वीरगञ्ज । भारतले ७५औं स्वतन्त्रता दिवस अर्थात १५ अगस्त नजिकिदैे गर्दा त्यहाँको बिहार प्रान्तको ऐतिहासिक शहर बैशालीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले भारतको स्वतन्त्रता आन्दोलनमा नेपाली जनता र नेताहरुको पनि योगदान रहेको चर्चा गरेका छन् ।
महात्मा गान्धीले ब्रिटिश शासनको बिरुद्धमा ‘भारत छोडो’ आन्दोलन अगस्त ९ तारेखका दिन सुरु गरेको दिवस पारी मिडिया फोर बोर्डर हार्मोनी बैशाली शाखाले आयोजन गरेको मैत्री संवाद कार्यक्रममा सहभागिहरुले यस्तो चर्चा गरेका हुन । आयोजकले नेपालबाट गएका ११ जना पत्रकारसहित १४ सदस्यीय टोलीलाई स्वागत गरेका थिए । ‘हामी भारतबासी अहिले ७५औं स्वतन्त्रता दिवस मनाई राखेका छौं । स्वतन्त्रता प्राप्त गर्न भएका भारतीय स्वाधीनता आन्दोलनमा नेपालीहरुको पनि योगदान छ । त्यसको लागि हामीले यहाँहरुप्रति सम्मान प्रकट गर्दछौं,’ कार्यक्रमको अध्यक्षता गरेका आयोजक संस्थका अध्यक्ष प्रभात कुमारले भने, ‘छिमेकी मित्रराष्ट्र नेपालप्रति हाम्रो बिशेष सम्मान छ । त्यस्तै विश्वलाई शान्तिको ज्ञान दिने भगवान बुद्धप्रति र नेपालका विशेश्वरप्रसाद कोइरला लगायत तमाम प्रजातन्त्रवादी नेताहरुप्रति सम्मान प्रकट गर्दछौं ।’ नेपालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा भारतीयहरुको योगदान पनि त्यतिकै महत्वपुर्ण रहेको भन्दै उनले यसलाई ऐतिहासिक, समाजिक, संस्कृति र भौगोलिक साझापना बताउदै नेपाल र भारतको सम्बन्धलाई अद्वितीय भनेको सहभागि अमित साहले बताए । बैशालीका वरिष्ठ पत्रकार अनिल कुमारले नेपाल र भारतको सम्बन्ध निकै प्रचीन कालदेखि रहेको बताए । बैशाली नगर यसको पुरानो साक्षी भएको उल्लेख गर्दै उनले भगवान बुद्ध र महाबिरको कालखण्डलाई पनि स्मरण गरे ।
नेपालबाट गएको पत्रकारसहितको टोलीलाई सन १८१६ मा ऐतिहासिक सुगौली सन्धी भएको ठाउँ सुगौलीमा मिडिया फोर बोर्डर हार्मोनीको स्थानीय शाखाले स्वागत गरेर बैशालीतर्फ पठाएको थियो । मुजफरपुर शाखाले चियापान आयोजन गरेको थियो भने बैशालीमा कार्यक्रम आयोजित भएको थियो । कार्यक्रमा बोल्दै नेपालका पत्रकार बृजलाल पसवान, उदय दास, मनोज पटेल, नरेश सर्राफ लगायतले नेपाल भारत सम्बन्ध प्रगाढ बनाउदै लैजानु पर्ने बताए । \


