२०७८ श्रावण २५, सोमबार १४:३६

जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशका ३ सांसदलाई थमौती गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

पार्टी नीति विपरीत शंकर पोखरेललाई समर्थन गरी सरकारमा सहभागी भएको भन्दै जसपाले पार्टीका ३ सांसदलाई कारवाही गरेपछि उनीहरु सर्वोच्च पुगेका थिए ।पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि जसपाका लुम्बिनी प्रदेश सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गरी हटाएको थियो । सोको जानकारी प्रदेश सभा सचिवालयलाई दिएपछि प्रदेश सभाले ती सांसदलाई हटाएको सूचना टाँस गरेको थियो ।तर, यसअघिको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामै रहेका बेला आफूहरुलाई पुनः कारवाही गरिएको भन्दै उक्त कारवाही यथास्थितिमा राख्न माग गर्दै उनीहरु सर्वोच्च अदालत पुगेका थिए ।

साउन १८ गते दर्ता गरिएको रिट साउन १९ को पेसीमा चढेको थियो । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा परेको रिट निवेदकबाटै स्थगित गरिएको थियो । त्यसपछि साउन २१ गते पेसीमा चढेको उक्त रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको थियो । उक्त दिन पनि निवेदकको कानुन व्यवसायीबाट स्थगित गराइएको थियो । त्यसपछि सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाकै इजलासमा परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलका लागि भदौ ८ गतेलाई बोलाएको हो । तीन सांसदलाई पदमुक्त गर्नुको कारण पेश गर्न प्रदेश सभा सचिवालय लुम्बिनीलगायत विपक्षीको नाममा कारण देखाऊ आदेशसमेत दिएको छ ।

Comment

Related News

Latest News

Trending News