२०७८ श्रावण २९, शुक्रबार ०८:०६

जनकपुरधाम । सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वनको जग्गा फिर्ता ल्याउनुपर्ने लगायतका माग राखेर दुई जना चुरे अभियानी जनकपुरमा आमरण अनसन सुरु गरेका छन् ।

चुरे तथा वन जंगल संरक्षण अभियानका केन्द्रीय सह–संयोजक रानी राय र धनुषा संयोजक अमन यादव बिहीवार दिउँसोबाट जनकपुरधामको जनकचोकमा आमरण अनसन सुरु गरेका हुन् । जिल्ला वन कार्यालय लहानले वृक्षारोपनका लागि खरिद गरेको विरुवामा भ्रष्टाचार गरेको विषयमा छानविन गर्नुपर्ने, सोही कार्यालयमा धर्नाका क्रममा दमन गरेको र चुरे अभियानीमाथि लगाएको झुठा मुद्दा फिर्ता गर्नुपर्ने, मारुती सिमेन्टले कब्जा गरेको वनको जग्गा फिर्ता ल्याउनुपर्ने लगायतका पाँच बुँदे माग राखेर उनी दुबैजना धर्ना बसेका छन् । मंगलवार पत्रकार सम्मेलन गरी उनीहरु बुधवारसम्म माग पुरा नभए आमरण अनसन बस्ने अल्टिमेटम दिएका थिए । तर प्रदेश सरकारले कुनै चासो देखाएनन् । त्यसपछि बाध्य भएर उनीहरु अनसन बनेका छन् । उनीहरुको साथ अभियानका महोत्तरी संयोजक सबिता यादव पनि दिएकी छन् । राष्ट्रिय यूवा संघका केन्द्रीय सदस्य मुन्जय राउत लगायतले अनसनलाई समर्थन गरेका छन् । वन कार्यालय लहान, सिरहाले आर्थिक वर्ष २०७६÷०७७ र २०७७÷०७८ गरेको सम्पूर्ण कार्यमाथि छानबिन हुनुपर्ने माग पनि गरेका छन् । माग पुरा गराउन यसअघि उनीहरु पटक पटक मधेस भवनमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना बसेका थिए । मुख्यमन्त्री लालबाबु राउतले समेत मारुती सिमेन्टले अतिक्रमण गरेको जग्गा फिर्ता गराउने प्रतिवद्धता गरेपनि अहिले मौन बसेपछि अभियानीहरु सशंकित बनेका छन् ।

मारुती सिमेन्टले ठूलो रकम खर्चेर सम्बन्धित निकायको मुख बन्द गरेपछि अतिक्रमित जग्गा फिर्ता आउन नसकेको अभियानी सबिता यादवले बताइन् । उनले भनिन्, ‘वन कार्यालयका अधिकारी सबै बिक्री भएका छन् । मारुती सिमेन्टले कब्जा गरेको जग्गा फिर्ता ल्याउन र विरुवा खरिदमा गरेको भ्रष्टाचार छानविनको माग राख्दा अभियानीहरुमाथि वन कार्यालयले झुठा मुद्दामा फसाएको छ ।’

Comment


Related News