२०७८ भाद्र १२, शनिबार ०७:४२

काठमाण्डु । फिल्म ‘ लाइफ इन एलए’ बाट नेपाली फिल्म क्षेत्रमा एक नयाँ अनुहार भित्रिएको छ, ब्यास बिस्सु ।

डेढ दशकदेखि अमेरिकालाई कर्मथलो बनाएका उनले यही फिल्मबाट नायकको रुपमा डेब्यू गरेका हुन् । गएको महिना तनहुँ क्षेत्रमा फिल्मको छायांकन सकियो । ७५ प्रतिशत अमेरिकामा खिचिएको फिल्मको बाँकी छायांकन काठमाडौँ, तनहुँको भिमाद र पोखरामा गरिएको हो । अमेरिकामा बस्ने नेपालीको जीवनशैलीलाई उतारिएको फिल्ममा शिल्पा मास्के, गौरव पहारी, अकेशा विस्ट, जेरेड विलप्स, वुद्धि तामाङ लगायतको पनि अभिनय रहेको छ । फिल्ममा बिस्सुले अमेरिकाको सिनमा अकेशासँग अनस्क्रिन रोमान्स गरेका छन् भने नेपालको सिनमा शिल्पासँग जोडी बाँधिएको छ । यसबाट पनि बुझ्न सकिन्छ कि फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । सूर्य एन श्रेष्ठ निर्देशित फिल्मलाई सिनेमा हल खुलेको खण्डमा आउँदो दशैंमा रिलिज गरिने निर्माता समेत रहेका ब्यास बिस्सुले बताए । नेपालअघि फिल्मलाई अमेरिकामा विभिन्न ठाउँमा प्रदर्शन गर्ने योजनामा उनी छन् । अहिले फिल्मको काठमाडौंको एक स्टुडियोमा पोस्ट प्रोडक्सनको काम भइरहेको छ । आउँदो सोमवार एक कार्यक्रमका बीच फिल्मको गीत सार्वजनिक गरिँदैछ । पहिलो पटक फिल्ममा अभिनय गरेता पनि आफ्नोतर्फबाट उत्कृष्ट दिन प्रयास गरेको ब्यास बिस्सु बताउँछन् । पेशाले इन्जिनियर रहेका उनी दर्शकले आफूलाई कलाकारको रुपमा स्वीकार गर्नेमा विश्वस्त छन् । उनी भन्छन्, ‘नेपालमा नायकको जुन मानक बनेको छ त्यसमा म फिट हुँदिनँ होला । तर, अभिनय राम्रो लाग्यो भने दर्शकले कलाकारको रुपमा अवश्य पनि स्वीकार्नु हुन्छ ।’ अमेरिकामा बस्ने कलाकारलाई अभिनयमा फर्किन उर्जा मिलोस् भन्ने उद्देश्यले पनि आफूले फिल्म निर्माण गरेको ब्यासले बताए । ‘ फिल्ममा अभिनय गर्न नेपाल नै फर्किनु पर्दैन । जहाँ बसेर पनि अभिनयलाई निरन्तरता दिन सकिन्छ । अमेरिकामा धेरै चर्चित कलाकारहरु बस्नुहुन्छ । उहाँहरुलाई अभिनयमा फर्किनका लागि उर्जा दिनु पनि मैले फिल्म बनाउनुको उद्देश्य हो,’ उनले भने । अभिनय र निर्माणमा ‘ लाइफ इन एलए’ आफ्नो पहिलो र अन्तिम फिल्म नहुने उनको भनाई छ । यो फिल्ममा आफैंले अभिनय गर्नुको कारणबारे पनि उनी भन्छन्, ‘म अमेरिका बस्न थालेको १८ वर्ष जति भयो । त्यहाँ मेरो राम्रो चिनजान छ ।

म आफैंले काम गर्दा लगानी उठाउन सकिन्छ भन्ने भएपछि अभिनय गरेको हुँ । यो फिल्म सफल भयो भने नयाँ फिल्ममा म नखेल्न पनि सक्छु ।’

Comment


Related News

Latest News

Trending News