अपडेट 
२०७८ श्रावण २७, बुधबार ०७:३२

विषय प्रवेश

देशको विकासमा अत्यन्त सफल सकारात्मक भूमिका निर्वाह गरेको तराई–मधेसमा पत्रकारिताको पनि राम्रो विकास भएको छ । यस भूगोलले देशको पत्रकारिताको विकासमा पनि अत्यन्त विशिष्ट योगदान दिएको छ । भगवान गौतम बुद्धको जन्मस्थलमात्रै नभई कपिलवस्तु साम्राज्यको राजधानी, जनक, सीता तथा सहलेसजस्ता पौराणिक–ऐतिहासिक पात्रको भूमि कहलिएको यस भूमिमा हिन्दू धर्मावलम्बीको बाहुल्य छ भने मुस्लिम धर्मावलम्बी पनि पर्याप्त मात्रामा रहेका छन् । अहिले देशको पत्रकारितामा धार्मिक तथा जातीय योगदानसमेत खोजिन थालिएको अवस्थामा अध्ययनको सुगमताका लागि मात्र यहाँ सन्दर्भ कोट्याइएको हो । यस आलेखमा मधेस शब्दको उपयोग उपयोग तराई–मधेस भन्ने शब्दको अर्थको लागि गरिएको छ । देशको वर्तमान प्रादेशिक संरचनामा मधेस अनेक प्रदेशमा पर्न गएको देखिन्छ । अनेक मातृभाषा बोलिने यस प्रदेशको पूर्वदेखि पश्चिमसम्म र उत्तरदेखि दक्षिणसम्म नेपाली भाषा झन्डै समानरूपले प्रयोग र प्रचलनमा रहेको छ । यस प्रदेशको समग्र पत्रकारिताको सैद्धान्तिक अवस्थाबारे यहाँ छोटकरीमा प्रकाश पारिएको छ ।

मधेसमा पत्रकारिता

नेपालको भूगोलभित्रको पत्रकारिताको इतिहासलाई हेर्ने हो भने निसन्देह केन्द्रीय राजधानी काठमाडौँको अग्रणी स्थान रहेको छ । काठमाडौँपछि समग्र देशमा पत्रकारिताको पथमा फड्को माने मधेस नै हो । मोफसलको पहिलो पत्रकार श्यामप्रसाद शर्मालाई नै मानिन्छ । देशमा प्रजातन्त्रको सूर्योदय भएसँगै शर्माले वीरगंजबाट मोफसलीय पत्रकारिताको नवीन युगको आरम्भ गरेका थिए । २००८ सालमा श्यामप्रसाद शर्माले सेवा नामको पत्रिका प्रकाशन गरेका थिए । सेवामा अहिलेको शब्दावलीका सामान्य पत्रकारिता र साहित्यिक पत्रकारिता दुवै क्षेत्रका विषयवस्तु समावेश थिए । यसकारण तराई मधेसको समग्र पत्रकारिताको अध्ययन गरिँदा सेवाबाट नै सुरुआत गर्नुपर्ने हुन्छ । मधेसमा सामान्य र साहित्यिक दुवै पत्रकारिता फस्टाउँदै गएको छ । यहाँ दुवै किसिमको पत्रकारितालाई मूल पत्रकारिता र साहित्यिक पत्रकारिता भनी छुट्टाछुट्टै सैद्धान्तिक चर्चा गरिएको छ ।

मूल पत्रकारिता

मूल पत्रकारिता भन्नुको अर्थ समसामयिक पत्रकारिता हो । यसअन्तर्गत मूलतः समचार तथा समसामयिक विचार प्रवाहलाई मुख्य स्थान दिइन्छ । मधेसमा मूल पत्रकारिता निकै फस्टाएको छ । देशमा प्रजातन्त्रको पुनर्बहाली भएपश्चात् मूल पत्रकारिताले निर्बाध फस्टाउने मौका पाएको हो । मधेसमा मूलधारका सबै किसिमको पत्रकारिताले एकसाथ विकास गरिरहेको छ । यहाँ सबै किसिमको पत्रकारिताको अर्थ छापा माध्यम, अनलाइन माध्यम, एफएम रेडियो तथा टेलिभिजन आदि हुन् । मधेसका झन्डै हरेक जिल्लाबाट दैनिक पत्रिका प्रकाशन भइरहेको छ । कतिपय जिल्लामा एकभन्दा बढी दैनिक पनि छन् । कतिपय पत्रिकाले जिल्ला र प्रदेशको सीमाभन्दा टाढासम्म पहुँच पु¥याउन सफल भएका छन् र राष्ट्रियस्तरको पत्रिका बन्न सफल पनि भएका छन् । यद्यपि एक दशक पहिलेको साप्ताहिक र पाक्षिक अखबार विस्तारै बन्द हुँदै गइरहेका छन् । मासिक पत्रिका अब ज्यादै कममात्र देखिन्छन् । अहिले सबैभन्दा बढी फस्टाएको अनलाइन पत्रकारिता हो । अनलाइन पत्रकारिता मधेसभर अहिले ऊर्वर अवस्थामा रहेको छ । कतिपय यसलाई जल्दोबल्दो पत्रकारिता पनि भनिरहेका छन् । हरेक जिल्लामा दर्जनौंको संख्यामा रहेका यस्ता अनलाइनले मुख्यतः स्थानीय विषयवस्तुलाई प्रस्तुत गरिरहेका छन् । अझ मोबाइलबाटै समाचार र विचारलाई पनि अपलोड गरिरहेका अधिकांश अनलाइन निकै कम मानिसका बीचमा सीमित रहेका छन् । व्यक्तिपिच्छे नै अनलाइन हुन थालेकोले एकातिर यसमा तीव्र प्रतिस्पर्धा रहेको छ भने अर्कोतिर पाठकको अभाव पनि रहेको छ । वर्तमान समयमा अनलाइनले स्थानीय पत्रकारितामा क्रान्ति नै ल्याएको मानिएको छ । एफएम रेडियोले पत्रकारितालाई नयाँ दिशा प्रदान गरेको छ । जहाँ पत्रिका र अनलाइन शिक्षित र साक्षरहरूका लागि भरपर्दो सञ्चारमाध्यम बनेको छन् भने एफएम रेडियो शिक्षित र साक्षरका साथै निरक्षरसमेतका लागि विश्वासिलो सञ्चारमाध्यम बनेको छ । सूचनाको तत्काल प्रवाह गर्ने भएकोले सूचनामा आफ्नो पहुँच पु¥याउन मोबाइलमार्फत सबै किसिमका स्रोताले एफएम रेडियो सुन्दछन् । हरेकजसो सहर र बजार क्षेत्रमा यसले विस्तार पाइसकेको छ र अझ यसको विस्तार भइरहेको छ । टेलिभिजन पत्रकारिताको विकास पनि व्यापक हुँदै गएको छ । मधेसका हरेक महानगर तथा उपमहानगरमा टेलिभिजन सञ्चालनमा आइसकेका छन् भने विस्तारै अन्य सहरमा पनि टेलिभिजन सञ्चालनमा आउने क्रम चलिरहेको छ । पहिले टेलिभिजनमा उपभोक्ताको पहुँच कम भएको अवस्था नै विस्तारै परिवर्तन हुँदै गएसँगै आफ्नो नजिकको विषयवस्तु माग हुने क्रमसँगै टेलिभिजनको पनि विकास र विस्तार भएको हो । देशको राजधानी काठमाडौँबाट प्रकाशित हुने सबैजसो राष्ट्रिय दैनिक अखबार, सबैजसो एफएम रेडियो, अधिकांश ठूला र स्तरीय अनलाइन तथा सबै टेलिभिजनमा मधेसका प्रायः हरेक जिल्लाबाट सम्वाददाताहरू रहेका छन् । मधेसको पत्रकारिताको विकासमा केन्द्रीय सञ्चारमाध्यमको पनि ठूलो भूमिका रहेको छ । केन्द्रीय सञ्चारमाध्यमबाट उत्प्रेरित भएर मधेसमा पत्रकारिताले फड्को मार्दै गएको हो । मधेसमा मूल पत्रकारिताको विकास सन्तोषजनक रहेको छ ।

साहित्यिक पत्रकारिता

कतिपयले साहित्यिक पत्रकारितालाई अनौपचारिक पत्रकारिता भन्दछन् । साहित्यिक पत्रकारितालाई स्तरीय पत्रकारिता पनि भनिन्छ । भाषा र साहित्यको अन्योन्याश्रित सम्बन्ध हुने तथा मूल पत्रकारिताले जस्तै साहित्यिक पत्रकारिताले पनि सबै किसिमको औपचारिकता पूरा गरेर भाषा, साहित्य, कला र संस्कृति क्षेत्रका समाचार, विचार तथा दर्शनलाई प्राथमिकता दिने हुनाले यसलाई पनि पत्रकारिता नै मानिएको पाइन्छ । मधेसमा साहित्यिक पत्रकारिताले इतिहास बनाएको भए पनि वर्तमानमा मूल पत्रकारिताले जस्तो फड्को मार्न सकेको छैन । हरेक जिल्लाबाट विगतमा साहित्यिक पत्रिका प्रकाशन भएको देखिए पनि वर्तमानमा भने अधिकांश जिल्लाबाट साहित्यिक पत्रिकाको प्रकाशन हुन सकेको छैन । केही सीमित जिल्लाबाट साहित्यिक पत्रकारिताले निरन्तरता पाएको देखिन्छ ।

पत्रकारिताका चुनौती र सम्भावना

देशको अंग मधेस पनि हो । देशको पत्रकारिताको अंग मधेसको पत्रकारिता पनि हो । यसरी देशका पत्रकारिताको समस्या र चुनौतीसित मधेसको पत्रकारिताका समस्या र चुनौती पनि मेला खान्छन् । समग्रमा मधेसको पत्रकारिताका चुनौतीहरूलाई बुँदागतरूपमा यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ :

क. संस्थागत पहिचान : मधेसमा सञ्चारगृहको अभाव छ । बलियो र व्यवस्थित सञ्चारगृह नहुनु स्वच्छ पत्रकारिताको विकासमा चुनौतीको रूपमा रहेको छ । सञ्चारगृहको प्रयास भए पनि प्रायः एकल नियन्त्रणमा रहनु तथा सामूहिक नेतृत्वको सञ्चारगृह टिक्न नसक्नु पनि चुनौती हो । लगानीपूर्व पारदर्शी सहमति बनाएर, समान योग्यता र दक्षताको आधारमा लगानीकर्ता जुटाई व्यवस्थित सञ्चारगृह निर्माण गरी पत्रकारिताको संस्थागत पहिचान स्थापना गर्न सकिने सम्भावना भने देखिन्छ ।

ख. वैयक्तिक पत्रकारिता : मधेसको पत्रकारिता वैयक्तिक प्रकृतिको रहेको छ । यहाँका अखबार, एफएम रेडियो, अनलाइन तथा टेलिभिजन व्यक्तिको नामबाट चलेको देखिन्छ । कतिपय अवस्थामा व्यक्तिको पहिचान सञ्चारमाध्यम वा सञ्चारमाध्यम भन्नु नै कोही व्यक्ति बुझ्नुपर्ने देखिन्छ । यहाँका अधिकांश सञ्चारमाध्यमलाई निश्चित व्यक्तिको पहिचानको रूपमा हेर्ने गरिएको छ र व्यक्तिको गुणावगुण तथा पहुँचलाई पनि पत्रकारितासित जोडर हेर्ने गरिएको छ । तत्कालको परिवेशमा यस चुनौतीलाई समाधान गर्ने सम्भावना निकै कम देखिन्छ ।

ग. व्यावसायिकता : व्यावसायिक पत्रकारिता मधेसको पत्रकारिताको ठूलो चुनौती हो । कोही किन पत्रकार बनेका छन् वा पत्रकारिताको धर्म के हो भन्ने पक्षको ज्ञान नहुँदै पत्रकारितामा प्रवेश गर्नु र पत्रकारिताको मर्यादालाई नबुझी सञ्चारमाध्यमको सञ्चालक बन्न पुग्नु टड्कारो चुनौती रहेको छ । यसले गर्दा पत्रकारमा व्यावसायिकता धर्मको अभाव हुन गई पत्रकारिता नै कमजोर हुन पुगेको देखिन्छ । मधेसको पत्रकारितालाई मर्यादित र व्यावसायिक बनाउन कतैबाट खासै सकारात्मक पहल नहुनु पनि व्यावसायिकताको हकमा देखिएको चुनौती हो । यद्यपि केही प्रतिबद्ध सञ्चारकर्मीले मधेसको व्यावसायिक पत्रकारितालाई निरन्तर अगाडि बढाइरहेका छन् र यस सम्भावनाको मार्गलाई फराकिलो बनाएका छन् ।

घ. न्युन पारिश्रमिक :न्युन पारिश्रमिक वा पारिश्रमिक नै नदिइनु मधेसको पत्रकारिताको चुनौती हो । एफएम रेडियो, स्थानीय पत्रिका तथा टेलिभिजन र अनलाइनमध्ये कमैले कुनै निश्चित विधि र प्रक्रिया अपनाएर समाचारदाता, विश्लेषक तथा लेखकलाई पारिश्रमिक दिने गरेका छन् । अधिकांश सञ्चारमाध्यमका सम्वाददाताहरूले पारिश्रमिक पाउने गरेका छैनन् वा न्युन पारिश्रमिक पाउने गरेका छन् । व्यावसायिक र व्यवस्थित पत्रकारिता हुन सकेमा यो चुनौतीको समाधान हुने सम्भावना स्वाभाविक रहन्छ ।

ङ. तटस्थताको अभाव ः सञ्चारमाध्यमहरू तटस्थ नहुनु पनि चुनौती हो । कुनै निश्चित राजनैतिक दलको मुखपत्रको रूपमा प्रस्तुत हुने, कुनै राजनैतिक दलको विरोधमात्र गर्ने, कुनै राजनीतिकर्मीको पक्ष वा विपक्षमा उभिने तथा सही समाचार सम्प्रेषण नगरी तटस्थताको पहिचान स्थापित गर्न नसक्नु मधेसको पत्रकारिताको चुनौतीको रूपमा रहेको छ ।

च. वैचारिकता : मधेसमा पत्रकारिता भनेको समाचारलेखन र पत्रकार भनेको समाचार लेख्ने, छाप्ने वा श्रव्य–दृश्य सञ्चारमाध्यममा बोल्ने भन्ने सामान्य बुझाइ भइसकेको छ । यसले गर्दा फेसबुकमा दुई लाइन लेख्दैमा पत्रकार भइटोपल्ने प्रवृत्तिको विकास हुनुका साथै पत्रकार भन्ने प्रवृत्तिको पनि विकास भएको छ । यस अवस्थामा मधेसको पत्रकारितामा विचार र दर्शनजस्ता पत्रकारिता आलंकारिक विषयमात्र बन्न पुगेका छन् । अधिकांश सञ्चारकर्मी भनाउँदारूको सञ्चार, जीवनजगत् तथा समाजप्रति कुनै ठोस दृष्टिकोण नै नभएको तथा यससम्बन्धी अध्ययनको खडेरी रहेकोले मधेसको पत्रकारितामा वैचारिकता निकै खड्किँदो पक्ष हो । पत्रकारिताबारे पढेलेखेका सञ्चारकर्मीको अभाव तथा प्राज्ञिक पत्रकारिताको अभावको कारणले मधेसको वैचारिक पत्रकारिता अत्यन्त कमजोर रहेको छ । उच्च बौद्धिक पाठक तथा स्रोताको अभावको कारणले पनि यो चुनौती बढेको हुनुपर्छ ।

छ. राजनैतिक संरक्षण : मधेसको पत्रकारिताको एउटा नराम्रो पक्ष यो पनि हो कि निश्चित सञ्चारमाध्यमलाई निश्चित राजनैतिक दल वा राजनीतिकर्मीको संरक्षण रहेको छ । प्रत्यक्ष वा परोक्षरूपमा राजनीतिकर्मीको लगानी धेरै सञ्चारमाध्यममा रहेको छ । अनलाइन तथा अखबारमा पनि राजनीतिकर्मीको लगानी वा संरक्षण देखिएको छ । यसले गर्दा आम नागरिकले स्थानीय राजनैतिक गतिविधिप्रति समग्रतामा कमै विश्वास गरेको देखिन्छ । राजनीतिकर्मीको संरक्षणमा सञ्चालित सञ्चारमाध्यमले अन्य सञ्चारकर्मी र सञ्चारमाध्यमलाई सधैं निसाना बनाइरहेको हुन्छ ।

ज. कोठे र कपि राइट पत्रकारिता : अहिलेको एउटा मुख्य चुनौती कोठे पत्रकारिता र कपि राइट पत्रकारिता पनि हो । अधिकांश अनलाइन, एफएम रेडियो तथा पत्रिकाका संस्थापक वा सञ्चालक तथा सम्पादक एउटा कोठामा बसेरै समाचार संकलन गर्ने गर्दछन् । सामाजिक सञ्जाल हेरेर, कार्यक्रम आयोजकले फोन वा अन्य माध्यमले पठाएको सूचना तथा फोटोलाई आधार बनाएर तथा कोठाबाटै फोन गरेर समाचार संकलन गरी प्रकाशन–प्रसारण गर्ने प्रवृत्ति भयावह छ । अझ कुनै एक सञ्चारमाध्यममा आइसकेपछि त्यसैलाई कपि गरेर पेस्ट गर्ने वा आधार बनाएर आफ्नो सञ्चारमाध्यममा प्रवाह गर्ने प्रवृत्ति रहेको छ ।

झ. सामाजिक सञ्जाल : सामाजिक सञ्जाल अहिले सामाजिक सञ्चारको रूपमा विकास भइसकेको छ । यो यति तीव्र छ कि यसमा आएको विषयवस्तुप्रति तत्काल सर्वसाधारणले एउटा धारणा बनाइसक्छ र प्रतिक्रिया जनाउन सुरु भइहाल्छ । सामाजिक सञ्जालमा आउने विषय र त्यसप्रतिको प्रतिक्रियाले एउटा धारणा बनाइसकेको अवस्थामा औपचारिक स्थानीय सञ्चारमाध्यममा सोही विषयवस्तु जस्ताको तस्तै आउँदा वा फरक दृष्टिकोणबाट आउँदा सर्वसाधारणको विश्वसनीयता कम हुने तथा सम्बनिधत सञ्चारमाध्यमप्रतिको आकर्षण कम हुने प्रवृत्ति देखिएको छ । कतिपय सञ्चारकर्मीले आफ्नो सञ्चारमाध्यममा आएको समाचारलाई सोझै सामाजिक सञ्जालमा शेयर गर्ने र पाठकको ध्यानाकृष्ट गर्ने गर्दछन् । सामाजिक सञ्जाललाई समाचार सञ्जालमा परिणत गर्ने सञ्चारकर्मीहरूकै कमजोरीका कारण सबैतिर पत्रकारितामा चुनौती थपिएको छ ।

ञ. जथाभावी प्रवेश : पत्रकार को हुने ? किन हुने ? कसरी हुने ? यससम्बन्धी ठोस विधि र प्रक्रियाको अभावमा सामाजिक सञ्जालमा कुनै योजना वा कार्यमाथि कडा प्रहार गर्दै नकारात्मक टिप्पणी सार्वजनिक गर्दैमा पत्रकार भइहाल्ने वा समाजले पनि पत्रकार स्वीकार गरिहाल्ने प्रवृत्ति हावी छ । यसै गरी कसैको आडमा वा कुनै निहित स्वार्थ पूरा गर्न–गराउन त्यस्ता सामग्रीलाई कुनै सञ्चारमाध्यमले स्वीकार गरी तिनलाई परिचयपत्र बनाइदिनासाथ क्रान्तिकारी पत्रकार भइहाल्ने प्रवृत्ति छ । पारिश्रमिक दिनु नपर्ने तथा धम्कीको भाषा प्रयोग गरी समाचार लेख्ने वा लेखाउने प्रवृत्ति रहेको छ । कुनै निश्चित योग्यता वा तालिम बिना नै जथाभावी सञ्चारकर्मी बन्ने बा बनाउने प्रवृत्ति विकराल चुनौती हो । सञ्चार क्षेत्रमा जथाभावी प्रवेशले अनेक विकृति ल्याएको छ ।

ट. सरकारी संरक्षणको अभाव : मधेसका सञ्चारमाध्यमप्रति कुनै पनि तहको सरकारको सकारात्मक र सहयोगात्मक दृष्टिकोण रहेको देखिँदैन । कम्तीमा हरेक जिल्लामा सबै किसिमका सञ्चारमाध्यमबाट एक एकलाई नमुनाको रूपमा विकास गर्ने अवधारणा सरकारको रहेको छैन । सबै सञ्चारमाध्यमलाई एकै किसिमको दृष्टिकोणले हेर्ने गरिएकोले मधेसको पत्रकारिता झन् पछाडि परेको हो । कम्तीमा स्थानीय तथा प्रदेश सरकारहरूलाई निश्चित मापदन्ड बनाएर सञ्चारजगत्लाई हेर्न तथा सहयोग गर्न निर्देशिका तयार हुने हो भने मधेसको सञ्चारमाध्यम पनि स्तरीय बन्ने दौडमा सामेल हुन सक्थ्यो ।

ठ. जागरणको अभाव : मधेसमा अशिक्षा र गरिबी व्याप्त छ । अशिक्षा र गरिबीको कारण सञ्चारमाध्यमको विकासमा चुनौती थपेको छ । जहाँ अशिक्षा र गरिबी हुन्छ, त्यहाँ सञ्चारमाध्यमको भूमिका विशिष्ट हुन्छ तर अशिक्षा र गरिबीले सञ्चारमाध्यमप्रति सकारात्मक जागरणको अभाव देखिएको हो । शिक्षा र चेतनामा वृद्धिसँगै गरिबी उन्मूलन हुँदै जाँदा समग्र पत्रकारिताप्रति सकारात्मक परिवेशको सिर्जना हुने विश्वास गर्न सकिन्छ । केन्द्रीय सञ्चारमाध्यप्रतिको उन्मुखता, उच्च बौद्धिक तथा प्राज्ञिक व्यक्तित्वको अभाव, समाजमा जातीय कट्टरता तथा अन्धसमर्थनलगायतका चुनौतीहरू पनि रहेका छन् । अध्ययन तथा पठन संस्कृतिको विकास नहुनु, अर्थोपार्जनलाई समाजले प्रधानता दिनु, पत्रकारितामा निरन्तर लगानी गर्दा पनि उचित सम्मान पाउन नसक्नु पनि मधेसमा पत्रकारिताका जल्दाबल्दा र यथार्थ चुनौतीहरू हुन् । नेपाली भाषाबाहेकका अन्य कुनै पनि मातृभाषामा पत्रकारिताले फड्को नमार्नुका पनि अनेक चुनौतीहरू रहेका छन् । नेपाली भाषा र अन्य मातृभाषाको पत्रकारिताका चुनौतीहरू एक अर्कासित अन्तरसम्बन्धित पनि छन् र कतिपय विशिष्ट पनि । मधेसमा पत्रकारिता प्राज्ञिक पेसाको रूपमा स्थापित हुन नसक्नु, कतै कुनै रोजगारीमा खपत हुन नसकेकाले मात्र पत्रकारिता गर्छन् भन्ने अवधारणाको विकास हुनु तथा पितपत्रकारिताको बोलबाला बढ्नु पनि मधेसमा पत्रकारिताका चुनौती हुन् । यी चुनौतीहरूलाई समयले विस्तारै सम्बोधन गर्ने आशा गरौँ ।

निष्कर्ष

तराई–मधेसमा मात्र होइन, देशको पत्रकारितामा अनेक चुनौतीहरू रहेका छन् । अनेक धर्म, संस्कृति, जाति तथा भाषाको संगम यस देशमा पत्रकारिताका अनेक चुनौतीहरू रहेका छन् । अनेक चुनौतीहरू विद्यमान रहे पनि चुनौतीहरूसित पौठेजोरी खेल्दै मधेसको पत्रकारिता निरन्तर अगाडि बढिरहेको छ । इतिहासले फड्को मार्ने क्रमसँगै रौतहटको पत्रकारिता पनि निरन्तर फड्को मारिरहेको देखिएको छ । पत्रकारिता निरन्तर प्रवाहशील नदीको जस्तो भएकोले नदीको प्रवाहलाई कुनै पनि चुनौतीले दीर्घकालसम्म रोकिरहन नसकेजस्तै मधेसको पत्रकारिताका अनेक सामान्य र विशिष्ट चुनौती हुँदाहुँदै पनि यो प्रवाहमय रहेको छ, गतिशील रहेको छ । यही गतिशीलताले चुनौतीका चाङहरूका अगाडि अनेक सम्भावनालाई उभ्याएका छन् । यही सम्भावनाले मधेसको पत्रकारितामा आशाका नयाँ किरणहरू देखिएका पनि छन् ।

Comment


Related News

Latest News

Trending News