२०७८ श्रावण ११, सोमबार ०७:३३

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीले आफ्नो कार्यकालको १०० दिन पूरा गरेको अवसरमा प्रदेश २ का प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारसँग भेटघाट कार्यक्रम गरेका छन् ।

सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले स्वागत मन्तव्यको क्रममा हाल कायम रहेको शान्ति सुव्यवस्थालाई स्थायित्वको लागि आग्रह गरे । उनले कोभिड १९ को सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै सङ्घले आफ्नो सक्रियतामा नारायणी अस्पतालमा बाल सघन चिकित्सा इकाईको निर्माण सम्पन्न गरेको र हाल उक्त इकाईबाट प्रभावकारी स्वास्थ्य सेवा प्रदान भईरहेको जानकारी दिए । त्यस्तै उनले वीरगञ्ज नगरभरि विस्तारित सिसिटिभी परियोजनाको लागि दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने, औद्योगिक कोरिडोरको सुरक्षाको लागि औद्योगिक सुरक्षा बल पुनः स्थापना गर्नुपर्ने, औद्योगिक कोरिडोरको लागि केमिकलयुक्त वारुणयन्त्रको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिए । प्रदेश २ का प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले अपराधीहरु एडभान्स र प्रविधिमय भई सकेकोले अपराध न्यूनीकरणको लागि घटनास्थलमा प्रहरी उपस्थित भई अपराध अनुसन्धान गर्नुपर्ने पूरातन अवधारणालाई त्यागी स्मार्ट पुलिसिङ्गको धारणा अनुरुप प्रहरी प्रविधिमय हुनुपर्नेमा जोड दिए । नेपाल प्रहरी पनि प्रविधिमैत्री हुँदै गइरहेको उनले बताए । वीउवासङ्घले आफ्नो अगुवाईमा सारेको सिसिटिभी परियोजनाले अपराध अनुसन्धानमा सहयोगी सिद्ध भएकोले सिसिटिभी परियोजनाको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

नेपाल उद्योग वाणिज्य सङ्घ– प्रदेश नं. २ का अध्यक्ष तथा वीउवासङ्घका पूर्व अध्यक्ष गणेशप्रसाद लाठ तथा पूर्व अध्यक्ष अशोककुमार वैधले वीरगञ्ज–रक्सौल नाकाबाट हुने सर्वसाधारणको आवागमनमा सहजता प्रदान गर्नको लागि अनुरोध गरे । सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा सङ्घका उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास लगायत सङ्घका पदाधिकारी तथा का.स.स.हरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News