अपडेट 
२०७८ श्रावण २०, बुधबार ०७:१६

गरुडा । रौतहटमा पछिलो समय उद्यमी बन्नेको संख्यामा वृद्धि भएको छ ।

जिल्लामा उद्योग दर्ता गर्ने तथा उद्यमी बन्नेको संख्यामा अस्वभाविक रुपमा वृद्धि भएको देखिएको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा रौतहटमा उद्योग दर्ता गरी व्यापार व्यवसाय गर्नेहरुको संख्यामा तेब्बरले वृद्धि भएको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय गौर रौतहटले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदनमा आर्थिक वर्ष २०७६÷७७ को तुलनामा आर्थिक वर्ष २०७७÷७८ मा जिल्लामा उद्यमी बनी व्यापार व्यवसाय गर्नेहरुको संख्या ह्वातै बढेको देखिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा ६ सय ८२ वटा उद्योग दर्ता भएकोमा गत आर्थिक वर्ष २०७७÷७८ मा १७ सय २८ वटा उद्योग दर्ता भएको छ । जिल्लामा सबभन्दा बढी करिव ७५ प्रतिशत उद्योग कृषि तर्फ दर्ता भएका छन भने बाँकी २५ प्रतिशत उद्योग उत्पादनमुलक, पर्यटन र अन्य सेवा तर्फ दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७६÷७७ मा १ सय ७२ महिला र ५ सय ३० पुरुष गरी जम्मा उद्यमी बन्नेको संख्या ७ सय २ रहेकोमा आर्थिक वर्ष २०७७÷७८ मा त्यो संख्या बढेर १७ सय ४४ पुगेको घरेलु तथा साना उद्योग कार्यालय गौरले जनाएको छ । १७ सय ४४ जना मध्ये ५ सय ७२ जना महिला र ११ सय ७२ जना पुरुष रहेका छन् । यो सँगै जिल्लामा एक वर्षमै करिव दुई हजार उद्यमी थपिएका छन् ।

त्यस्तै गत आर्थिक वर्षमा दर्ता भएको १७ सय २८ उद्योगबाट ८ हजार ९ सय ५६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन भने अघिल्लो आर्थिक वर्षमा दर्ता भएको ६ सय ८२ उद्योगबाट ३ हजार ५ सय ५६ जनाले रोजगारी पाएका थिए । यस्तै अघिल्लो आर्थिक वर्षमा १४ सय ५४ फर्म दर्ता भएकोमा गत आर्थिक वर्षमा २१ सय ४७ फर्म दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय गौरले गत आर्थिक वर्षमा युवा युवतीलाई स्वरोजगार बनाउने उद्देश्यले विभिन्न किसिमका तालिम पनि सञ्चालन गरेको छ । सिलाइ कटाई, प्लम्बिङ, मोवाइल मर्मत, हाउस वायरिङ, डल कुसन, मुढा बनाउने, च्याउ खेती, कम्प्यूटर, तरकारी खेती लगाएतका तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । यसैविच गत आर्थिक वर्षमा दुई करोड भन्दा बढी राजश्व संकलन भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ८० लाख रुपैया भन्दा बढी राजश्व वृद्धि भएको उद्योग कार्यालय गौरका उद्योग अधिकृत एवं कार्यालय प्रमुख जयकान्त झाले बताएका छन । आर्थिक वर्ष २०७६÷७७ मा उद्योग दर्ता, फर्म दर्ता, नवीकरण लगाएतबाट १ करोड ६८ लाख ३० हजार ५५० राजश्व संकलन भएकोमा आर्थिक वर्ष २०७७÷७८ मा ८० लाख २५ हजार ९५० रुपैया वृद्धि भई २ करोड ४८ लाख ५६ हजार ५०० रुपैया पुगेको उद्योग अधिकृत झाले बताए । कोरोना महामारीका कारण वैदेशीक रोजगारीमा जान नपाएका तथा अन्य कुनै व्यापार व्यवसाय नभएकाहरु स्वदेशमै व्यापार गरेर आत्मनिर्भर बन्ने सोचका साथ उद्योग दर्ता गरी आफनै व्यवसाय शुरु गरेपछि जिल्लामा उद्यमी बन्नेको संख्या बढेको अधिकृत झाले बताए ।

कोरोना भाइरसको महामारीले दुई वर्षदेखि विश्वलाई गाँजिरहेको छ । अझ, नेपाल जस्तो विकासशील राष्ट्रलाई त महामारीले आर्थिकसँगसँगै सामाजिक असर पनि गरेको हो । भाइरसका कारण कयौंको रोजगारी गुमेको छ भने धेरैको व्यवसाय नै चौपट भइसकेको छ । देशको अर्थतन्त्र पनि महामारीका कारण अझै उकासिन सकेको छैन । विदेशमा रोजगारी गर्न गएका कति नेपाली बेरोजगार बन्दै स्वदेश फर्किएका छन । तर, महामारीले धेरैलाई विदेशमा नभई नेपालमा नै उद्योगी बन्ने ठूलो अवसर प्रदान गर्यो । जसको सदूपयोग अहिले गाउँगाउँमा भइरहेको देखिएको छ । कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा परेको असरले पनि युवाहरुबीच अहिले सानो ठूलो जस्तो भएपनि स्थानीय ठाउँमै व्यापार व्यवसाय गर्ने होडबाजी नै चलेको देखिन्छ । आफनै गाउँ ठाउँमा व्यापार व्यवसाय गरेर यहाँका युवाहरुले अहिले धमाधम आत्मनिर्भर बन्न थालेका छन ।

Comment


Related News

Latest News

Trending News