राजविराज । मुलुककै पुरानो मध्येका एक सप्तरीको राजविराज नगरपालिकाको मुख्य बजारमा बसेका परिवारले लालपुर्जा तथा नक्शा पास नहुँदा समस्यामा परेका छन् ।
२०१६ साल मै नगरपालिका घोषणा भएर नगरको मुख्य सडक तथा भित्री सडकको दाँया बाँया रहेका सयौ परिवार वर्षाैदेखि लालपुर्जा नपाएको र नगरपालिकाबाट नक्शा पास तथा मालपोत कार्यालयबाट रोक्का प्रक्रिया समेत लामो समयदेखि रोकिएपछि मार्कामा परेका हुन् । जग्गा वापत नगरपालिकाबाट पाएको विटौरी रसिदको आधारमा बसोबास र विगतमा समस्यमा परेका बेला सोही विटौरी रसिदमा उल्लेखित जग्गा बैंक र वित्तिय संस्थामा धितो राखी ऋण कर्जा लिने गरेका उनीहरु अहिले सो सेवा सुविधाबाट बन्चित भएका छन् । विगत ५ वर्ष देखि श्रेस्ता र कम्प्युटरमा कुनै रेकर्ड नभएको भन्दै मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि नगरको मुख्य बजारका बासिन्दा बैंक तथा वित्तीय संस्थाबाट पाउनु पर्ने सेवा सुविधाबाट बन्चित भएका हुन । पहिले विटौरी रसिद कै आधारमा बैंकमा जग्गा धितो राखी कारोबार गर्दै आएका थिए, राजविराज ४ का रेडिमेड पसल संचालक मो.दानिसले भने, अब मालपोतले रोक्का गर्न नमानेपछि बैंकले पनि ऋण दिन मान्दैनन् । विटौरी जग्गाको वर्षाै देखि कर लिने गरेको राजविराज नगरपालिकाले लालपुर्जा र नक्शा पास उपलब्ध नगराउदा बैंकले त्यस्तो जग्गा स्वीकार नगरेकाले ब्यापार पनि चौपट भएको अर्का ब्यवसायी अभिषेक साहले गुनासो पोखे । नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवले पुस्तौदेखि बसोबास गर्दै आएका स्थानीयवासी समस्यामा परेका बेला जग्गा धितो राखेर बैंक तथा वित्तिय संस्थाहरुबाट ऋण लिन नपाउनु दुखद र लज्जास्पद रहेको बताए ।
जग्गाको नियमित कर लिने तर समस्यामा परेका बेला आफनै जग्गामा पनि बैंकमा धितो राखी ऋण लिन नपाउने ? यो कस्तो ऐन कानुन हो उनको भनाई छ । यस तर्फ स्थानीय, प्रदेश र संघिय गरी तिनै तहका सरकारले अबिलम्ब ध्यान नदिए नागरिकको तर्फबाट आन्दोलन गर्ने उनले चेतावनी समेत दिए । सरकारको नगर पिच्छे फरक नीतिले विटौरी जग्गा भएका सयौं नगरवासीको वेहाल भएको भन्दै स्थानीयले पनि अविलम्ब यसको समाधान गर्नु पर्ने माग गरेका छन् । नगर प्रमुख शम्भु प्रसाद यादवले मुख्य बजारका वासिन्दा समस्यामा परेका वेला आफ्नैे जग्गा बैंक तथ वित्तिय संस्थामा धितो राखी कर्जा नपाई रहेको पीडा प्रति आफु गम्भिर रहेको र समस्या समाधानका लागी प्रयत्नशिल रहेको बताए । भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट नै उक्त समस्याको समाधान हुने हो, उनले भने “यसका लागी मन्त्रालयमा पहल भइरहेको छ । मालापोत कार्यालयका निमित्त प्रमुख प्रकाश राउतले नगरपालिका क्षेत्रको विटौरी जग्गाको कुनै श्रेस्ता यस कार्यालयमा अहिले नरहेकाले त्यस्तो जग्गा रोक्का गर्ने काम हाल बन्द रहेको बताए । कम्प्युटरमा इन्ट्री छैन तथ्याँक पनि छैन उनले भने, कुनै श्रेस्ता नभएका कारण विटौरी जग्गा भएकाहरुलाई सेवा दिन सकिएको छैन । उनले यस बारे राजविराज नगरपालिकाले नै आवश्यक पहल गर्नू पर्ने आवश्यक्ता रहेको बताए ।
२००३ सालमा भारतको जयपुर शहरको नक्शामा आधारीत रहेर ६० विघा क्षेत्रफलमा वसाईएको राजविराजलाई २०१६ सालमा नगरपालिका घोषणा गरिएको थियो । तर दशकौं वितिसक्दा पनि नगरलाई ब्यवस्थित तथा नगरवासीलाई आवश्यक सेवा सुविधा प्राप्त नभएको नगरवासीको गुनासो रहेको छ ।


