्द्र कुमार रायले एकलौटी गरेको भन्दै वरिष्ठ नेता पौडेल निकट कांग्रेस सर्लाहीका नेताहरु केन्द्रीय पार्टी कार्यालय सानेपा, ललितपुरमा ६ दिनदेखि धर्नामा बसिरहेका छन् । पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण रायको नेतृत्वमा पौडेल निकट नेताहरु धर्नामा बसेका हुन् । बुधबारबाट पौडेल निकट नेता बसबरिया गाउँपालिका–१, मानपुर निवासी महाधिवेशन प्रतिनिधि राम गोविन्द राय आमरण अनसन बसेका छन् । सर्लाही जिल्लाका पार्टी सभापति नागेन्द्र कुमार रायले ४ वटै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरणमा धांधली गरेको आरोप लगाउँदै नेता राय बुधबार बिहान १० बजेबाट आमरण अनसन बसेका हुन् । पौडेल पक्षीय नेताहरुले नवप्रवेशीलाई क्रियाशिल सदस्यता वितरणमा प्राथमिकता दिएको, लामो समयदेखि पार्टीमा योगदान पु¥याएका पुराना नेता कार्यकर्ताहरुलाई बाइपास गरेको आरोप लगाएका छन् । पौडेल पक्षीय नेताहरुको आन्दोलनमा सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एवं कांग्रेस नेता डा. अमरेश कुमार सिंहले पनि समर्थन जनाएका छन् ।

क्रियाशील सदस्यताकै विवादलाई लिएर सांसद सिंहले पदबाट राजिनामा दिने चर्चा चलिरहेको छ । यस्तै, धर्नामा पार्टीका केन्द्रीय नेताहरु समेत उपस्थित भएर समर्थन जनाउनेक्रम चलिरहेको नेपाल शिक्षक संघ सर्लाहीका पूर्व अध्यक्ष कौशल किशोर रायले जानकारी दिए । यता, केन्द्रीय पार्टी सभापति देउवा निकट मानिएका जिल्ला सभापति नागेन्द्र कुमार रायले क्रियाशील सदस्यता वितरणमा कुनै मनोमानी नभएको र विधी सम्वत नै भएको दावी गर्दै आएका छन् । पार्टी जिल्ला सभापति राय, उपसभापति सुरेन्द्र सिंह, नेता वीरेन्द्र कुमार सिंह लगायतले मंगलबार रिपोर्टस् क्लब काठमाण्डुमा पत्रकार सम्मेलन गरी क्रियाशील सदस्यतामा विवाद निकालेर केही नेताहरुले पार्टीलाई कमजोर पार्न खोजेको आरोप लगाएका छन् । क्रियाशील सदस्यताको विवादलाई लिएर अहिले सर्लाहीसहित धनुषा, बारा लगायत जिल्लाका नेताहरु पनि केन्द्रीय पार्टी कार्यालयमा पुगेर धर्नामा बसिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News