जनकपुरधाम ।बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक बलराम ठाकुरले जानकी मन्दिरको विद्युतीकरणमा व्यापक आर्थिक अनियमितता गरेको तथ्यहरु उजागर भइरहेका छन् ।
विद्युतीकरणको ठेक्का स्वीकृत गरेको ११ करोड ७६ लाख बढीको ठेक्कामा ठेकदार क्षमादेवी कन्सट्रक्सन प्रा.लि.को ‘सिमिलर साइज एण्ड नेचर वर्क’ (उस्तै प्रकृती, उस्तै काम )त्यस भन्दा धेरै कम रहेको देखिएको छ ।महालेखा परीक्षकको कार्यालयका अनुसार त्यस्ता कम्पनीलाई क्वालिफाइ गर्नु अनियमितता मानिन्छ । ठाकुरले कार्यकारि समितिको निर्णयमा समेत किर्ते जालसाजी गरेको खुलासा भएको छ ।२०७६ कात्तिक २९ गतेको हस्तलिखित माइन्युट बुकमा ठाकुरले तल माथिको भाग यथावत राखी बीचमा कम्प्युटरबाट अर्को कागजात टाँस गरेका छन् ।कम्प्युटरबाट टाँस गरिएको सो कागजमा ठाकुरले जानकी मन्दिर विद्युतीकरणको अख्तियारी आफूलाई दिएको उल्लेख गरेको कागजातमा भने कसैको हस्ताक्षर रहेको छैन् । उच्च स्रोतका अनुसार बृहत्तरले विज्ञ नियुक्त गरेको इलेक्ट्रिकल इञ्जिनियर राजीव उपाध्याय नै ठेकदार कम्पनी क्षमादेवी कन्सट्रक्सनका पनि कर्मचारी रहेका छन् । उपाध्यायले नै बृहत्तरको तर्फबाट ठेकदारलाई फाइनल गर्ने विज्ञको भूमिका निर्वाहगर्दै क्षमादेवी कन्सट्रक्सन कम्पनीको बीलमा समेत हस्ताक्षरगरि भुक्तानीका लागि पेश गरेका हुन् ।
उच्च स्रोतहरुका अनुसार ठाकुरले गाडी मर्मत र भाडा वापत ३३ लाख बढी रकम कार्यालयबाट झिकेर बा.१३ प २०३७ नम्बरको स्कारपियो इन्दु शर्माको नाउँमा खरिद गरेका थिए ।तर ठाकुरले गरेको करोडौ आर्थिक अनियमितता सार्वजनिक हुन थालेपछि उनले साउन महिनाको मध्यमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका भारी सवारी चालक धनीराम मण्डलको नाममा सो गाडी पास गरेका छन् ।काठमाण्डु उपत्यकाको अत्यन्त महँगो मानिने भैंसेपाटीमा ठाकुरले पत्नी शर्माको नाममा घर जग्गा खरिद गरेको समेत खुलेको छ ।


