जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले टीम सहित प्रदेश २ मा आफ्नो क्षमता यकिन गर्न काठमाण्डुबाट झरेकै दिन आधिकारिकता पाएका अध्यक्ष उपेन्द्र यादवले नेता, कार्यकर्ताहरुलाई पार्टीको मुलप्रवाहमा रहन आव्हान गरेका छन् ।
जसपाको अध्यक्ष रहेकै रुपमा ठाकुरलाई गरिएको प्रचारप्रति जसपाका नेताहरुले आपत्ति जनाएका छन् ।तर अध्यक्ष यादवले भने बिहीबार जारी गरेको विज्ञप्तिमा पार्टीको पक्षमा रहन र एकतालाई मजबुत बनाउन नेता,कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । ठाकुरले बुधवार अबेर राती विज्ञप्ति जारीगर्दै यादवमाथि अनेक दोषारोपण गरेका थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा यादव १८ महिना रहेर गर्न नसकेको काम आफूले १८ दिनमै गरेको दावी गरे ।उनले संविधान संशोधनका लागि कार्यदल, १सय ३० जनाको मुद्दा फिर्ता, नागरिकता सम्बन्धी अध्यादेश लगायतका कामहरु गरेको उल्लेखगर्दै यादवले पाएको आधिकारिकताका लागि निर्वाचन आयोगप्रति रोष प्रकट गरेका छन् । पार्टीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न यादव नै बाधक रहेको आरोप लगाउँदै ठाकुरले आफैले गरेका एकपक्षिय कार्य भने विज्ञप्तिमा उल्लेख गरेका छैनन् । ओली सरकारमा जान लक्ष्मण लाल कर्ण र सर्वेन्द्र शुक्ला रहेको दुई सदस्यीय कार्यदल पार्टीको कुन बैठकबाट निर्णय भएको उल्लेख गरेका छैनन् । महतोलाई संसदीय दलको नेता बनाउने निर्णय र पार्टीको कार्यकारिणी समितिको बैठकलाई पटकपटक रोकेको बारेपनि उनी मौन रहेका छन् । ‘आधिकारिकतासम्बन्धी निर्णय हुनुपूर्व कुनै कारणले अलग भएका वा अन्यत्र अलमलमा परेका सम्पूर्ण साथीहरुलाइ कतै अलमलमा नपरी बिना हिचकिचाहट जनता समाजवादी पार्टी नेपालमै पुनः फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणको अभियानमा साथसाथै अघि बढ्न अपील गरिन्छ ’ उनले विज्ञप्तिमा भनेका छन् , प्रतिगामी शक्तिहरु षड् यन्त्रपूर्ण ढंगले जसपा विरुद्ध लागेर फुटाउ र राज गरको नीति अनुरुप सक्रिय रहेका छन् । एकीकृत हुनका लागि रत्तिभर पनि विचलित नहुन उनले आग्रह गरेका छन् ।
ठाकुरको विज्ञप्ति भन्दा यादवको विज्ञप्तिको प्रभाव बढी परेको विहिवार जनकपुरधाममा देखिएको प्रत्यक्षदर्शीहरुले बताए ।जसपाका प्रभावशाली नेताहरु ठाकुरको वरिपरि नदेखिएको उनीहरुले टिप्पणी गरे । ठाकुरसँगै शरतसिंह भण्डारी र राजेन्द्र महतो आउने बताइएपनि उमाशंकर अरगडिया मात्र देखिए ।ठाकुरको स्वागतमा देखिएका युवाहरु मध्ये अरगडियाका सहयोगीहरु बढी रहेका थिए । ठाकुरको शुक्रवार महोत्तरीमा कार्यक्रम रहेको छ ।तर जसपाका महोत्तरी अध्यक्ष नागेन्द्र यादवले सो दिन पार्टीको कुनै कार्यक्रम नरहेको विज्ञप्ति सार्वजनिक गरेका छन् ।उनीहरुको बैठक विहिवार नै बसेको यादवले जनाएका छन् ।


