
राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ स्थित गोबरगाढा गाउँका बासिन्दा विगत तीन दिनदेखि त्रासमा छन् ।
चारैतिर सप्तकोशी नदीले घेरिएको सो गाउँमा शुक्रबार एकाबिहान बाढी पस्दा चार जनाको घर भत्काउनुका साथै चार दर्जन घर जलमग्न भएपछि स्थानिय त्रस्त भएका हुन् । यो नियति उनीहरुले प्रत्येक वर्ष वर्षायाममा भोग्दै आएका छन् । अघिल्लो दिन भत्केका चार घर हुँदै शनिबार पनि कोशी बगिरहेको छ भने केही घरमा अझै बाढीको पानी जमेको छ । बाढी पसेपछि अघिल्लो दिन गाउँकै उच्च स्थानमा रहेको राष्ट्रिय प्राथमिक आधारभुत विद्यालयमा आश्रय लिन पुगेका सबै परिवार भने पानी घट्दै गएपनि शनिबार घर फर्किएको नगर प्रमुख शैलेश साहले जानकारी दिएका छन् । कतिपय घरमा बाढीको पानी अझै जमेकाले खाटमुनी इट्टा राखेर उचो बनाई सुत्ने व्यवस्था मिलाएको वडाअध्यक्ष बिन्देश्वर यादवले जानकारी दिएका छन् । वर्षा भए फेरी डुवान पर्ने जोखिम कायमै रहेकाले त्रासमा आफूहरु रातमा जाग्राम बस्न थालेको स्थानिय हरि यादवले सुनाए । वर्षासँगै सप्तकोशीको बाढी कुनै बेला पनि फेरी आउन सक्ने भएकाले हामी रातभर जागेर बिताउँछौं अर्का स्थानिय सत्यनारायण मुखियाले भने ।
जोखिमलाई ध्यानमा राख्दै सो बस्तीमा आवश्यक पर्ने डुङ्गा तयारी अवस्थामा राखिएको नगर प्रमुख साहले बताए । वडा अध्यक्ष यादवले नगरपालिकाबाट ६ वटा डुङ्गा सहयोग स्वरुप प्राप्त भएको र सो ढुङ्गाहरु बस्तीमै तयारी अवस्थामा राखिएको जानकारी दिए । अघिल्लो दिन बाढी पस्दा बिस्थापित भएका सबै परिवारलाई बिद्यालयमा राखेर खानपिनको व्यवस्था मिलाएका थियौ, नगर प्रमुख साहले भने, पानी घटेपछि शनिबार सबै घर फर्किएका छन् । उनले बाढीपीडितका लागि नगरपालिकासँग भएको श्रोत साधनले भ्याएसम्म सहयोग गरि हरहेको जानकारी दिए । सुखायाममा पैदल, बयलगाढा, मोटरसाइकल, ट् याक्टर तथा वर्षायाममा डुङ्गाले मात्र आवतजावत हुने गोबरगाढा गाउँमा बाढी पसेको यो पहिलो होइन् । प्रत्येक वर्ष वर्षायाममा सो गाउँको पूरानो बस्ती मानिएको उक्त बस्तीमा वर्षायामसँगै बाढी पस्ने र स्थानिय बिस्थापित हुने गरेका छन् । वर्षेणी आउने यो समस्यालाई समाधान गर्न नगरपालिका र स्थानिय प्रशासनले पनि योजना नल्याएको होइन् । कोशीका कारण जोखिममा रहेको उक्त बस्तीलाई सुरक्षित स्थानमा सार्ने र आवश्यक सबै सेवा सुविधा उपलब्ध गराउने नगरपालिका र प्रशासनले प्रतिबद्धता गरिरहँदा पनि स्थानियले मानेका छैनन् ।
उनीहरुले आफूहरुलाई यतै आवश्यक सेवा सुविधा र सुरक्षित साथ बस्ने बातावरण मिलाइदिन अडान लिएका कारण यो समस्याको स्थायी समाधान हुन सकेको छैन् ।