राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका ७ पोखरीयाकी १९ वर्षीया ज्योती पासवानको आत्महत्या प्रकरणमा माइती पक्षले एक जना बिरुद्ध मंगलबार किटनी जाहेरी दर्ता गराएको छ ।
माइती पक्षले इलाका प्रहरी कार्यालय कडोरबोनामा किटानी जाहेरी दर्ता गराएको हो । गएको साउन २३ गते माइत मै आफ्नो कोठामा झुण्डिएको अवस्थामा ज्योतीको मृत अवस्थामा फेला परेको थियो । घटनाको चार दिनपछि ज्योतीका बुबा प्रमोद पासवानले ज्योतीलाई विहे गरि लगेका सोही वडा निवासी कृष्ण मिश्र बिरुद्ध किटानी जाहेरी दिएका हुन् । जाहेरीमा मिश्रमाथी आत्महत्या दुरुत्साहन, जातिय छुवाछुत र जबरजस्तीकरणी मुद्दा अन्तरगत पक्राउ गरि कारवाही चलाउन माग गरिएको छ । मिश्र भने विगत दुई महिनादेखी फरार छन् । प्राप्त घटना विवरण अनुसार ज्योती र कृष्णबीच गहिरो प्रेम सम्बन्ध थियो । तर, तल्लो जातको छोरी ल्याउनु हुन्न भन्दै कृष्णका अभिभावकले असहमति जनाएपछि पाँच महिनाअघि ज्योतीलाई लिएर कृष्ण बुटवल पुगेका थिए । उनी बुटवलस्थित नेपाल आयल निगममा कार्यरत छन् । यसबीचमा दुबै जनाले जनकपुरस्थित रामजानकी मन्दिरमा पुगि विहे गरेका थिए । दुबैको बैवाहिक जीवन पनि राम्रै बित्दै गरेको थियो । “तर एक साता अघि छोरीले फोन गरेर आफू लहानस्थित पुष्पाञ्जली लँजमा अलपत्र अवस्थामा रहेको भन्दै फोन गरेपछि आमा इनरदेवी र बुबा प्रमोदको होसहवास उड्यो । केही मान्छे लिएर उनीहरु लहान पुगे । सात दिनदेखी लँजमा बस्दा भएको बिल सबै तिरे । र छोरीलाई लिएर इलाका प्रहरी कार्यालय लहान पुगे । आमा इनरदेवीका अनुसार ज्योतीले त्यती बेला प्रहरीलाई दिएको बयानमा भनेकी थिइन्, “मलाई बजारको केही काम छ, चाडै आउछु भन्दै कृष्ण निस्केका थिए ।” तर, सात दिन बितिसक्दा पनि फर्केर नआएपछि आमा बुबालाई खबर गरे, प्रहरीलाई उनले दिएको बयानमा उल्लेख गरेकी थिइन् ।
लहान इलाका प्रहरी कार्यालयमा आवश्यक प्रकृया पश्चात् बुबा प्रमोदले ज्योतीलाई लिएर घर फर्केका थिए । तर, निरन्तर चिन्तामा डुबेकी छोरी ज्योती साउन २३ गते झुण्डिएर प्राण त्याग गरिन्, बुबा प्रमोदले भने, “आत्महत्या गर्न बाध्य पार्ने कृष्णलाई अविलम्ब पक्राउ गरि कारवाही गर्नुपर्छ ।” कृष्णले बोक्ने मोवाइल पनि स्वीच अफ छन् उनले भने । ज्योतीको आत्महत्या प्रकरणको पूर्व सिंचाई मन्त्री उमेश यादवका साथै विभिन्न दलित अधिकारवादी संघसंस्थाले घटनाप्रति चासो देखाउँदै घटनाको छानबिन र दोषिमाथी कडा कारवाहीको माँग गरेका छन् । प्रहरी निरिक्षक बिरेन्द्र पासवानले पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेपनि प्रहरीले आफ्नो तर्फबाट गर्नुपर्ने सबै पाटोबाट अनुसन्धान गरिरहेको बताए । मृतकको पोष्टमार्टम प्रतिवेदन र फरार पक्राउ परेपछि सत्यतथ्य यर्थाथ बाहिर आउछ उनले भने । स्कुल र क्यामपस पढ्दा पढ्दै प्रेम गर्न थाल्ने र त्यस्ता अधिकतर घटनामा परिवारिक अस्वीकृती हुने हुँदा भागेर विवाह गर्ने जोडिहरुको जिवन विवाह पश्चात् निकै कष्टकर हुने र कतिपयसँग यस्तो अप्रिय घटना हुने गरेको स्थानिय बुद्धिजिविहरुको भनाई छ ।


