जनता समाजवादी पार्टी(जसपा) को केन्द्रिय समिति बैठक चलिरहेकै बेला महन्थ ठाकुर समुहले निर्वाचन आयोगमा जनता समाजवादी पार्टी, नेपाललोकतान्त्रिक) दर्ता गरेकोछ ।
सरकारले दल बिभाजनका लागि केन्द्रिय समिति अथवा संसदिय दलमा २० प्रतिशतको प्रावधान सहितको अध्यादेश बुधवार ल्याएकै दिन ठाकुर समुहले नयाँ दल दर्ता गरेका हुन् । ठाकुर एकल अध्यक्ष रहेको २४ सदस्यीय केन्द्रिय कार्यकारिणी समितिको नाम सहित निर्वाचन आयोगमा दर्ता गरेको दलमा वरिष्ठ नेता राजेन्द्र महतो रहेका छन् ।यस अघिपनि ठाकुर अध्यक्ष र महतो वरिष्ठ नेता रहेका थिए । ठाकुर नेतृत्वको जसपा लोकतान्त्रिकको केन्द्रिय कार्यकारिणी समितिमा यादवले निष्कासन गरेका १६ जनालाई र प्रतिनिधि तथा राष्ट्रिय सभा सदस्यगरि १५ जनालाई केन्द्रिय कार्यकारिणी समितिमा स्थान दिएको नेता जितेन्द्र सोनलले जनाए । कार्यकारिणी समितिमा राखिएका सांसद रेशम चौधरी यादव नेतृत्वको जसपामा पनि कार्यकारिणी समिति सदस्य रहेका छन् ।जसपा लोकतान्त्रिक दर्ताको क्रममा विवाद हुने जोखिमलाई न्युन गर्न सांसद र पूर्व कार्यकारिणी सदस्यहरुलाई नै समावेश गरिएकोछ । ‘पहिलो चरणमा सनाखत गरेका कार्यकारिणी समितिका सदस्य र सांसदहरुलाई समावेश गरिएकोछ’नेता सोनलले भने, दोस्रो चरणामा केन्द्रिय समिति र अन्य निकायहरु गठन हुनेछ ।तराई मधेशका नागरिकहरु लोकतान्त्रिक मान्यता बोकेकाले जसपा लोकतान्त्रिक नै बलियो रहने उनले दावी गरे । कार्यकारिणी समितिमा महतोलाई वरिष्ठ नेता राखिएपनि उनको समर्थनका भने अन्य कोही छैनन् ।वर्तमान कार्यकारिणी समितिमा ठाकुरपछि सर्वाधिक सदस्य भएको शरतसिंह भण्डारी नै हुन् ।
ठाकुरका सम्धि उमाकान्त झा कार्यकारिणी समितिमा समेटिएका छन् । सरकारले अध्यादेश ल्याएकै दिन ठाकुरले दल दर्ता गरेपनि दलको मान्यता पाउन भने डेड महिना कुर्नुपर्ने छ ।ठाकुर समुहको पहिलो रोजाइ राष्ट्रिय जनता पार्टी (राजपा)भएपनि त्यो दल उपेन्द्र यादवका कार्यकर्ता हरिनारायण यादवले दर्ता गराएको कारण जसपा लोकतान्त्रिक दर्ता गरिएको बताइएकोछ । जसपा लोकतान्त्रिक दर्ता भएपछि ठाकुर पक्षका नेता कार्यकर्ताहरु बढी नै खुशी देखिएका छन् ।ठाकुरको एकल नेतृत्वमा दल दर्ता हुनुपर्ने दवाव उनी निकटका नेताहरुले बनाएका थिए ।महतोले भने दुई जना अध्यक्षको प्रावधान राखेर दल दर्ता गर्नुपर्ने चाहना राखेका थिए ।तर उनी एक्लिएकाले ठाकुर पक्षको चाहना अनुसार नै ठाकुरलाई एकल अध्यक्ष बनाएर दल दर्ता गरिएको हो । दलमा राखिएको वरियता अनुसार ठाकुर अध्यक्ष महतो वरिष्ठ नेता र कार्यकारिणी समिति सदस्यमा शरतसिंह भण्डारी र अनिल झा रहेका छन् ।सर्वेन्द्र शुक्ल, वृशेषचन्द्र लाल, जितेन्द्र सोनार र उमाकान्त झा वरियतामा रहेका छन् ।
जसपाको २४ सदस्यी कार्यकारिणी समितिमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र सदस्यहरुमा शरतसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्रनाथ शुक्ल, वृशेषचन्द्र लाल, जितेन्द्र सोनार, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, राजकुमार लेखी, केशवकुमार झा, अकवाल अहमद शाह, निर्जला राउत, सुनिल कुमार झा(रोहित)दानबहादुर विश्वकर्मा, शेखर कुमार सिंह, विमल प्रसाद श्रीवास्तव, उमाशंकर अरगडिया, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारी देवी खंग खत्वे, कानुदेवी विश्वकर्मा र रेशम लाल चौधरी रहेका छन् ।

