सर्लाहीको बरहथवा नगरपालिका–२ हजरियामा निर्माणाधीन शहीद पार्कको पर्खाल भत्किएको छ ।
लापरवाही ढंगले गुणस्तरहिन काम भएकाले पर्खाल भत्किएको स्थानीयवासीले बताएका छन् । स्थानीय हिरालाल परियारले हतारहतारमा गुणस्तरहिन काम गरिएकोले निर्माण गरिएको केही दिनमै पर्खाल भत्किएको बताए । मेयर देवानन्द महतोले आफ्ना आसेपासे र कार्यकर्तालाई काम दिएकाले यस्तो समस्या आएको परियारले आरोप लगाए । कमसल सामग्रीले पर्खाल निर्माण भइरहेको विषयमा आफूहरुले बारम्बार खबरदारी गरेपनि कुनै सुनुवाई नभएको उनले गुनासो गरे । शहीद पार्कको पूर्वतर्फको करिव २५ मिटर पर्खाल भत्किएको छ । नगरपालिकाका शहीदहरुको शालिक निर्माण गर्ने उद्देश्यसहित बरहथवा नगरपालिका कार्यालयले पर्खालसहित शहीद पार्क निर्माणका लागि उपभोक्ता समितिलाई ३३ लाख १५ हजार बजेट उपलब्ध गराएको छ । गत असारमै काम सक्नेगरी बैशाख महिनामा ठेक्का लगाइए पनि पर्खाल लगाएर घेर्ने बाहेक अन्य काम हुन सकेको छैन् । पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेश कार्कीले वर्षाको पानीले भाँसिएपछि पर्खाल ढलेको बताए । जमिन भासिएपछि आफूहरुले नै पर्खालको इँटा झिकेर राखेको कार्कीले जानकारी दिए । वर्षा रोकिएपछि पर्खाल निर्माणको काम अघि बढाइने उनले बताए ।
बरहथवा नगरपालिका–२ का वडाध्यक्ष यज्ञबहादुर खड्काले वडासँग समन्वय नगरी काम भएकोले पर्खाल निर्माणबारे आफूलाई जानकारी नरहेको बताए । बरहथवा नगरपालिकाका प्रमुख महतोले सुरुमा सामान्य ढंगले नै निर्माण गर्दा हुने सोचेर पर्खाल बनाइएको तर छेउबाटै जरुवा पानी बग्ने भएकाले पर्खाल भासिएपछि इन्जिनियरको खाँचो महशुस गरिएको बताए ।


