अपडेट 
२०७८ भाद्र ७, सोमबार ०७:२७

राजविराज । सप्तरीको कंचनरुप नगरपालिका २ बरमझियास्थित संगम फास्ट फुड एण्ड मदिरा होटलका संचालक लागूऔषध सहित पक्राउ परेका छन् ।

होटलको आडमा उनले लागूऔषधको कारोबार संचालन गर्दै आएको गोप्य सुचनाको आधारमा शनिवार राती ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको टोलीले होटलमा छापामारी गरी २८ वर्षीय जयराम यादवलाई पक्राउ गरेको हो । उनले संचालन गरेको होटलबाट प्रहरीले ठुलो मात्रामा प्रतिबन्धित लागूऔषध समेत बरामद गरेको छ । पक्राउ परेका ब्यक्ति र बरामद लागूऔषधको विवरण आईतवार सार्वजनिक गर्दै डिएसपी माधव प्रसाद काफलेले भारतबाट लुकाई छिपाई ल्याएको लागूऔषध होटलमा राखेको र बिक्री गर्ने गोप्य सुचना आएपछि छापामारी गरिएको बताए । होटलमा लुकाई राखिएको अवस्थामा प्रहरीले नाइट्रोसन १० ट्याब्लेट ६१० थान, एस्पामोप्रोक्सीभन प्लस ३१० थान, डाईलेक्सडिसी १०० एमएल ८ बोतल, सुई १ र ३ थान मोबाईल बरामद गरेको छ । यस्तै प्रयोगमा ल्याईसकेका नाइट्रोसन १० ट्याब्लेटको खाली खोल ४१, एसपासमो प्रोक्सीभन २०,डाएलेसीस डिसी १०० एमएल ८ र कोडीबेल १०० एमएलका १ वटा खाली बोतल समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका यादवलाई नियन्त्रणमा राखी लागूऔषध मुद्दामा अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Comment


Related News