
जनकपुरधाम । कोरोना संक्रमणको जोखिम कामयम रहेपनि बस, विङगर, टेम्पुलगायतका सार्वजनिक सवारी साधनले कोचाकोच गरी यात्रु चढाउने गरेको पाइएको छ ।
जनकपुरबाट बाहिर जिल्ला जाने र आउने सवारी साधनहरुले क्षमताभन्दा दोब्बर यात्रु चढाउने गर्छन् । आईतवार महोत्तरीको भिठामोड नाकाबाट जनकपुरधाम आइरहेका ना ४ ख २८८८ नम्बरको यात्रु बाहक बसले भित्र दोब्बर बढी यात्रु त चढाएकै थिए । छतमा समेत यात्रु चढाएको देखियो । अधिकांश यात्रु मास्क समेत लगाएका थिएनन् । यसरी नै सार्वजनिक सवारी साधनले स्वास्थ्य मापदण्ड लत्याएर कमाउ धन्दामा लागेपनि प्रशासन मौन देखिएको छ । स्थानीय प्रशासनले स्वास्थ्य मापदण्ड अपनाएर मात्र सवारी साधन चलाउन जारी गरेको निर्देशन कागजमै सिमित बनेको छ । मापदण्ड पालना भइरहेको छ कि छैन भन्ने अनुगमन अहिलेसम्म न धनुषा प्रशासनले न महोत्तरी प्रशासनले गरेको छ । नियमनकारी निकाय मौन बस्दा सार्वजनिक सवारीले मनपरी ढंगले भाडा उठाउने गरेको गुनासो पनि यात्रुहरुको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक नवराज मैनालीले स्वास्थ्य मापदण्ड पालना गर्न पटक पटक बस व्यावसायीहरुसँग आग्रह गर्दा पनि वास्ता नगरेको बताउँछन् । उनी भन्छन्, ‘बढी यात्रु चढाएको र मास्क नलगाएको सवारीलाई होल्ड गरेर कारबाही समेत गर्छौ । तर फेरी त्यस्तै गर्छन् । यात्रुहरु पनि कुरा बुझ्दैनन् ।’ कोरोनाको बहानामा यात्रुहरु भाडा समेत बढी लिने गरेको गुनासोहरु आइरहेको प्रहरी निरीक्षक मैनाली स्वयंम बताउँछन् । उनले बढी भाडा लिने सवारी साधनलाई कारबाही गर्ने गरेको पनि बताए ।
भिठामोड नाकाबाट आउने बसले छतमा समेत यात्रु चढाउने गरेको विषयमा उनले महोत्तरी ट्राफिक प्रहरीले कारबाही गर्नुपर्ने बताए ।