२०७८ श्रावण १९, मंगलवार ०७:२६

महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको हत्या मुद्दामा उनकै बुवा कामेश्वर पाण्डेसहित थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत जेठ २० मा बेपत्ता भएको भनिएकी सुजिताको हत्या उनकै देबर रुपेश ठाकुर लगायतले गरेका थिए । रुपेशले छोरीको हत्या गरेको कुरा थाहा पाएपछि बुवा कामेश्वरले रकमको बार्गेनिङ गरेको अडियो प्रमाण प्रहरीले फेला पारेको छ । सोही आधारमा पिपरा गाउँपालिका ६ रतौलीका ५० वर्षीय कामेश्वरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । हत्याको ५ दिनपछि जेठ २५ मा सुजिताका बुवा कामेश्वरले रुपेशसँग रकमको बार्गेनिङ गरेको प्रहरीको दावी छ । प्रहरीका अनुसार कामेश्वरले बच्चाको नाममा जग्गा राखिदिनुपर्ने भनेर बार्गेनिङ गरेको र कुरा नमिलेपछि अरु व्यक्तिमार्फत प्रहरी कार्यालय पुगेका थिए । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भंगाहा नगरपालिका १ कबिलाशाकी ३५ वर्षीय अञ्जु ठाकुर र जनकपुरधाम उपमहानगर २४ कुटि पोखरी बसहैयाका ५५ वर्षीय प्रमोद मण्डल (बिनोद) पनि पक्राउ परेको छ । रुपेशकी बहिनी हुन् अञ्जु । रुपेशले घटना लगत्तै अञ्जुलाई फोन मार्फत जानकारी गराएका थिए । तर उनी कहिकतै जानकारी नगराई घटना लुकाउने भुमिका निर्वाह गरिन् । सोही आरोपमा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मण्डलले भने सुजिताको शव ओसार्न र गाडेर घटना लुकाउन मद्दत पुर्याएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश बिष्टका अनुसार मण्डल जेठ २० मा खेतमा गाडिएको शव जेठ २९ मा उत्खनन गरी पेट्रोल पम्पसँग जोडिएको शौचालयको सेफ्टी ट् यांकीभित्र लाश दबाउने कार्यमा संलग्न रहेका छन् । सुजिताको शव सेफ्टी ट् यांकीमा लुकाएको झण्डै एक महिनापछि प्रहरीले फेला पार्यो । निर्माणाधित ९ फिटको गहिराई, १३ फिट ७ इन्च लम्बाई र ५ फिट ९ इन्च चौडाई भएको सेफ्टी ट्यांकीको भित्र शव लुकाएर ढलान गरी माथिबाट काठले छोपेको थियो । सुजिताको हत्या देबर रुपेश, ससुरा पतिराम ठाकुर लगायतका ६ जनाले गरेको भन्दै ससुरा पक्षले नै उनीहरुमाथि किटानी जाहेरी प्रहरीमा दर्ता गराएको छ । जसमध्ये रुपेशसहित ४ जना यसअघि नै पक्राउ परिसकेका छन् । सुजिताका श्रीमान मुकेश ठाकुरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । तर उनको संलग्नता नदेखिएपछि कामेश्वरकै रोहबरमा छाडिएको थियो ।

Comment


Related News