लालबन्दी । सर्लाहीका किसानले यस वर्षपनि मलको अभाव खेपिरहेका छन् । यस वर्ष समयमा पानि परेर मौसमले साथ दिएको भएपनि रासायनिक मलको अभावका कारण उत्पादन घट्ने भन्दै जिल्लाका किसान चिन्तामा परेका छन् ।
धान रोप्ने समयमा डिएपी मल हाल्न नपाएका सर्लाहीका किसानले अहिले गोडमेल गरिसक्दा पनि युरीया मल पनि हाल्न पाएका छैनन् । सर्लाहीमा गत आर्थिक वर्षमा केन्द्रबाट आएको मलखाद बिक्री भईसकेको र यस वर्षको बिक्री सुरु नै नभएको कृषि सामग्री कम्पनी लिमिटेड, मलंगवाले जनाएको छ । प्रत्येक वर्ष जिल्लाका किसानले मलको अभाव खेप्दै आएकाले यस वर्ष किसानलाई सहज होस् भनेर मलको कोटालाई बढाईदिन मन्त्रालयलाई आग्रह गरेको कृषि सामग्री कम्पनी लिमिटेड, मलंगवाले जनाएको छ। सर्लाहीमा वर्षे धान खेति हुने सबै अर्थात झण्डै ४६ हजार हेक्टर जग्गामा रोपाई हुने र प्रति हेक्टर ९० केजी डिएपी मल रोपाईको बेलामा हाल्नु पर्ने कृषि ज्ञान केन्द्र, सर्लाहीका प्रमुख कमल देव प्रसाद कुशवाहाले जानकारी दिए । उनका अनुसार धान रोपेको २०÷२५ दिनमा प्रति हेक्टर ४५ केजी युरिया र फुल फुल्ने बेलामा पुनः ४५ केजी युरीया मल हाल्नु पर्दछ । किसानले एक वर्ष रासायनिक मलको प्रयोग गरेर खेति गर्ने र अर्को वर्ष मल नहाली खेती गर्ने गर्दा उनीहरुले चाहेजस्तो उत्पादन लिन नसक्ने कृषि प्राविधिकहरुले बताएका छन् ।
प्रत्येक वर्षजसो देखिने मल अभावको समस्याको दिर्घकालिन समाधान तर्फ तिनै तहको सरकारले बेलैमा सोच्नुपर्ने, नत्र भने आफूँहरु जस्तो किसानले कृषिकर्मबाट जिविकोपार्जन गर्न नसक्ने अवस्था आईसकेको धान खेति गरिरहनुभएका लालबन्दी नगरपालिका–११ का किसान नारायण गौतमले गुनासो गरे ।


