
लालबन्दी । सर्लाहीका काँग्रेस नेताहरुले विष्णु गाउँपालिकास्थित सिमरा फेन्हरादेखि हरिवन–क्यानेश्वर हुँदै मदन भण्डारी लोकमार्ग सम्म जोड्ने सडक निर्माणका लागि पहल थालेका छन् ।
भारतीय सीमा दशगजादेखि सिन्धुलीस्थित मदन भण्डारी लोकमार्गसम्म सडक सञ्जाल जोड्नका लागि नेपाली कांग्रेसका नेताहरुले पहल थालेका हुन् । यसअघि हरिवन–क्यानेश्वर सडकलाई लोकमार्गसँग जोड्न पहल थालेका कांग्रेस नेताहरुले बुधबार सीमावर्ती क्षेत्रमा पर्ने विष्णु गाउँपालिका र कौडेना गाउँपालिकाका अध्यक्षहरुसँग भेट गरी सीमादेखि सडकलाई लिंक गर्नका लागि छलफल गरेको थिए । कांग्रेसका पूर्व पार्टी जिल्ला उपसभापति विनोद खनालसहितका नेताहरुले बुधबार संचारकर्मीहरुसहित गएर विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल राय र कौडेना गाउँपालिकाका अध्यक्ष राम प्रसाद यादवसँग भेट गरेका थिए । दुवै गाउँपालिकाका अध्यक्षले भविष्यमा लाईफ लाईन बन्न सक्ने हरिवन–कौडेनाहुँदै सीमरा फेन्हरासम्मको सडकलाई मदन भण्डारी लोकमार्गसँग लिंक गराउने अभियानमा लागि पर्ने प्रतिवद्धता जनाएका थिए । यसबारेमा आगामी केही दिनमा हरिवनदेखि सीमरा फेन्हरासम्मको सडक अन्तर्गत पर्ने हरिपुर, बरहथवा, चक्रघट्टा तथा हरिवनबाट उत्तर सिन्धुलीको हरिहरपुरगढी सम्मका जनप्रतिनिधिहरुसँग थप छलफलको तयारी गरिएको कांग्रेस नेता खनालले बताए । विष्णु र कौडेना गाउँपालिकाका अध्यक्षसँग भेट गर्न नेता खनालसँगै कांग्रेसको तर्फबाट हरिवन नगरपालिकामा मेयरका प्रत्यासी दीलिप राज भण्डारी, नेताहरु भिखारी राय, रमेश भट्टराई, मुकुन्द थपलिया, चेतन रिजाल लगायत कौडेना हुँदै सीमरा फेन्हरासम्म पुगेका थिए ।
सडक संरचना पहिलादेखिकै भएकाले कालोपत्रे तथा पुल निर्माण गर्नुपर्ने भएकाले भारतीय सिमा क्षेत्रदेखि प्रदेश दुई हुँदै बागमती प्रदेशको मदन भण्डारी लोकमार्गसम्म जोड्ने सडक स्तरोन्नत्ति गर्न पहल थालिएको नेता खनालले बताए ।