सरकारले भुमी सम्वन्धी समस्या समाधान आयोग खारेज गरेको विरुद्धमा सर्लाहीको लालबन्दीमा लगातार दोश्रो दिन बिहीबार रिले अनसन गरिएको छ ।
भूमिहीन सुकुम्वासी नेपाली नागरिक एक हौँ भन्ने नार ासहित बुधबारबाट लालबन्दी नगरपालिका वडा नं. ६ स्थित जनवादी चौकको पिपल चौतारा परिसरमा रिले अनसन सुरु गरिएको हो । आयोग खारेज गरेर सरकारले भूमिहीन सुकुम्वासीलाई जग्गाविहीनकै अवस्थामा राख्ने काम गरेकाले आफूहरु रिले अनसनमा बसेको अनसनका अगुवा एवं लालबन्दी नगरपालिका–६, का वडाध्यक्ष उज्वल कुमार कार्कीले जानकारी दिए । बिहीबार अनसनको दोस्रो दिन नेकपा एमालेकी केन्द्रीय सदस्य कमला देवी महतो, अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय सदस्य एवं प्रदेश २ की सचिव कल्पना कटुवाल र युवा तथा विद्यार्थी नेता लगायतले सहभागी भई ऐक्यवद्धता जनाएको कार्कीले बताए । सरकारले केही दिनअघि मन्त्रीपरिषद्बाट निर्णय गरी देवी ज्ञवाली नेतृत्वको भूमी सम्वन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो । सरकारले भने सुकुम्वासीलाई जग्गाबाट बन्चित गर्ने उद्देश्य नभई आयोगका पदाधिकारीमा एमालेका कार्यकर्ता मात्रै भर्ती गरिएका कारण खारेज गरिएको जवाफ दिएको छ ।
सर्लाहीमा राज कुमार राय यादवको नेतृत्वमा गठन भएको उक्त आयोगले २० वटै पालिकासँग सम्झौता गरिसकेको थियो भने हरिवन र बागमती नगरपालिकामा जग्गा नापजाँचको काम समेत सुरु गरेको थियो ।


