अपडेट 
२०७८ भाद्र ९, बुधबार ०७:३१

जनकपुरधाम । धनुषाको पूर्व–पश्चिम राजमार्गमा मंगलबार सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–४ पुष्पलपुर सडक खण्डमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका–१२ बस्ने २९ वर्षीया ममता यादव रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३५ वर्षीय द्वारिका प्रसाद यादव घाइते भएका हुन् । मृतक यादव घाइतेको श्रीमती हुन् । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको प्र.२–०१–००१प ८५८५ नम्बरको मोटरसाइकल पुष्पलपुर सडकको खाडलमा पर्दा अनियन्त्रित भई दुर्घटना भएको स्थानीयले बताए । दुर्घटनामा मोटरसाईकलमा सवार ममता यादव उछिट्टिएर सडकतर्फ लडेका थिए । सोही क्रममा विपरित दिशाबाट जाँदै गरेको बा. ५ ख. ६०८७ नम्बरको हायसको चक्का तल परेपछि कुल्चिन पुग्दा उनको घटनास्थल मै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए । सडककै कारण दुर्घटना भएको भन्दै स्थानीहरूले राजमार्ग अवरूद्ध गरेका छन् । उनीहरूले घटनाको विरोधमा सडक मर्मतको माग गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरी र स्थानीय बीच झडप समेत भएको थियो । मृतकको शव उठाउने क्रममा प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । भीड नियन्त्रण गर्न प्रहरीले १९ राउण्ड अश्रुग्यास प्रहार गरेको प्रहरी निरीक्षक सुवेदीले बताए । बल प्रयोग गरी प्रहरीले मृतकको शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ । दुर्घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीहरुले करिब डेढघण्टा पूर्व–पश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध पारेका थिए । प्रहरीले बल प्रयोग गरेर अवरुद्ध राजमार्ग खुलाएका थिए । महिलालाई ठक्कर दिने हायस गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News