२०७८ श्रावण १९, मंगलवार ०७:५१

जनकपुरधाम । भारतीय एसएसबीको ज्यादतीको कारण दार्चुला निवासी जयसिंह धामीको मृत्यु भएको भन्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धनुषाले धामीको भारतीय एसएसबीको ज्यादतीको कारण मृत्यु भएको भन्दै सोमवार स्थानीय रामानन्द चोकबाट विरोध जुलुस प्रदर्शन गर्दै जानकी चोक, राम चोक हुदै जनक चोकमा कोणसभामा परिणत भएको थियो । सीमामा भारतीय ज्यादती बन्द गर, कालापानी लिपुलेक हाम्रो’ लगायतका नारा लगाउदै उनीहरुले विरोध प्रदर्शन गरेका थिए । विरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी धनुषाका सचिव दिनेश सारु मगरले भारतीय विस्तारवादको नीतिको कारण नेपाल र नेपालीले अनाहकमा ज्यान गुमाउदै आएको आरोप लगाए । नेपाल विकास निर्माणमा पछाडि पर्नुको कारण भारत पनि एक रहेको भन्दै अव हरेक देशभक्त नेपालीले भारतीय विस्तारवादको विरुद्ध अगाडी बढ्नुपर्ने मगरले बताए । त्यस्तै कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका धनुषा सदस्य गौरीनारायण मण्डलले सीमावर्ती क्षेत्रमा भारतीय पक्षद्वारा हुने आक्रमणको विरोध गरे । भारतीय एसएसबीको ज्यादतीको कारण नेपालका धामीको मृत्यु भएको भन्दै उनलाई शहिद घोषणा तथा मृतक परिवारलाई क्षतिपुर्तिको व्यवस्था हुनुपर्ने माग गरे । विरोध कार्यक्रमका संयोजक तथा नेपाल कम्युनिष्ट पार्टी धनुषाका सदस्य महेन्द्र मण्डलले भारतीय विस्तारवादको कारण नेपाली जनता दिनप्रतिदिन असुरक्षित हुदै गएको बताए ।

नेपाल र भारतसँग रोटीको सम्बन्ध भएपनि भारतीय पक्षले नेपालमा आफ्नो प्रभाव जमाउन मात्रै त्यस्तो सम्बन्धको नाटक गरेको उनले आरोप लगाए । धामीले न्याय नपाए सम्म आफुहरुको चरणवद्ध आन्दोलनका कार्यक्रम जारी रहने बताए ।

Comment


Related News