
जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालले थालेको सुज अभियान अन्तर्गत शुक्रबार जनकपुरधाममा अभिमुखिकरण कार्यक्रम हुने भएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघमा हुन लागेको अभिमुखिकरण कार्यक्रमको तयारी पूरा भएको जिल्लास्थित पार्टीका नेताहरुले बताएका छन् । कार्यक्रममा पार्टीका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक कुमार राई, महेन्द्र राय यादव, रेणु यादव लगायतका नेताहरु प्रमुख वक्ताको रुपमा सहभागी हुन लागेको धनुषा अध्यक्ष पशुपति यादवले जनाए । दिउँसो १ बजेदेखि हुने अभिमुखिकरण कार्यक्रमको लागि जिल्लास्थित कार्यकारिणी समिति सदस्य, केन्द्रिय सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, प्रदेश समिति सदस्य, जिल्ला समिति पदाधिकारी, भ्रातृ र जनवर्गीय संगठनका पदाधिकारी लगायतको सहभागीता रहने भएको छ । गएको भदौ ६ गते बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकले संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान) देशव्यापी रुपमा संचालन गर्ने निर्णय गरेको थियो । जनजागरण अभियान अन्तर्गत प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम भदौ ९ देखि भदौ १७ गतेसम्म सातै प्रदेशमा गर्ने निर्णय गरेको हो । यसअघि भदौ ९ गते प्रदेश १ को बिराटनगर र वाग्मती प्रदेशमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीले प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा शुक्रबार नै अभिमुखिकरण कार्यक्रम गर्न लागेको छ ।
भदौ १३ गते लुम्बिनी प्रदेशको भैरहवामा, भदौ १५ गते गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा १७ गते अभिमुखिकरण कार्यक्रम हुने भएको छ ।