सत्तारुढ नेपाली काँग्रेसको महाधिवेशन सरेर मंसिर ९ गते हुने भएको छ ।
काँगे्रस केन्द्रिय समितिको बैठकले शनिवार महाधिवेशनको कार्यतालिकामा संशोधन गरेको छ ।संशोधित कार्यतालिका अनुसार भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु हुनेछ । कयौं पटक महाधिवेशनको घोषित तिथिलाई सारेको काँग्रेसका लागि अब यो नसर्ने तिथि बनेको छ ।भदौमा अधिवेशन प्रारम्भ नभए निर्वाचन आयोगले कानुन बमोजिम दलको दर्ता बदर गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगसितको सुझाव अनुसार नै भदौबाट महाधिवेशनको लागि प्राम्भिक चरणको वडा अधिवेशन सुरु गर्न केन्द्रिय समितिले निर्णय गरेको छ ।महाधिवेशनको कार्यतालिका सार्न प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रिय समिति बैठक अगाडी शीर्ष नेताहरुलाई विश्वासमा लिएका थिए । संशोधित कार्यतालिका अनुसार वडा अधिवेशन भदौ १८ गते र गाउँ, नगरपालिका अधिवेशन भदौ २७ गते हुनेछ । त्यसैगरि प्रदेश सभा स्तरका क्षेत्रीय अधिवेशन असोज १ गते, संघीय निर्वाचन क्षेत्रीय अधिवेशन असोज ५ गते र जिल्ला अधिवेशनहरू असोज १० गते गर्ने केन्द्रिय समितिले टुंगो लगाएको छ ।
काँग्रेसले पहिलो पटक गर्न लागेको प्रदेश अधिवेशन कात्तिक १० र १२ गते हुने र राष्ट्रिय महाधिवेशन मंसिर ९ देखि १३ गते सम्म आयोजना हुने समितिले निर्णय गरेकोछ । यसअघि भदौ १६ गते १४ औं महाधिवेशन उद्घाटन गर्ने कार्यतालिका थियो । तर, क्रियाशील सदस्यता विवादको टुंगो लाग्न नसक्दा निर्धारित समयमा महाधिवेशन गर्न नसक्ने स्थिति सृजना भएपछि तिथि संशोधन गरिएको छ ।

