अपडेट 
२०७८ श्रावण १२, मंगलवार ०६:५१

ट्वीटरमा एउटा तस्वीर अहिले चर्चामा छ । हाम्रो दक्षिणी छिमेकी देश भारतको उत्तरप्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथ गंगामा एउटा पित्तलको घैँटोबाट दूध प्रवाहित गरिरहेका छन् । यस तस्वीरलाई जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबूराम भट्टराईको कुनै भारतीय मित्रले ट्वीट गरेको रहेछ । डा. भट्टराईले त्यसैलाई रिट्वीट गरेपछि उनि अहिले संकीर्ण हिन्दुवादी संगठनहरुको तारो बनिरहेका छन् । यी संगठनहरुले डां भट्टराईले हिन्दू धार्मिक आस्था र विश्वासको अपमान गरेको भनेर वक्तव्यमार्फत चेतावनी समेत दिएका छन् र एउटा समूहले त जनकपुरमा डा. भट्टराईको पुतला समेत जलाएको छ । केही लेख समेत लेखिएको छ । मजाको कुरा त के छ भने डां भट्टराई के भनेर हिन्दु धार्मिक आस्थामाथी प्रहार गरेका छन् भनेर कहीँ खुलाइएको छैन । अझ भनौ कयौँ विरोध गर्नेलाई समेत थाहा भएको पाइएन । खुलाएको भए राम्रो हुन्थ्यो । वस्तुतः त्यस ट्वीटमा डा. भट्टराईले आफै केही भनेका छैनन् । उनले आफूले आफ्नो भारतीय मित्रको ट्वीटलाई रिट्वीट गरेको मात्र भनेका छन् ।

योगीले गंगामा घैँटोबाट दूध खन्याईरहेको तस्वीर भएको त्यस ट्वीटमा भनिएको छ — ‘विश्वास खतरनाक हो, यस्ले तपाँईलाई दूध बगाउन र पिसाब पिउन सिकाउँछ ।’ (फेथ इज डेन्जरस थिङ्ग. इट मेक्स यु थ्रो अवे मिल्क एन्ड ड्रिन्क युरिन.) । हामी जुनखाले दुनियाँ भोग्दै छौँ, त्यसको यो कटु यथार्थ हो । एकातिर खान नपाएर लाखौँ मानिसहरु, दूध पिउन नपाएर लाखौँ शिशुहरु असमय मर्दैछन्, र अर्कोतिर धर्मको नाममा गंगामा दूध अनाहकमा बगाइँदैछन् । विडम्बना के छ भने यो दूध बगाउने कुनै सामान्य धर्मभीडू नागरिक होइन, कुनै प्रदेशको जनताको जिम्मा लिएको मूख्यमन्त्री पदमा आसीन व्यक्ति हो । यस ट्वीटमा गलत के भनिएको छ त ? आखिर योगीले दूध पानीमा बगाएकै छन् र उनले गोमुत्रलाई पवित्र भनेर पान गर्न सल्लाह दिएकै छन् । चिकित्सकीय दृष्टिले गोमुत्र पान गर्नु ठिक भन्न सक्छ । यसो भन्नु ठिकै होला, तर हरेक बिहान गोमुत्र पानलाई धार्मिक र परलोक सुधार्ने तर्कसंग कसैले जोडछ, भने त्यो त अति नै होला नि ! र यस्तो कुनै शासनप्रमुखबाट हुन्छ भने प्रश्न त उठ्छ नै ! प्रश्न यतिमात्रमा सीमित कहाँ छ र ! मन्दिरहरुमा देउमूत्र्तिहरुको पञ्चस्नान र यज्ञहरुको नाममा प्रत्येक दिन जति दूध, दही, घ्यू र अन्न बगाइन्छ र जलाइन्छ, त्यसलाई देशका बालबालिका र गरीब–गुरुआहरुलाई खुआए पिआएमा देशमा स्वस्थ्यपुस्ता जन्मिने थियो र थोरै भएपनि गरीब समुदायको कल्याण हुनेथियो । आखिर पुराणहरुमा धर्म सारपनि परउपकारलाई नै भनिएको छ — परोपकाराय पुण्याय…। डा. भट्टराईको मित्रले गरेकोट्वीटको निहितार्थ यही हो ।

तर धर्मप्रतिको खतरनाक अन्धविश्वास नै हो कि, उसले वास्तविक दुनियाँभन्दापनि पारलौकिक दुनियाँप्रति बढी समर्पित गराउँछ र वास्तविक दुनियाँको समस्याबाट विमुख गराउँछ । देशको गरिबी र समस्याहरुलाई उपेक्षा गरेर जब कुनै नेताले मोजमस्ती गर्छ, लाखौँ करोडौँ आफ्नो हितमा व्यय गर्छ, अनि त्यो नेता वा पार्टीलाई जनताविरोधी भनेर विरोध गरिन्छ । जब यही काम धर्मको नाममा हुन्छ भने, त्यो कसरी सही हुन्छ ? वस्तुतः आधुनिक राजनीतिमा धर्मको प्रयोगले धर्मलाई असहिष्णु बनाउँदै लगेको छ । होइनभने धर्मभित्रको अन्धविश्वास र जड कर्मकाण्डका आलोचना शुरुदेखी नै हुँदै आएको छ । तपाँईलाई सन्त कबिर याद होला, जस्ले कर्मकाण्डर धार्मिक देखाबापनमाथी आलोचना गर्दै भनेका थिए ः ‘ आँकड–पाथर चुनि–चुनि, मस्जिद लियो बनाय, ता चढि मुल्ला बाङ्ग दे, बहिरो भयो खुदाय ।’ त्यस्तै ‘पाहन पुजे हरि मिले, तो मै पूजूँ पहाड, ता से चक्की भली, पिसि खाय संसार’ । कबिरले धार्मिक आस्थाभित्र बढदै गएको असम्वेदनशीलताको विरोध र मानवीयता सहिष्णुताको पक्ष लिँदै भनेका थिए —‘ पोथी पढि पढि जग मुआ, भया न पण्डित कोई, ढाई आखर प्रेमका पढे सो पण्डित होई ।’तर अर्थलोलुप राजनीति जस्तै धर्मपनि सम्वेदनाविहीन अर्थात प्रेमहीन हुँदै गैरहेको छ । कबीर मात्रै होइन, उनिभन्दा पहिले देखी नै धर्मको आलोचना हुँदै आएको छ । वैदिक वाङ्गमयभित्रका मूख्य छौवटा दर्शनमध्ये साङख्य, वैशेषिक र न्याय त धर्मका आलोचनात्मक शाखा नै हुन् । साङख्य, वैशेषिक र न्यायले वैदिक परम्पराभित्रका जडता र छद्म चेतनाको कटु आलोचना गर्छ ।

अरु त छाडिदिउँ, जुन राजर्षि जनकलाई हामी हाम्रो मिथकीय पूर्वज भन्छौँ, उनको दरबारमा समेत सत्यकाम जाबाली तथा पञ्चशिख जस्ता भौतिकवादी र लौकिक दार्शनिकहरु थिए तथा उनिहरु शास्त्रार्थमा भागलिने गरेका थिए । यस्को निम्ती तपाँईले याज्ञवल्क्यको वृहदारण्यकोपनिषद् पढनु पर्छ । हिन्दी सिनेमामा एउटा फिल्म छ — ओ माई गड । हुन त यस फिल्मले पनि इश्वरीय अस्तित्वमाथी विश्वास नै प्रकट गर्छ । तरपनि कर्मकाण्डीय देखावाप्रति यस्को प्रस्तुति आलोचनात्मक छ । फिल्मको एउटा दृश्यमा अभिनेता परेश रावलले युपीका मूख्यमन्त्रीले गंगामा दूधबगाए झैँ एउटा प्रसङ्गको चर्चा गर्छ । मन्दिरमा मानिसहरुले दूध चढाईरहेका थिए, दूध एउटा प्वाल हुँदै नालीमा गएर मिसिँदै थियो, र त्यहाँ एकजना भोकोमानिस बगीरहेको दूधलाई लोभलाग्दो नजरले हेर्दैथियो । परेश रावलले आफ्नो लोटको दूध देउतालाई नचढाएर त्यस भोको गरीबलाई खान दिए । दूध खाएर त्यस गरीबले रावललाई आशिष दियो — ‘ भगवानले तिम्रो भलो गरुन्’ । मन्दिरमा चढाएको दूध बगेर नालामा मिसिएको देखेर परेश रावल दिक्दारपूर्ण तवरले प्रतिक्रिया व्यक्त गर्छन् —‘टोटल वेस्ट !’ अहिले मन्दिरहरुमा चढाइएका, नगदहरु, सुनहरु, मिठाईहरु, दूध–दही–घ्यूहरु लाई सामाजिक उपयोगिताको दृष्टिले हेर्ने हो भने परेश रावलकै भाषामा भन्नु पर्ने हुन्छ — टोटल वेस्ट । आखिर कहाँ जान्छ देउताको नाममा चढाइएका यी सम्पत्तिहरु ? लोकहित र मुक्तिको निम्ती मन्दिरलाई विगतका राजा–महाराजा र दानीहरुले दानमा दिएका जग्गा जमीनहरु दिनप्रति दिन निजी हुँदै गैरहेका छन् ।

दिन दुनियाँबाट विरक्त भएको भनेर आफूलाई वैरागी र त्यागी भन्ने सन्त र महन्तकापनि निजी सम्पति, व्यवसाय र घरबार हुनथालेको छ । हेर्दाहेर्दै कयौँ मन्दिरहरु गृहस्थको पारिवारिक घरमा परिणत भइसकेको छ । कयौँ मन्दिरको अस्तित्वसमेत नष्ट भएर त्यहाँ ठूला व्यापारी, नेता तथा हाकिमहरुको महल ठढि सकेको छ । तर यति हुँदाहुँदैपनि र धर्मनिर्दिष्ट आचारसंहिताबाट पूर्णतः विमुख भएपनि मन्दिरमा पूजापाठ, सँस्कृतका श्लोक पढेको र साधु चोलाको भरमा मात्र मन्दिरमा बस्नेहरु आदरणीय नै छन् । धार्मिक आचारसंहिताको आधारमा भन्ने हो भने उनिहरुले मन्दिरमा बस्ने नैतिकता गुमाईसकेका छन् । यो हिन्दु धर्ममात्र होइन, प्रायः सबै धर्ममा यही स्थिति छ । कबीरले धेरै पहिले भनेका थिए — मन न रङ्गाए, रङ्गाए जोगी कपडा, दाढी बढाए जोगी हो गए बोकरा ।आफूलाई धर्मको रक्षक भन्नेहरुले यस्का विरोध गर्नु नि ! आजै मैले सामाजिक सञ्जालमा योगीले गंगामा दूध बगाए जस्तै अर्को तस्वीरपनि देखेँ । योगीकै जस्तै केही धर्मभीडू युवाहरु बाग्मतीमा दूध बगाई रहेका छन् । प्रष्ट छ यो प्रचारको लाभ लिएर चर्चामा आउने प्रयासमात्र हो । चर्चामा नै आउन खोजेपनि यिनीहरुमा रावल जस्तै दूध खोलामा बगाउनुभन्दा कुनै गरीबलाई खान दिनु जस्तो सार्थक (अथवा वास्तविक पुण्यको) काम हुने सोँच किन आउँदैन ? डां भट्टराईको ट्वीटमा के लेखिएको छ भन्ने कुरा प्रष्ट नराखेर धर्मविरोधको अमूर्त हावा खडा गर्नुको कारण यही हो । वर्तमानमा धार्मिक सङ्गठनहरु धार्मिकभन्दापनि राजनीतिक चरित्रका बढी छन् । अर्को अर्थमा यिनीहरु राजनैतिक स्वार्थ बोकेका धार्मिक परिचयका संगठनहरु हुन् । छिमेकी भारतीय राजनीतिमा बीजेपी (भारतीय जनता पार्टी) धर्मको आक्रामक प्रयोग गरेर सत्तामा कब्जा गर्ने सबैभन्दा ताजा र सफल मोडेल भएको छ । नेपालमा गणतन्त्र र धर्मनिरपेक्षता आएपछि हिजो राजनीति र समाजमा वर्चस्व जमाएर बसेका पुरातनपन्थी शक्तिहरु पछि धकेलिएका छन् ।

उनिहरु विविध नाममा संगठित छन् र मौका पाउने बित्तिकै विविध उन्मादको निहुँमा फाइदा उठाउन चाहन्छन् । डा. भट्टराईको विरोध यसैको एउटा कडी हो । हुन त धार्मिक हुनुभन्दा मानवीय हुनु श्रेष्ठ हो । तपाँई धार्मिक नै हुनुहुन्छ भनेपनि यस्को सहिष्णुता अपनाउनु नै पर्छ । तर बिचरा डा. भट्टराई ! उनले पटक–पटक धर्मको मानवीय र उदारपक्षको वकालत गरिरहेको ट्वीट म पढीरहेको हुन्छु । उनले वेद, पुराण र उपनिषद्का मानवीय अर्थका श्लोक उल्लेख गरिरहेका हुन्छन् । भर्खरै गुरु पूर्णिमाको दिन उनले गुरुब्र्रम्हा, गुरुर्विष्णु गुरुर्महेश्वरः भनेर आफ्ना पिता र गुरुहरुलाई सम्झे । तर यति गरेरपनि उनले सुख पाएनन् । डा. भट्टराईले माओवादी विचार परित्याग गरिसकेको र अब आफू कम्युनिस्ट नरहेका पटक–पटक भन्दै आएका छन् । तर नास्तिकता र अनिश्वरवादिता त कता हो कता, उनको उदार धार्मिक आलोचना समेत संकीर्ण धार्मिकसंगठनलाई पचेको छैन । सबभन्दा त उनको आलोचना उनको अहिलेको कार्यभन्दापनि उनको जनयुद्धको नाममा र कम्युनिस्ट विगतको नाममा गरिँदैछ । कम्युनिस्टहरु धर्मविरोधी हुन्छन् भन्ने उन्माद फैलाएर निहित राजनैतिकस्वार्थ पूरा गर्नलाई सजिलो बाटो हो । होइनभने यस देशमा विविध धर्म र मतहरु छन् । यहाँ धर्म मान्नु र नमान्नु व्यक्तिको निजी आस्था र विचारको विषय भयो । व्यक्तिको यस अधिकारको सम्मान सबैले गर्नुपर्छ । तर राज्यको कुनै प्रतिनिधिका राजनैतिक होस वा धार्मिक क्रियाकलाप जनहितमा छ वा छैन भन्ने प्रश्न त उठ्छ नै । कुनै राजनीतिकर्मीको क्रियाकलापलाई जनहितको कसीमा समीक्षा गर्ने जनवादी अधिकारको विरोध कुनै फासीवादीले मात्र गर्नसक्छ । तर जे भएपनि योगीको कार्यको विरोध कुनै भारतीयले गरे, तर त्यसको निहुँमा डा. भट्टराईको विरोध गरेर आफूलाई चर्चामा ल्याउन खोजेको हेर्नुपनि रोचक छ ।

अन्तिम कुरा, नेपालमा गणतन्त्र र धर्मनिरपेक्षताको स्थापनापछि हामी समाजको नयाँ रुपान्तरणको अन्तद्र्वन्द्वमा छौँ । यद्यपि राजनीतिजस्तै धर्ममापनि जडता र छद्मताबढदै गएको छ । यस्मा मानवकल्याण भन्दापनि व्यावसायिकता तथा राजनैतिक अपेक्षाहरु बढदै गएका छन् ।त्यसैले राजनीतिजस्तै धर्ममापनि विरोध र समर्थनको निम्ती मानवहित प्राथमिकतामा हुनुपर्छ । अफसोस, राजनीति र धनसंगको गठबन्धनले धर्ममा मानवीय सम्वेदनशीलता हराउँदै छ । मानिसको दुःख र पीडा उपेक्षामा पर्दैछन् । खासगरी युवावर्ग यस उन्मादमा बढी फँस्ने सम्भावना छ । त्यसैले विवेकको प्रयोग गरौँ र सही दिशा अवलम्बन गरौँ । राजनीति होस वा धर्म, मानिसको हितभन्दा विपरीत छ भने त्यसको कुनै अर्थ छैन ।

Comment


Related News

Latest News

Trending News