मलगंवा । माकुरा समूहलाई सर्लाहीको ईश्वरपुर नगरपालिका–३ भक्तिपुरमा रहेको पक्की बाँधको विवाद समाधान गर्न नेतृत्व हस्तान्तरण गरिएको छ ।
ईश्वरपुर नगरपालिकामा माकुरा समूहका लागि आयोजित ३ दिने क्षमता विकास गोष्ठीको समापनमा अवसरमा आईतबार समूहका १३ जना सदस्यलाई नेतृत्व हस्तान्तरण गरिएको हो । जरुवा पानी निस्किएको ठाउँमा कसिएको बाँध ईश्वरपुर नगरपालिकातर्फ पर्ने तर त्यसबाट सिंचाई भने चन्द्रनगर गाउँपालिकाको वडा नं. ३ र ७ का किसानको खेतबारीमा हुँदै आएको छ । सो बाँधको स्वामित्वका विषयमा ईश्वरपुर नगरपालिका कार्यालय र चन्द्रनगर गाउँपालिका तर्फका किसानबीच लामो समयदेखि विवाद चल्दै आएको थियो । बाँधमा माछापालन समेत हुने गरेकाले ईश्वरपुर नगरपालिका कार्यालय तथा किसानहरुले गठन गरेको पक्का बाँध कगवा तथा गेरुका जल उपभोक्ता समितिले बेग्लाबेग्लै ठेक्का लगाउँदा विवाद हुँदै आएको छ । स्थानीय वासिन्दाका अनुसार दुई÷अढाई वर्षअघि बनाइएको उक्त बाँध स्थानीय तह हुनुअघि तत्कालिन जिल्ला विकास समितिले ठेक्का लगाउने गथ्र्यो । स्थानीय तह कायम भएपछि जिविसले बाँधको फाइल ईश्वरपुर नगरपालिकालाई पठायो । त्यसपछि उत्पन्न बाँधको स्वामित्व सम्वन्धी यो विवाद प्रमुख जिल्ला अधिकार ीसम्म पुग्दा समेत समाधान हुन नसकेपछि प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले समाधानको पहल गरिरहेको हो ।
नेतृत्व हस्तान्तरणसँगै अब बाँधको विवाद मिलाउन माकुरा समूहका सदस्यहरुले सबै सरोकारवालासँग समन्वय गर्ने प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले जानकारी दिईन् । आईतबारको कार्यक्रममा ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटा, उपप्रमुख एकावती देवी चौधरीसँगै ईश्वरपुर र चन्द्रनगर दुवै तर्फका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।


