आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साह र राज्यमन्त्री रुवी कुमारी कर्णलाई सर्लाहीमा स्वागत गरिएको छ ।
मन्त्री साह र राज्यमन्त्री कर्णलाई सर्लाहीमा बेग्लाबेग्ल कार्यक्रम गरेर स्वागत तथा सम्मान गरिएको हो । उनीहरुको स्वागतमा जिल्ला सदरमुकाम मलंगवास्थित नेकपा माओवादी केन्द्र सर्लाहीले सम्मान कार्यक्रम आयोजना गरेको थियो । जिल्ला समिति सदस्य दिनेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चारमन्त्री साह र राज्यमन्त्री कर्णर्लाइ सम्मान गरिएको नेता रविराज खानले जानकारी दिए । त्यस्तै, सोमबार बिहान लालबन्दी नगरपालिकामा पनि नेकपा माओवादी नगर कमिटिको आयोजनामा मन्त्री साह र राज्यमन्त्री कर्णलाई स्वागत तथा सम्मान गरिएको थियो । लालबन्दी–७ स्थित अम्ब्रेला फुड ल्यान्डमा पनि स्वागत तथा सम्मान कार्यक्रम गरिएको हो । लालबन्दीमा भएको कार्यक्रममा पार्टीका नगर संयोजक ज्ञान बहादुर थापाको अध्यक्षता तथा पार्टीका नेता लेखाराम जर्घामगरको सञ्चालन रहेको थियो । स्वागत तथा सम्मान कार्यक्रममा पार्टीका जिल्ला सह–ईन्चार्ज अच्यूतम काफ्ले, प्रदेश कमिटि सदस्य लुमडी धिमाल लोचन, रामप्रित यादव, विश्वदिप यादव, महिला केन्द्रीय सदस्य विनिता दाहाल, चक्रघट्टा गाँउपालिकाका अध्यक्ष विक्रम यादवलगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा सञ्चारमन्त्री साहले सञ्चार क्षेत्रको विकासका लागि पहल गर्ने बताए । सञ्चार क्षेत्रको राजनितिक र सामाजिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका रहने भएकाले पत्रकारलाई राज्यको तर्फबाट सेवा सुविधा तथा अधिकार दिलाउनका लागि सदैव लागि पर्ने पनि मन्त्री साहले आश्वासन दिए । गत साउन २ गते नेकपा माओवादी केन्द्रबाट भरत साह प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चारमन्त्री र रुवी कुमारी कर्ण राज्यमन्त्री नियुक्त भएका थिए । मन्त्री साह महोत्तरी क्षेत्र नम्बर १ (१) बाट निर्वाचित र राज्यमन्त्री कर्ण सप्तरीबाट समानुपातिक साँसद हुन ।


