लालबन्दी । डेढ महिनाअघि बाढीले क्षति पुयाएको फूलजोर खोलाको पुल निर्माण कार्य अलपत्र परेको छ ।गएको असार १५ गते राती आएको बाढीले लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८ रामपुरलाई जोड्ने निर्माणाधीन पुलमा क्षति पु¥याएको थियो ।
त्यसपछि पुल निर्माणको काम अघि बढ्न सकेको छैन् । पुल ढलान भएको दुई सातामै बाढी आएर क्षति पु¥याएको हो । ईश्वरपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष श्याम थापाले पुलको निर्माण कार्य अघि बढाउन आफूले ठेकेदारलाई निरन्तर ताकेता गरेको बताए । ठेकेदारले बेलैमा काम नगरेर बदमासी गरेका कारण पुल निर्माण कार्य अलपत्र परेको वडाध्यक्ष थापाले बताए । दुई सय मिटर लामो पुलको झण्डै ४० मिटरजतिमा बाढीले क्षति पुर्याएको छ । गत असार मसान्तमै निर्माण सकेर हस्तान्तरण हुनुपर्ने पुलको निर्माण कार्य ठप्प हुँदा स्थानीय चिन्तित बनेका छन् । पुल निर्माणको काम पूरा नहुँदा लालबन्दी र ईश्वरपुर नगरपालिकासहित अरु छिमेकी पालिकाका बासिन्दालाई समेत छोटो दूरीमा पर्ने भित्री सडक भएर यात्रा गर्न समस्या परेको छ । उक्त पुल निर्माणका लागि पप्पु शिवशंकर जेभीले १२ करोडमा ठेक्का साकार गरेको छ ।
निर्माण कम्पनीका प्रतिनिधि मनोज कुमार साहले अहिले बर्षायाममा काम नहुने भएकाले अब कात्तिक लागेपछि मात्रै पुलको बाँकी काम अघि बढाइने बताए ।


