वीरगञ्ज । वीरगञ्ज–रक्सौल बीचको श्रीसिया खोलामाथि निर्मित मितेरी पुलको मरम्तमा नेपाल–भारत दुबै देशका अधिकारीहरुले चासो व्यक्त गरेका छन् ।
दुबै देशका सरोकारवालाहरुले बिहीवार निरीक्षण गर्दै पुलको मरम्मत सम्भारमा चासो देखाएका हुन् । वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका सक्रियतामा भारतीय पक्षसंग छलफल गरी पुलको मरम्मत सम्भार गर्न सक्रियता देखाएको हो । रक्सौलस्थित भारतीय दूतावासको अवासमा भएको दुबै पक्ष वीचको वार्तामा हाललाई पुलको आधा भाग कालोपत्रे गर्ने सहमति भएको हो । १०६ मिटर लम्बाईको पुलको आधा भाग ५३ मिटर भारतीय सरकारको रोड कन्सट्रक्शन डिपार्टमेन्ट(आर सिडी)ले निर्माण गर्ने प्रतिबद्धता जनाएपछि एक साता भित्र उक्त पुलको मरम्मत सम्भार हुने पक्का भएको हो । आरसिडीका इन्जिनियर मृत्युञ्जय कुमारले एक साता भित्र पुलको ५३ मिटर लम्बाईमा कालोपत्रे गरिसक्ने आश्वासन दिए । वीरगंज–रक्सौल नाकालाई सौन्दर्यीकरण गर्ने अभियान शुरु भएसंगै सरोकारवालाहरुले आआफनो पक्षबाट पुलको मरम्मत सम्भार र वीरगंज नाकालाई सुन्दर र व्यवस्थ्ति गर्ने कार्य शुरु गरेका छन् । यसैको क्रममा एक साता अघि वीरगंजमा सरोकारवालाहरुको बैठक बसी छलफल भएको थियो । मितेरी पुलमा विगत ६ महिनादेखि खाल्डाखुल्डी भएपछि समस्या हुने गरेकोले मरम्मत गरि नाकाको पुललाई चिटिक्क पार्न नेपाली पक्षले आग्रह गरेको थियो । सन १९९४ मा भारत सरकारको नेशनल हाईवेले उक्त पुल निर्माण गरेको थियो ।
तर पुलको आधा हिस्सा दशगंजा क्षेत्रमा पर्ने भएकोले दुबै देशको सरकार तथा स्थानीय सरकारहरु मरम्मत सम्भार गर्न हच्किदै आएका छन् । वीरगंजको सामाजिक संस्था व्यवस्थित वीरगंज र ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका सक्रियतामा वीरगंज–रक्सौल नाकालाई सुन्दर र व्यवस्थित बनाउने अभियान सरोकारवालासंग छलफल गरी अघि बढेको छ । सोही क्रममा शनिवार वृहत सरसफाई र जनचेतनामुलक कार्यक्रम पनि भोलन्टियर समुह वीरगंजले राखेको छ । मुख्य नाका भएर पनि दैनिक धुवाधुलो तथा फोहोर,प्रदुषण र अव्यस्थित सडकको कारण भारतबाट नेपाल भित्रिने बितिकै नेपालको आकर्षण घटेको सबैले महसुस गरेपछि चिटिक्क र आकर्षक प्रवेश द्वारको रुपमा वीरगंज नाकालाई सफा,सुन्दर र व्यवस्थित बनाउन प्रयास भइरहेको छ । बिहीबारको भ्रमणमा जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, भारतीय महावाणिज्य दूतावास वीरगंजका कन्सुलर शैलेन्द्र कुमार, सशस्त्र प्रहरी बल भन्सार गुल्मका सप्रनि सुवर्णबहादुर बम, रक्सौलका अगुवा महेश अग्रवाल, व्यवस्थित वीरगंजका संयोजक दिलिपराज कार्की,ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आगदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, रक्सौलका अगुवा महेश अग्रवाल, रक्सौल नगर परिसदका प्रमुख कार्यकारी अधिकारी विजयकुमार,पथ निर्माण विभागका कार्यकारी निर्देशक अशोक कुमार,र क्सौल कस्टमका उपायुक्त आशुतोष कुमार सिंहलगायतको सहभागिता थियो ।


