राजविराज । आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान दिएका दुई जना व्यक्तित्वलाई एक कार्यक्रमको आयोजना गरि अभिनन्दन गरिएको छ ।
जनमूखी पब्लिकेशन प्राली सप्तरीले सोमबार राजविराजमा एक कार्यक्रमको आयोजना गरि प्रदेश २ का आन्तिरक मामिला तथा संचार राज्य मन्त्री रुबी कर्ण तथा वल्र्ड बुक अफ रेकर्डस्बाट सम्मानित बरिष्ठ ज्योतिष एवं बास्तु विशेषज्ञ डा. कैलाश प्रसाद साहलाई अभिनन्दन गरेको हो । दुबै जनालाई कार्यक्रमका प्रमुख अतिथि पूर्व सिचाई मन्त्री उमेश प्रसाद यादवले मैथिली पाग, दोसल्ला र कदरपत्रबाट सम्मान गरेका हुन् । सप्तरीको खडक नगरपालिका निवासी कर्ण जनमूखी पब्लिकेशन प्रालिका सल्लाहकार पनि हुन् । प्रालिद्वारा लामो समयदेखि प्रकाशित हुँदै आएको कल्याण पोष्ट दैनिक पत्रिका संचालनमा सहयोगका साथै सामाजिक विभेद बिरुद्ध एवं जिल्लाको विकासमा योगदान पु¥याए वापत अभिनन्दन गरिएको छ । यस्तै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका निवासी डा. कैलाश प्रसाद साह हालै ज्योतिषि एवं बास्तु शास्त्र क्षेत्रमा वल्र्ड बुक अफ रेकर्डस लण्डनबाट सम्मानित भई जिल्ला र देशकै नाम अन्तराष्ट्रिय स्तरमा राख्न सफल भएकोमा अभिनन्दन गरिएको प्रालिका संस्थापक अध्यक्ष जयप्रकाश चौधरीले बताए ।
प्रालिका वर्तमान अध्यक्ष माला कर्णको अध्यक्षतामा आयोजित अभिनन्दन समारोहमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, ज्येष्ठ नागरिक संघ प्रदेश २ का अध्यक्ष शंकर सारदा, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, प्रहरी उपरिक्षक राजेन्द्र धमला, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, प्रेस स्वतन्त्रता सेनानी बैजनाथ झा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


