अपडेट 
२०७८ भाद्र ९, बुधबार ०७:२४

लालबन्दी । सर्लाहीमा १४ वर्षीया किशोरी प्रियंका भुजेलको हत्यामा संलग्न दुईजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

लालबन्दी नगरपालिका–१७, रानीगन्ज डाँडाटोल निवासी राजेश भुजेलकी छोरी १४ वर्षीया प्रियंकाको शव गत भदौ १ गते राती लालबन्दी नगरपालिका–६ स्थित पूर्व–पश्चिम लोकमार्गमा पर्ने कालिन्जोर पुलको २०० मिटर दक्षिण खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेको थियो । प्रहरीले मलंगवामा पत्रकार सम्मेलन गरी प्रियंकाको हत्या भएको पुष्टि गर्दै हत्यामा संलग्न अभियुक्तहरु सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेका दुवै अभियुक्त रानीगञ्जकै १९ वर्षीय कृष्ण साह र १९ वर्षकै अनिश दाहाल रहेका छन् । प्रहरीले उनीहरुलाई भदौ १ गते नै पक्राउ गरेको थियो । प्रहरीले मृतक भुजेल र अभियुक्त अनिश दाहाल बिच पुरानो सम्बन्ध रहेको अनुसन्धानका क्रममा कल डिटेल्समा देखिएको प्रहरीले बताए । गत साउन ३१ गते राति अभियुक्त दाहाल र साह मृतक भुजेललाई घरमा भेट्न जादाँ गाउँलेले थाहा पाएर हल्ला गर्दा डराएर तीनै जना नजिकको जंगलतर्फ गएका थिए । जंगलमा पुगेपछि भुजेललाई अभियुक्तहरुले घर जाँऊ भन्दा नमानेको र भुजेलले खोलामा हाम फालेको प्रहरीले जनाएको छ । आत्महत्या गर्न खोजेको र घर जान नमानेपछि अभियुक्त दाहाल र साहले भुजेललाई घाँटी थिचेर खोलामा डुबाई मारेको र शव लुकाउन खोलाको बगरमा गाडेको पनि स्वीकार गरेका सर्लाहीका प्रहरी उपरिक्षक एसपी सन्तोषसिंह राठौरले बताए । मृतक भुजेलको गाडेको अवस्थामा रहेको शव पनि अभियुक्तहरुले नै देखाएका थिए । प्रहरीले मृतक बालिका माथि करणी भए नभएको पत्ता लगाउनका लागि भजाईनल स्वाब जाँचका लागि काठमाण्डु पठाएको छ । अभियुक्तहरुले अहिले सम्म दिएको बयानमा झुठो बोलेको वा नबोलेको पत्ता लगाउन पोलीग्राफ जाँच गर्ने टोली लालबन्दी आईपुगेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बताए । भुजेलको हत्यामा अहिलेसम्म पक्राउ परेका दुई युवकको मात्रै संलग्नता देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै युवकमाथि अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतले सोमवार दोस्रो पटक ३ दिनको म्याद गरेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक थापाले बताए । प्रहरीले दुवै युवकविरुद्ध जवरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दायर गरेर अनुसन्धान अघि बढाएको लालबन्दीका प्रहरी निरीक्षक थापाले बताए । यसैबिच, मृतक प्रियंका भुजेलको शव मंगलबार परिवारले बुझेर अन्त्येष्टि गरेका छन् । प्रियंकाको मंगलबार साँझ कालिन्जोर खोलास्थित निर्माणाधीन रेल्वेको पुल नजिकै अन्त्येष्टि गरिएको हो । मृतक भुजेलको शव बुझ्न मंगलबार बुवा राजेश भुजेलसँगै लालबन्दी नगरपालिकाका नगरप्रमुख मानबहादुर खड्का, वडाध्यक्ष नवराज अधिकारी लगायत सदरमुकाम मलंगवा पुगेका थिए ।

उनीहरुले जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरसँग भेट गरी घटनाको अनुसन्धानलाई जारी राख्न र अनुसन्धान फितलो हुन नदिन आग्रह गर्दै मृतक बालिकाको शव बुझेर ल्याएका हुन् । भुजेलको गत वुधवार नै पोष्टमार्टम भएपनि परिवारले मंगलबार मात्र शव बुझेका हुन् ।

Comment


Related News

Latest News

Trending News