
राजविराज । राजविराज नगरपालिकालाई मुलुककै पहिलो टाउन प्लानिङ शहर भनिन्छ ।
भारतको गुलाबी नगरले परिचित जयपुरको नक्शामा आधारित २०१६ सालमा नगरपालिका घोषित भएपछि यसलाई पहिलो टाउन प्लानिङ शहरको रुपमा चिनिन थालिएको हो । तर विकास कार्य कछुवा गतिमा हुँदा अहिले यो शहर अस्तव्यस्त बनेको छ । सुख्खायाममा धुलो र वर्षायाममा हिलो देखिने यहाँका सडक प्रमुख चुनौती हुन् । यसको समाधान हुन नसक्दा यो शहरलाई कुरुप पारेको छ । नगर प्रवेश गर्ने सबै सडक मात्र होइन् भित्री सडक समेत जिर्ण हुँदा सर्वसाधारण कष्टकर र जोखिमपूर्ण आवतजावत गर्न बाध्य भएका छन् । सडकमा परेका खाल्डाखुल्डीले तथा सडक हुँदै बग्ने पानीले साना ठूला सवारीसाधन मात्र होइन पैदल आवतजावतमा समेत सकस हुने गरेको छ । नगर प्रवेश गर्ने रुपनी मार्ग, कंचनपुर मार्ग, कुनौली मार्ग, छिन्नमस्ता मार्ग, हनुमाननगर मार्ग, सिरहा मार्ग सबै सडकखण्डको हाल बेहाल छ । नगरका भित्री सडकहरुको अवस्था पनि उस्तै छन् । सडकमा रहेका ठूलाठूला खाल्डामा पानी जमेका कारण सवारीसाधन आवागमनमा समेत समस्या भइरहेको छ भने पैदल आवतजावत गर्दा हातमा चप्पल जुत्ता बोक्नु पर्ने अवस्था छ । बजार क्षेत्रकै सडकमा पनि दर्जनौं खाल्डा छन् । सोमबार बिहानैदेखि भइरहेको वर्षाले त समस्या झनै थपिएको छ । एकातिर सडकमा जताततै खाल्डाखुल्डी अर्कोतिर जमेको पानी निकासको व्यवस्था नहुँदा आवागमनमा निकै समस्या भएको स्थानिय जंगबहादुर सिंहको भनाई छ । नाला निर्माण भइरहेका ठाउँमा पनि पानीको निकास नहुँदा नगरवासी समस्यामा परेका छन् । “पहिले नालातिर भेल हुन्थ्यो, अहिले सडकमै भेल छ, स्थानिय देवकान्त चौधरीले भने, “यस्तो स्थिती हुनु दुर्भाग्य हो ।” जथाभावी फ्यालिएको फोहर अहिले सडकमा जमेको पानीमा मिसिएर फैलिदा रोग फैलिन सम्भावना समेत बढेको छ । ग्रामिण भेगका सडकको त झन बिजोग छ । जतागयो उतै हिलो नै हिलो रहेको स्थानियको भनाई छ ।
सडक दुरावस्थाबारे जनप्रतिनिधि, सडक विभाग र ठेकेदार सबै जानकार छन् । तर, कसैले पनि गम्भिरता नदेखाएको भन्दै स्थानियले अविलम्ब जिर्ण सडकको मरमत र पानी निकासको उचित व्यवस्था मिलाउन माग गरेका छन् ।