अपडेट 
२०७८ श्रावण ३१, आईतवार ०७:०२

छिमेकी मित्रराष्ट्र भारतका जनता आज देशको ‘आजादी’ को अमृत महोत्सव’ मनाइ रहेका छन । भारतीय स्वतन्त्रताको पचहत्तरौं बर्ष ! भारतीय स्वतन्त्रता भारतको मात्र स्वतन्त्रताको प्रश्न थिएन । यो त पूरै ब्रिटिश उपनिवेशवादी शासनको समाप्तिको प्रारम्भ थियो । भारतीय स्वतन्त्रताको ज्योतिले पूरै एशिया जगमगाएको थियो । महात्मा गान्धीको नेतृत्वमा लडिएको स्वतन्त्रताको संग्रामको बिजयको प्रभाव संसारभरि परेको थियो । किनभने, भारतीय स्वतन्त्रताको लडाईं हातहतियारले सुसज्जित थिएन । अहिंसाको मूल मन्त्र जपेर गान्धी र उनका अनुयायीहरुले अंग्रेजलाई भारत छाड्न बाध्य तुल्याएका थिए । उतिबेलाको त्यत्रो शक्तिशाली ब्रिटिश साम्राज्यलाई निशस्त्र सत्याग्रहीले सजिलै पराजितगर्नु महात्मा गान्धीको सत्य अहिंसा र प्रेमले मण्डित चमत्कारिक ब्यक्तित्वको प्रभाव थियो । गान्धीले शक्तिको परिभाषा बदलिदिएका थिए ।

पचहत्तर बर्षको यो समयमा आज भारत उन्नतिको शिखरतिर बढी रहेकोछ । उसले संसदीय राजनीतिक पध्दतिको बलमा देशको सम्पूर्ण जनतालाई एकसूत्रमा बाँधेकोछ । बिश्वको एक उदीयमान शक्तिराष्ट्रका रुपमा भारतको नाम लिइन्छ । आफनो पचहत्तर बर्षको स्वतन्त्रताको अवधिमा भारतले प्राविधिक बिकासमा निकै लामो फडको मारेको छ । उसका अनेकौं योजना र परियोजनाहरु – समुद्रदेखि अन्तरीक्षसम्म – बिस्तारित भएका छन । निश्चय पनि, यो सानो उपलब्धि होइन । बिकासको परिप्रेक्षमा कुरागर्दा हामीले यो बिर्सिनु हुँदैन कि भारतले यी पचहत्तर बर्षहरुमा दोहोरो दायित्व पूरा गरेको छ । एकातिर, डेढ अरब जनतालाई लोकतन्त्रको एकै लयमा बाँधेर राजनीतिक स्थिरताका साथ अघि बढेको छ भने अर्कोतिर बिकासका ठूला ठूला उपलब्धि हासिल गरेकोछ । नेपाल–भारत सम्बन्धमा औंशी पूर्णिमा लागि रहन्छ । कहिले बाझाबाझ हुन्छ, कहिले नाकाबन्दी हुन्छ । पछि गएर, यस्तो लाग्छ, सबै कुरा त मिली सकेकोछ । झगडा कहाँ छ ? नेपालमा भारतकाप्रति सतही दृष्टिकोणराख्ने राजनीतिक दलका नेताहरु, सार्वजनिक अभियन्ताहरु, आन्दोलनकारीहरुको कमी कहिल्यै रहेन । संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातान्त्रिक ब्यबस्थाको स्थापनापछिका समयमा यो प्रवृत्ति निकै वढेको थियो । नेपालमा गणतन्त्रको स्थापनापछि यो प्रबृत्ति झनै बढेकोछ । नेपालका हिन्दूहरुलाई कुन्नि के कारणले हो यस्तो लागेको छ कि भारत नेपालमा धर्म निरपेक्षताको पक्षमा छैन । यो तर्कमा कुनै दम छैन । किनभने, भारत आफैं धर्म निरपेक्ष देश हो । त्यही नीतिका अधीन रहेर भारतले आफनो राष्ट्रिय एकता बलियो बनाएकोछ ।

यो तथ्यलाई बिर्सिनु हुँदैन । गणतन्त्र नेपालको संविधान लेखन हुँदैगर्दा प्रादेशिक साँध सीमानाको विषयमा भएको आन्दोलनमा थुप्रै मानिसको मृत्यु भयो । त्यसैवेला भारतले अघोषित ढंगले नेपालका विरुध्द नाकावन्दी गर्यो । यो नाकावन्दी र आन्दोलनका परिणाम पक्कै पनि राम्रो आएन । भारतका प्रति नेपालीको मनमा नमिठो र गहिरो टीस उत्पन्न भयो जुन स्वाभाविक थियो । यो अर्कै कुरा हो कि त्यो टीस वा तूष लामो समय रहेन । यो आन्दोलनमा सरीक भएको मधेशी समुदाय र उसका समर्थकहरुले पनि नाकाबन्दीबाट ठोस उपलव्धि प्राप्तगर्न सकेनन । मधेशका मांगहरु संकुचित भए । अहिले पनि मधेशमा असन्तोष छ । प्रधानमन्त्री खडगप्रसाद शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले मधेशका केही असन्तुष्ट पक्षको सन्तोषका लागि सीके राउत लगायतका समूहलाई केही छूट दिएको छ । तर, मधेशको सम्पूर्ण समस्याको संवोधनगर्नेआँट कसैले गर्न सकेका छैनन । मधेशको समस्या नेपालको आन्तरिक समस्या हो । मधेशको समस्यामा भारतको चासो देखिनु अनौठो होइन । सामाजिक र सांस्कृतिक सम्बन्ध मानिसका लागि अनिवार्य हुन्छ । नेपाली मधेशमा त सीमापारीबाट दुलही आउने र सीमावारीबाट दुलही पठाउने चलन अत्यधिक छ । सामाजिक र सांस्कृतिक सम्बन्ध कसिएको अवस्थामा सीमावारी र सीमापारीको खवरले निरन्तरता पाउनु उत्तिकै स्वाभाविक हो । यो सम्बन्धलाई कसरी स्वाभाविक, सुरक्षित र सुदृढ बनाउने हो ? यो बिषयमा नेपाल र भारतका अधिकारीहरु बीच केन्द्रीय स्तरमा र प्रदेश स्तरमा समेत छलफल र बिचार–बिमर्श गर्नु पर्दछ ।रोटी र बेटी स्तरको सम्बन्ध भनी सकेपछि त्यसमा किन्तु र परन्तु शब्दको खासै अर्थ रहँदैन । पछिल्लो पटकको नेपाल भ्रमणमा राम– जानकीको पूजा–अर्चना र दर्शनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम पुगेका थिए ।

जानकी माताको दर्शनले अभिभूत भएका थिए भारतीय प्रधानमन्त्री मोदी । उनको जनकपुर भ्रमणमहत्वपूर्ण र उपलब्धिमूलक रह्यो नेपाल र भारत दुबै पक्षका लागि । मोदीको जनकपुरधाम भ्रमणले नेपाल र भारतका वीच सांस्कृतिक सदभाव मात्रै वढाएको होइन, बिकासका बाटाहरु पनि खुले । जनकपुरधाम र यो संग जोडिएका विन्दूहरुको विकासमा भारतले के योगदान दिनेछ ? यतातिर सवैको दृष्टि तानिएको थियो । तीक्ष्ण वुध्दिका, वैदिक सभ्यताका अनुयायी तथा विव्दान व्यक्तित्वका रुपमा चिनिएका भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधामको मात्र भ्रमण गरेका थिएनन । उनले मुस्ताङमा बाबा मुक्तिनाथको चरणस्पर्श पनि गरेका थिए । यी भ्रमणहरु मार्फत मोदीले नेपालीका मनमा भारतकाप्रति रहेका दहसत, भय, क्रोध र आक्रोश जस्ता घाउको उपचारगर्ने प्रयास आफनै तरीकाले गरे । यी घाउहरुमा नाकावन्दीका समयभन्दा अघिदेखि लागेका घाउहरु पनि थिए । नेपाल भारत सम्बन्धका यी घाउहरु सबैको उपचारगर्नु सहज पनि छैन । किनभने, दुबै पक्षले दुबै पक्षलाई बेला कुबेला घाउ– चोट लगाउने गरेका छन । अहिलेको सन्दर्भमा यति त भन्ने पर्दछ किनेपाल– भारत सम्वन्धमा जतिसुकै ठूला उतार चढाव आएका भएपनि सामाजिक र सांस्कृतिक सम्वन्धको स्तर अहिलेजस्तो खस्किएको थिएन । आपसी निर्भरताको हाम्रो जस्तो सम्बन्ध मतापले अघि बढनु पर्दछ । टेलिभिजनमा देखिने समाचारको जस्तो उत्तेजनात्मक लहरले सम्बन्धको सुर–ताल बिगार्दछ ।

खास गरेर, दुइ देश बीचको खुला सीमाका कारण बेलाबखत नाटकीय घटना भएपनि दुइ देशका बीच सम्बन्धमा तिक्तता नआउनु वा नदेखिनु नै सम्बन्धको खूवी पनि हो । भारतीय जनताले स्वतन्त्रताको अमृत महोत्सव मनाउनु नेपाली जनताका लागि पनि खुशी र प्रेरणाको बिषय हो । हामीले अपनाएको राजनीतिक प्रणाली भारतीय लोकतान्त्रिक पध्दतिसंग जोडिएकोछ । संघीय शासन, प्रादेशिक राज्य प्रणाली र स्थानीय निकायको स्वायत्तता हाम्रो जस्तो असमानताले सिर्जना गरेको भुक्तमानका बिरुध्द सही कदम हो । भारतीय स्वतन्त्रताको नेतृत्वगर्ने महात्मा गान्धीको सत्प्रेरणाले नेपाल र भारतका जनतालाई सँधै प्रेरित गरोस । अमृत महोत्सवको शुभकामना !

Comment


Related News

Latest News

Trending News