अपडेट 
२०७८ भाद्र ८, मंगलवार ०६:३७

हिन्दुहरुको निम्ती पवित्र र स्नेहको पर्व मानिने रक्षा बन्धनका दुईवटा आयामहरु छन् । पहिलो, पौराणिक मान्यता अनुसार ब्राह्मणहरुले हिन्दुहरुको हातमा रक्षासूत्र बाँधेर जजमानको अभयकामना गर्नु । ब्राह्मणहरुले रक्षासूत्र बाँध्ने परम्पराको पछाडी दैत्य र देवताहरुको युद्धमा ब्राह्मण गुरुले देवताहरुको राजा ईन्द्रको हातमा रक्षासूत्र बाँधेर अभय वरदान दिएको कथा छ । हुन त देव–दैत्यहरुको यस युद्धमा ईन्द्रकी पत्नी ईन्द्राणीले पनि पतिलाई रक्षासूत्र बाँधेर अभयकामना गरेको पौराणिक आख्यानपनि छ । तर यो कथा त्यति चर्चित छैन । ब्राह्मणको रक्षासूत्रसंग जोडिएर नै होला शायद रक्षाबन्धनलाई ब्राह्मणपर्वपनि भन्ने गरेको पाईन्छ ।

रक्षाबन्धनको अर्को आयाम दिदी–बहिनी र दाजू–भाईबीचको स्नेहिल पर्व हो । यस पर्वमा दिदी–बहिनीहरुले आफूलाई नबिर्सिउन र हमेशा रक्षा गरीरहुन भन्ने भावनासहित दाजू–भाईको हातमा राखी बाँध्ने गर्छिन् । यसमा निहित अपनत्व र स्नेहमय भावको आधिक्यको कारण यो पर्व बाहुन आख्यानभन्दापनि दाजू–भाई तथा दिदी–बहिनीको स्नेहपर्वको रुपमा बढी लोकप्रिय छ । यसमा सिनेमा, मिडिया, सामाजिक सञ्जाल र बजार सबैको महत्वपूर्ण भूमिका छ । रक्षाबन्धनमा निहित ब्राह्मणवाद र पुरोहित श्रेष्ठता तथा पुरुषोचित वर्चस्वको आलोचनाको तार्किक आलोचनाका अलग्गै पाटाहरु छन्, जुन यस लेखको विषय होइनन् । त्यसैले यस लेखको विषयमा केन्द्रित हुनू नै उचित हुनेछ । रक्षाबन्धनलाई बोलचालको भाषामा राखी भनिन्छ । यसपर्वमा दाजू–भाई र दिदी बहिनीबीचको भावनात्मकपक्षको लोकप्रियताको प्रभाव यति बलियो छ, कि यसको नाममा देशमा करौडौँ रुपियाँका थरीथरीका रङ्गबिरङ्गी र फैसनेबल राखीहरु, गीति एल्बमहरु र चलचित्रको व्यापार हुनेगर्छ । यतिमात्रै होइन, अव त यस पर्वको भावनात्मकताको प्रयोग सरकारले विविध उद्देश्यबाट कूटनीतिकस्तरमा पनि गरेको देखिन्छ । यसपटक सामाजिक सञ्जालमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजू देउवाले भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का विदेशविभाग प्रमुख विजय चोथाइवालेको हातमा राखी बाँधीरहेको तथा सीमासंग जोडिएको भारतीय जिल्ला मधुबनीको जयनगरमा भारतीय चेलीहरुले नेपालका सशस्त्र प्रहरीका जवानहरुको हातमा राखी बाँधीरहेको दृश्य भाइरल भइरहेको छ । यस अवसरमा नेपाली चेलीहरुले पनि भारतीय सीमा सुरक्षा बलका जवानहरुको हातमा राखी बाँधी थिइन । यी दुबै दृश्यहरुप्रति दुई तिरैबाट सकारात्मक र भावनात्मक प्रतिक्रियाहरु पनि भईरहेका छन् । खुला सीमाको लाभ उठाएर दुबैदेशका नागरिकहरु एक– अर्काको देशमा रोजीरोटी खोज्न जाने गरेकोले तथा आपसी नातासम्बन्ध भएकोले जनस्तरमा दुईदेशको सम्बन्धलाई रोटी–बेटीको सम्बन्धको रुपमापनि व्याख्या गरिन्छ ।

खुला सीमा तथा समान साँस्कृतिक सम्बन्धको निकटताले जनस्तरमा यस किसिमको भावनात्मक प्रतिक्रिया स्वाभाविक नै हो । जयनगरमा दुईतिरैका उत्साही सहभागीहरुले रोटी– बेटीको सम्बन्धको चर्चापनि गरेका थिए । नेपाल र भारतबीचको यो सौहार्द्रता साँस्कृतिकस्तरमा मात्रै होइन, राजनैतिक अधिकारको संघर्षको रुपमापनि रहँदै आएको छ । दुबैदेशका जनता र राजनीतिककर्मीहरुले दुबैदेशको राजनैतिक आन्दोलनमा भाग लिएको र जेलनेल भोगेको इतिहास छ । यस्ले नेपाल र भारतलाई साँस्कृतिक र राजनैतिक दुबैस्तरमा समान हैसियतको मित्रको रुपमा उभ्याउँछ । तर अभ्यासहरुले के देखाएको छ भने यो पारम्परिक बहुआयामिक सौहार्द्रता जनस्तरमा त भावनात्मक नै छ, शासकीयस्तरमा भने असमान र कूटनैतिक बढी देखिन्छ । यस अर्थमा भाजपा नेता विजय चोथाइवालेलाई डा. आरजू देउवाले राखी बाँधेको तथा जयनगरमा दुईदेशका दिदी बहिनीले दुबैदेशका दाजूभाईलाई राखी बाँधेको दृश्यको निहितार्थपनि बहुआयामिक हुनजान्छ । दुईदेशबीच लीपूलेक र कालापानी लगायत सीमा विवाद तथा महाकाली पश्चिम लिम्पियाधुरामा नेपाली भूभाग मिँचेको र यस विषयमा कुरै गर्न चाहने तथा नेपालपक्षको वार्ता गर्ने अनुरोधलाई टारिरहने परिप्रेक्ष्यमा हेर्दा, यी भावनात्मक आयोजनहरु, विवादित विषयलाई ओझेलमा पारेर अथवा यथास्थितिमा राखेर कूटनैतिक सम्बन्ध बढाउन खोजे जस्तो देखिन्छ । प्रम देउवाको पार्टी नेपाली काँग्रेसका नेताहरुको भनाई मान्ने हो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अति निकट मध्येका मानिने भाजपा नेता चोथाइवालेलाई नेका र भाजपाबीच पार्टीस्तरमा सम्बन्ध थप बलियो पार्नका निम्ती कुराकानी गर्न बोलाइएको छ । हुन त इच्छित वा अनिच्छितरुपमा नेपालमा भारतीय नेताहरुको आगमन नयाँ होइन । प्रायः हरेकपटकको राजनीतिक तरलता र सम्वेदनशील अवस्थामा उनिहरु नेपाल आउने गर्छन् । चोथाइवालेको पनि यो दोस्रो नेपालयात्रा हो । आठमहिना पहिले केपीशर्मा ओली प्रधानमन्त्री भएको बेलापनि उनि नेपाल आएका थिए । नेपाल आएपछि उनि सीधा तत्कालीन प्रम ओलीसंग भेँटघाँट गरेर आएकै दिन फर्किएका थिए । यस लगतै तत्कालीन नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेको थियो । त्यसबेला पनि अहिले जस्तै उनि तत्कालीन नेकपाका महासचिव विष्णु पौडेलको निमन्त्रणामा नेकपा र भाजपाबीचको सम्बन्ध विस्तारको निम्तीनेपाल आएको बताइएको थियो ।

गणतन्त्रमा पहिलो संसदको निर्वाचनपछिकामचलाउ जस्तै भएपनि, नेपाली काँग्रेसका सभापति देउवा पहिलोपटक सरकारको नेतृत्व गरिरहेका छन् । विगत दुईवर्षमा कम्युनिस्टहरुले सत्ता सम्हाल्दा नेपाली राजनीतिमा भारतीय पारम्परिक कूटनीतिक वर्चस्वलाई पछि पार्दै चिनियाँ कूटनीति सक्रिय र मुखर देखिएको थियो । यसैकारण भारतीय शासकवर्गको रुखोपना पटक–पटक प्रकट हुनेगरेको थियो । खास गरेरवषौँदेखी लिम्पियाधुरासम्मको नेपाली भूभागमा कब्जा गरेर तथा वार्ताबाट समस्या समाधान गर्ने प्रयासहरुलाई उपेक्षा गर्दै नक्सामा समेटर भारतले सिर्जनागरेको विवादमा नेपाली पक्षको दृढ प्रतिरोधको कारण तत्कालीन कम्युनिस्ट पार्टीको सरकारसंग भाजपाका सम्बन्धमा कटुता बढी नै थियो । ओलीको प्रधानमन्त्रीत्वकालमा चोथाइवाले नेपाल आउँदा यस्तै तिक्त स्थिति थियो । त्यतिबेला लिम्पियाधुरा सहितको नक्सा प्रकाशन गरेको सरकारले यसलाई पाठ् यक्रममा राख्ने निर्णय समेत गरिसकेको थियो । तर चोथाइवालेको भ्रमणपछि त्यो आदेशपनि स्थगित भएको थियो । तात्पर्य के भने प्रत्यक्षतः कटुता यथावत नै देखिएपनि अप्रत्यक्षतः वा कूटनैतिकस्तरमा ओली र भारतीय शासकहरुबीचको कटुता नरम पर्न थालेको थियो । स्थिति अहिलेपनि त्यस्तै छ । तर नेपाली राजनीति र जनमतमा दक्षिणी छिमेकीले असमान व्यवहारगरेको, बलजफ्ती देशको भूमिकब्जागरेको तथा ठूलो देशको ध्वाँसमा वार्ताका अनुरोधहरुको उपेक्षागरेको कटुता कायमै छ । चोथाइवाले नेपालमै भएको बेला भारतमा नेपाली राजदूतले नेपाली पत्रकारलाई दिएको अन्तरवार्तामा नेपालका प्रयासहरुलाई भारतले उपेक्षा गरेको गुनासो व्यक्तगरेका छन् । यस्ले नेपाल र भारतको राजनैतिक सम्बन्ध गम्भीररुपमा भत्किएका छन् र त्यसलाई ठिक गर्नका निम्ती भारतले ठूल्दाईको भूमिकाबाट ओर्लेर समान हैसियतको मित्रको स्तरमा सम्बन्धको विकास गर्नु जरुरी छ । समस्यालाई यथावत राखेर र नेपाली राजनीतिमा विद्यमान अवसरवाद तथा सत्तालोलुपताको फाइदा उठाएर भारतले आफ्नो निम्ती कूटनैतिक अनुकूलता निर्माण गर्न चाह्यो भने, त्यो अस्थायी हुनेछ ।

भारतको वर्तमान शासकदलले आन्तरिक राजनीति होस वा बाह्य कूटनीति,धार्मिक र साँस्कृतिक भावनालाई औजारको रुपमा प्रयोग गर्नेगरेको देखिन्छ । नेपालमा धर्मनिरपेक्ष गणतन्त्र स्थापनापछि पनि उसका नेताहरु बेलाबेलामा हिन्दुराष्ट्र र राजतन्त्रको पक्षमा अभिव्यक्ति दिएर नेपालको राजनीतिमा तरङ्ग उत्पन्न गरिरहन्छन् । प्रष्ट छ यो नेपालको सम्विधानको विपरीत छ । यस अर्थमा उनिहरु नेपालको सार्वभौमिकताको नै उल्लङघन गरिरहेका हुन्छन् । यसलेपनि नेपालप्रति उनिहरुको हेपाहापन देखिन्छ । नेपाली राजनीतिमा उनका अन्धभक्तहरु बाहेकको जनमतमा यसले एउटा नकारात्मकता सिर्जना गरेको छ । अफसोस के छ भने भारतीयपक्षले समान हैसियतमा यी समस्याहरुलाई बुझ्ने आवश्यकता नै अनुभूत गरेको छैन । प्रचण्ड र माधव नेपालको समर्थनमा देउवाको सरकार गठनपछि चिनियाँ कूटनीति तुलनात्मकरुपमा प्रत्यक्षतः अन्यौल झै देखिएपनि, स्थितिमा सकारात्मक परिवर्तन भएनभने यो भारतको निम्तीपनि प्रतिकूलता थपिँदै जानेछ । भारतीय शासनले नेपालको आन्तरिक राजनीतिलाई प्रभावित गरेर र कूटनैतिक वर्चस्वबाट आफ्नो निम्ती अनुकूलता सिर्जना गर्नपनि सक्छ, तर यो स्थायी हुने छैन । हुन त मिडियामा, भाजपा नेता चोथाइवाले नेपाली प्रमलाई भारतीय प्रम मोदीको तर्फबाट भारतभ्रमणको निम्तो दिन आएको अनुमान गरिएको छ । नेपालमा प्रधानमन्त्री भएपछि पहिलो विदेशभ्रमण भारतको हुने परम्परा कम्युनिस्टहरु सत्तामाआएपछि रोकिएको छ । सम्भव छ चोथाइवालेको यस भ्रमणले त्यो परम्परा पुनः शुरु गराएर दक्षिणी छिमेकीले कूटनैतिक चतु¥याँई प्रदर्शन गर्न चाहन्छ । तर समस्याहरु यथावत राखेर देउवाले भारतभ्रमण गर्नु उनकै निम्ती प्रत्युत्पादक हुनसक्छ । किनभने उनलाई समर्थन गर्ने नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, प्रचण्ड नेतृत्वको माओवादीकेन्द्र र डा. बाबूराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)मा लिम्पियाधुरामा भारतीय पक्षले भूमिमिचेको धारणा राख्नेहरु प्रबल छन् । यस समग्र परिस्थितिमा जयनगर र बालुवाटारमा बाँधिएका राखीहरुले जनस्तरमा भलै साँस्कृतिक निकटताको भावना विकास गर्ला, शासनको स्तरमा त यो कूटनैतिक नै हुनेछ ।

र कूटनीतिक सम्बन्धमा हार्दिक भावना होइन, घाटा र नाफाको चतु¥याँई बढी हुने गर्छ । अझ बालुवाटारमा प्रम पत्नीले छिमेकी देशका प्रमका दूतलाई राखी बाँध्नुको त विविध अर्थ लाग्ने नै भयो । अहिलेलाई त यसलाई भावनात्मक र कूटनैतिक दुबै दृष्टिबाट हेर्नु नै उचित होला । आशा गरौँ यस राखी कूटनीतिले सकारात्मक परिणाम दिनेछ ।

Comment


Related News

Latest News

Trending News