जीतपुर । बाराको सिमरा–कोहल्वी सडकखण्डको बडहरवा बालगंगा पुल निर्माण मुआब्जा विवादले अलपत्र परेको छ ।
मुआब्जा विवाद अदालत पुगेपछि उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले बडहरवास्थित बालगंगा पुल निर्माण रोक्न अन्तरिम आदेश दिएपछि पुल निर्माण अलपत्र परेको हो । परमेश्वर महासेठले मुआब्जाको माग गर्दै अदालत पुगेका थिए । उनी पूर्व मन्त्री तथा एमाले नेता रघुवीर महासेठका भाइ हुन् । उनले जग्गाको मुआब्जा माग गर्दै अदालतमा रिट हालेपछि पुल निर्माण कार्य अलपत्र परेको स्थानीयले बताए । यसमध्ये महासेठको जग्गा १० कट्ठा रहेको छ। महासेठले प्रतिकट्ठा जग्गाको ७–८ लाख रुपैयाँका दरले १० कट्ठाको करिब ८० लाख रूपैयाँ मुआब्जा माग गरेको जितपुर सिमरा वडा नं.१८ का वडाध्यक्ष अर्जुन दहालले बताए । १२ करोडको लगानीमा पुल निर्माण हुन लागेको छ । पुलको केही भाग ढलान, पुलको दुवैतर्फ माटो भर्ने र तारजालीले ड्याम कस्न बाँकी छ । पुल निर्माणको ठेक्का अक्षय निर्माण सेवा काठमाण्डुले पाएको थियो । डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख खड्गलाल श्रेष्ठले बडहरवा पुल डिजाइन अनुसार नै बनाइएको बताए । मुआब्जा माग्दै निकालिएको विवादबारे श्रेष्ठले निर्माणको अन्तिम चरणमा विवाद सिर्जना गर्नु नियोजित भए पनि कानुनी रुपमा क्षतिपूर्तीको कुनै व्यवस्था नभएको बताए ।


