नेपाल पत्रकार महासंघ धनुषा शाखाको समन्वयमा भएको क्रियाशिल पत्रकारहरुको तालिममै एक संस्थाले अनियमितता गरेको पाइएको छ ।
साउन ८ गते शुक्रवार जनकपुरधामस्थित नेपाल पत्रकार महासंघ धनुषा शाखाकै भवनमा क्रियाशिल पत्रकारहरुका लागि आचारसंहिता सम्बन्धी तालिम दिइयो । करिब ३ घण्टामै सकाएको सो तालिम तीन दिनको हुनुपर्ने थियो । तर पत्रकारहरुलाई सादा कागजमा हस्ताक्षर गराएर तीन घण्टामै सकाएको रहस्य बाहिरिएको छ । तालिमको आयोजना तुलसादेवी हरिहर फाउन्डेसन, ललितपुरले युनेस्कोको आर्थिक सहयोगमा गरेको थियो । तालिममा २५ जना पत्रकार सहभागी थिए । उनीहरुलाई प्रमाणपत्र, सानो ब्याग र ५ सय रुपैया भत्ता उपलब्ध गराइयो । तालिममा प्रयोग गरिएको ब्यानर र प्रमाणपत्रमा समेत (जुलाई २३–२५ अर्थात तीन दिनको तालिम) उल्लेख छ । जनकपुरमा आयोजना गरिएको सो तालिमको ब्यानरमा भने विराटनगर उल्लेख थियो । अचम्म त के भने सो तीनदिने तालिम १ दिनमै सकाउनुमा प्रदेश २ का नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाको पनि संलग्नता देखिएको छ । प्रमुख अतिथि बनेर पुगेका उनले नै कार्यक्रमको उद्घाटन गरे । यति मात्र होइन्, सहभागीलाई प्रदान गरिएको प्रमाणपत्रमा समेत उनको पनि हस्ताक्षर छ । तर २५ जुलाई अर्थात दुई दिनपछि वितरण हुनुपर्ने प्रमाणपत्रमा पहिले नै उनी हस्ताक्षर गरेपछि उनको नैतिकतामा पनि प्रश्न उठेको छ । प्रमाणपत्रमा आयोजक संस्था तुलसादेवी हर हर फाउण्डेशनकी अध्यक्ष सरु सुवेदी, युनेस्कोकाका उपमहासचिव डा. वावुराम अधिकारी र प्रमुख प्रशिक्षकका रुपमा प्राध्यापक सुरेश आचार्यको पनि हस्ताक्षर रहेको छ ।
उनीहरुकै संलग्नतामा तीन दिनको तालिम ३ घण्टामै सकाएर लाखौं रकम अनियमितता गरिएको छ । नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झाले तालिमको लागि महासंघसंग आयोजकले सभाहल भाडामा लिएको बताइन् । उनले तालिमको सहजीकरणका लागि एक जना मागे बमोजिम नित्यानन्द मण्डलको नाम सिफारिस मात्र गरेको बताइन् । उनले प्रमाणपत्रमा जुलाई २३–२५ लेखिएको विषयमा उनले अनभिज्ञता जनाइन् ।


