२०७८ भाद्र ५, शनिबार ०६:५६

जनकपुरधाम । सप्तरी र सर्लाही जिल्लामा खोलाको पानी गाउँपसेपछि दर्जनौ घर डुबानमा परेको छ ।

चारैतिर सप्तकोशी नदीले घेरिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढा बस्तीका अधिकांश घर जलमग्न भएको छ । अघिल्लो दिन बिहीबार रातीको अविरल वर्षापछि सप्तकोशी नदीको बाढीले गोबरगाढा बस्तीका चार दर्जन घर जगलमग्न भएको हो । बाढीले चार वटा घर समेत ढलेर नष्ट भएको छ । वडा अध्यक्ष बिन्देश्वर यादवका अनुसार बाढीले ३६ वटा घर डुवानमा पर्नुका साथै स्थानिय हरि यादव, शत्रुहन यादव लगायतको चार घर ढलेर क्षतविक्षत भएको छ । बस्तीमा दुई फिटसम्म पानी जमेको उनले बताए । पानी पसेका घरमा कतिपय सर्वसाधारण घरभित्रै खाटमा बसिरहेका छन् । पानीको वहाव बिहीबार राती ९ बजेतिर १ लाख ८३ हजारदेखी १ लाख ८८ हजार क्विसेक प्रतिसेकेन्ड भएपनि निरन्तरको वर्षा र उच्च वहावसँगै बस्तीमा बाढी पसेको स्थानियको भनाई छ । सप्तकोशीको वहाव शुक्रबारपनि उच्च रहेकाले अन्य ४०/५० घर समेत जोखिममा परेको वडा अध्यक्ष यादवको भनाई छ । बस्तीका अधिकांश घरमा पानी पसेपछि पीडितहरुलाई उच्च स्थानमा रहेको एक विद्यालयमा वासको व्यवस्था मिलाइएको नगर प्रमुख शैलेश साहले जानकारी दिए । यस क्षेत्रमा बर्षेणी कटान र डुवान हुँदै आएको छ । चारैतिर सप्तकोशी नदीले घेरिएको सो बस्तीलाई अन्यत्र सार्ने योजना पनि नल्याइएको होइन । तर, स्थानियले छार्न नमानेपछि योजना कार्यान्वयनमा ढिलाई भइरहेको प्रमुख साहको भनाई छ । उनले पीडितहरुलाई सुरक्षित स्थानमा पु¥याउने र तत्काल आवश्यक राहतका लागि काम सुरु गरिसकिएको जानकारी पनि दिए । यस्तै, केही दिनदेखिको अविरल वर्षाले गर्दा सर्लाही जिल्ला भएर बग्ने लखनदेही खोलाको बाँध भत्किंदा मलंगवा नगरपालिकाको वडा नं ५ र ६ डुबानमा परेको छ ।

बाँध भत्किएर खोलाको पानी गाउँमा पस्दा ४० वटा भन्दा बढी घर डुवानमा परेका छन् भने सयौं बिग्हा खेतीयोग्य जमिन जलमग्न भएको छ । बाढीले लखनदेही खोलाको बाँध दुई ठाउँमा भत्काएको छ । बाँध भत्किएर मलंगवा नगरपालिकाको वडा न–५ भाँडसर र वडा न–६ खुटौनाको घर–घरमा पानी पसेको छ । चारैतिर पानी नै पानी भरिएकोले मानिसलाई घरबाट बाहिर निस्किन समस्या भएको छ । पशु चौपाया चराउनको लागि घरबाट बाहिर निकाल्न नपाएपछि घरभित्रै बाँधेर राख्नु परेको स्थानीयले बताएका छन् । सयौं बिग्हा जग्गामा लगाएको धानवाली पानीले बगाएर खेतहरू पुरै बगरमा परिणत भएको छ । विकासको नाममा नगरपालिकाले यहाँका जनताबाटहरुबाट कर उठाउने काम मात्र गरेको छ । प्रत्येक वर्ष बाढी र डुबानको समस्याबाट जुझ्दै आएका यस वडालाई बढीबाट जोगाउन संघीय ,प्रदेश र स्थानीय तीनै तहको सरकारले ध्यान नदिएको स्थानीय नागरिकहरुले गुनासो गरेका छन् । प्रत्येक वर्ष यस क्षेत्रमा बाढिको पानीले गर्दा ठुलो जनधनको क्षति हुने गरेको उनीहरुले बताएका छन् । वडा न– ५ भाँडसरका वडाअध्यक्ष मनोज सहनीका अनुसार मलंगवा नगरपालिकाले लखनदेई खोलामा पक्की बाँध बाँध्न पहल नगरेकोले यो क्षेत्र डुबानमा परेको हो । यस क्षेत्रका जनताहरु बाढीको त्रासले राम्रो सँग खान सुत्न पाएका छैन । तर पनि मलंगवा नगरपालिकाका उच्च पदमा आसिन अधिकारी र सरोकारवाला निकायहरू कानमा तेल हालेर सुतिरहेका छन् । राहत बाँड्न त परे जाओस् अहिले सम्म जनताहरु कस्तो अवस्थामा छन हेर्न पनि नआएको स्थानीयहरुले गुनासो गरेका छन । मलंगवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत होमनाथ सुवेदी जनताको अपेक्षा अनुसार काम गर्न नसकेको स्विकार्नु हुन्छ ।

Comment


Related News

Latest News

Trending News