लालबन्दी । पार्टीको क्रियाशील सदस्यता विधि विधान अनुसार वितरण गर्न माग गर्दै आमरण अनशनमा बस्नुभएका नेपाली कांग्रेस सर्लाहीका नेता राम गोविन्द रायको ९ औँ दिनमा अनशन तोडिएको छ ।
केन्द्रको निर्देशन विपरीत क्रियाशील सदस्यता वितरण भएको भन्दै नेता राय सहित अन्य नेताहरु काठमाण्डौं नै गएर धर्नामा बसेका थिए । आमरण अनसनमा बस्नुभएका सर्लाहीका पूर्व मानपुर गाविसका अध्यक्ष बसबरिया गाँउपालिका–१ निवासी ७१ वर्षिय रायको बिहीबार ९ औँ दिनमा अनशन तोडिएको हो । यही भदौँका लागि तय गरिएको १४ औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशिल सदस्यता सम्बन्धि जिल्लाको ४ वटै क्षेत्रमा देखिएको विवाद समाधान गर्न माग गर्दै अनशनमा बस्नुभएका रायलाई नेपाली काँग्रेशका सह–महामन्त्री डा.प्रकाश शरण महतले जुस खुवाएर अनशन तोडाएका थिए । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले क्रियाशिल सदस्यता विवाद समाधानका लागि पूर्व पार्टी पदाधिकारी बैठकको निर्णय अनुसार नेता डा. राम शरण महत र डा. प्रकाश शरण महत रहेको वार्ता टोली गठन गरेको थियो । नेता डा.प्रकाश शरण महतले क्रियाशिल सदस्यता वितरण विवादको विषयमा विधि विधान अनुसार वितरण भए नभएको एकिन गरी क्रियाशिल सदस्यता समायोजन गर्ने र केन्द्रको निर्देशन अनुरुप माग सम्बोधन गर्ने बताए । अनशनमा बस्नुभएका नेता रायसँग जति सक्दो छिटो विवाद समाधानका लागि आफूँले शुक्रबार बस्ने पार्टी पदाधिकारी बैठकमा कुरा राख्ने नेता महतले लिखित प्रतिबद्धता समेत जनाएको पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण रायले बताए ।
काठमाण्डौंमा जिल्लाका पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय, सत्यदेव सिंह दनुवार, जिल्ला सचिव नवीन अधिकारी, संविधान सभा सदस्य रामचन्द्र चौधरी, पूर्व जिल्ला उपसभापति विनोद खनाल, क्षेत्र नं. २ का क्षेत्रीय सभापति दिनेश मिश्र लगायत धर्नामा बसेका थिए । धर्नामा बसेका नेताहरुले नव प्रवेशीको नाममा गैर कांग्रेसीलाई क्रियाशील सदस्यता दिन नहुने, जिल्ला तहबाट नभई वडा स्तरबाटै सिफारिस भएर जानुपर्ने लगायतका माग राखेका थिए । नेपाली काँग्रेशको पार्टी कार्यालय, सानेपामा ४ जना अनशनमा बसेका मध्ये धनुषाका डा. चन्द्रमोहन यादवसहित अन्य दुईजनाको गत मंगलबार नै अनशन तोडिएको थियो ।


