जीतपुर । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा तीन महिनादेखि फोहोर नउठ्दा उपमहानगरपालिका फोहोरको बडङ्गुरको रुपमा परिणत हुँदै गएको छ ।
उपमहानगरपालिकाको मुख्य शहरी क्षेत्र सिमरा, जीतपुर, औराहा, डुमरवाना, अम्लेखगञ्ज बजारको चोकमा फोहोर थुप्रिँदा बजार क्षेत्रमा दुर्गन्ध फैलिँदै गएको छ । स्थानिय तरकारी व्यवसायी ईबराहिन महमदले लामो समयदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएर व्यापार व्यवसाय नै चौपट भएको बताए । तरकारी बजारका व्यवसायीहरुले फोहोर व्यवस्थापनका लागि शुल्क बुझाए पनि तीन महिनादेखि फोहोर व्यवस्थापन हुन सकेको छैन । नगरपालिकाले फोहोर व्यवस्थापनका दुई वर्षदेखि ग्रिन एण्ड क्लिन सिटी प्रालिसँग ठेक्का सम्झौता गरेको छ । नगरपालिकाले ग्रामीण भेगमा उत्पादन भएका फोहोर गाँउघरमै व्यवस्थापन गरे पनि पथलैया–बिरगञ्ज औद्योगिक करिडोरको बजार क्षेत्रका फोहोर दुधौरा खोला छेउमा व्यवस्थापन गर्दै आएको छ । तर, दुधौरा खोला छेउका स्थानीयहरुले अवरोध गरेपछि पसल, होटल व्यवसायका फोहोरहरु सडक चोकचोकमा थुपारिएको छ । स्थानीयहरुले अवरोध गरेका कारण फोहोर व्यवस्थापनमा समस्या भएको ग्रिन एण्ड क्लिन सिटी प्रालि मकवानपुरका प्रमुख नवराज खतिवडाले बताए । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि बर्सेनि करोडौ रुपयाँ खर्च गरे पनि दीर्घकालीन समाधान हुन सकेको छैन ।


