
लालबन्दी । हात्तिको आक्रमणबाट घाईते भएकाको उपचार खर्च हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईले व्यहोर्ने भएका छन् ।
गएको साउन ११ गते सर्लाहीको बागमती नगरपालिका–४ स्थित रेल्वे लिक नजिकै हात्तिको आक्रमणबाट घाईते भएका बाबा भनिने ईब्राहिमको उपचार खर्च नगरप्रमुख प्रसाईले व्यहोर्ने भएका छन् । मानसिक सन्तुलन ठिक नभएका घाईते ईब्राहिमको अहिले वीर अस्पताल काठमाण्डुको ट्रमा सेन्टरमा उपचार भईरहेको वडा नं ११ का वडाध्यक्ष शेष महबुब रेजाले बताए । जंगली हात्तिको आक्रमणबाट उनको कान र खुट्टामा चोट लागेको थियो । घाईतेलाई नमुना अस्पताल, हरिवनमा सामान्य उपचार पछि थप उपचारका लागि वडाध्यक्ष महबुबको नेतृत्वमा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको थियो । त्यहाँपनि उपचार सम्भव नभएपछि ईब्राहिमलाई काठमाण्डुको ट्रमा सेन्टरमा लगिएको नगरप्रमुख प्रसाईले बताए । मानसिक सन्तुलन ठिक नभएका घाईतेको घर कहाँ हो भन्ने थाहा नभएको तर यसै नगरपालिकामा आफन्तको घरमा बस्दै आएकाले उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाको तर्फबाट व्यहोर्न लागिएको नगरप्रमुख प्रसाईले बताए । सर्लाहीमा केही समय अघिबाट देखि जंगली हात्तिको आक्रमणबाट हालसम्म दुई जनाको ज्यान गएको छ भने दर्जनौ घरमा क्षति पुर्याएको छ ।