अपडेट 
२०७८ भाद्र १२, शनिबार ०८:१२

काठमाण्डु । अफगानिस्तानको राजधानी काबुलभन्दा लगभग १५० किलोमिटर उत्तर पूर्वमा तालिबानको शासनविरुद्ध बलियो गढ छ ।

भिरालो पर्वतले घेरिएको अफगानिस्तानको एउटा उपत्यका जसले पछिल्लो ४० वर्षमा विभिन्न सैन्य बलहरूलाई भित्रिन दिएको छैन । पन्जशिर उपत्यकाले सन् १९८० को दशकमा सोभियत सङ्घ र अफगान सरकारी सैन्य बलले गरेका कैयौँ आक्रमणहरूको प्रतिकार गर्दै सोभियत सङ्घले गरेको कब्जाको विरोध गरेको थियो । उक्त क्षेत्र सन् १९९६ देखि २००१ का बीच तालिबानविरुद्ध पनि उभियो । “पछिल्लो दुई दशकमा यो क्षेत्रलाई अफगानिस्तानको सबैभन्दा सुरक्षितमध्ये एक मानिन्थ्यो,“ बीबीसी अफगानका मरियम अमानले भनिन् । अफगानिस्तानका ३४ प्रान्तमध्ये तालिबानले कब्जा जमाउन नसकेको एक मात्र प्रान्त पन्जशिर उपत्यका हो । तर अहिले भने इस्लामिक समूहले त्यहाँ आफ्नो पकड स्थापित गर्नका लागि फौज परिचालन गर्न लागेको जनाएको छ । “हामी दोस्रो पटक तालिबानको सामना गर्न तयार छौँ,“ पन्जशिर इकोनोमिक्स डिपार्टमेन्टका प्रमुख अब्दुल रहमानले भने । उनको भनाइमा तालिबानले अपदस्थ गरेको अशरफ गनी सरकारका प्रथम उपाध्यक्ष रहिसकेका अमरुल्ला सालेहले समर्थन जनाए । उनले राष्ट्रपति गनीको अनुपस्थितिमा आफू “अफगानिस्तानको वैधानिक अन्तरिम राष्ट्रपति“ रहेको स्वघोषणा गरेका छन् । अफगानिस्तानको गुप्तचर निकायका पूर्वप्रमुख समेत रहिसकेका सालेहले अफगान नागरिकहरूलाई तालिबानविरुद्ध प्रतिरोधमा सहभागी हुन अपिल गरेका छन् । “म तालिबानसँग एउटै छतमा कहिल्यै रहने छैन। कहिल्यै पनि,“ उनले ट्विटरमा लेखेका छन् । तालिबानविरुद्ध यो सन्देशले कैयौँ अफगानहरूलाई आकर्षित पार्ने अमान बताउँछिन् । एनएफआरका वैदेशिक सम्बन्धका प्रमुख अली नजारीले हजारौँको संख्यामा रहेको फौजका साथ पन्जशिरको रक्षा गर्नका लागि तयार रहे पनि आफूहरूले शान्ति र विकेन्द्रीकृत सरकारमा आधारित बस्ती चाहेको बताउँछन् । कुनै समस्या उत्पन्न भए भूगोल उनीहरूको पक्षमा हुनेछ । पन्जशिरका अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई बलियो गढमा बदल्छन् । बीचबाट पन्जशिर नदी बगेको उक्त उपत्यका अफगानिस्तान र उत्तर–पश्चिम पाकिस्तानबीच रहेको हिन्दुकुश पर्वत शृंखला नजिक छ । उक्त क्षेत्रमा बहुमूल्य धातुका खानी, जलविद्युत् बाँधहरू र वायु ऊर्जा केन्द्र रहेका छन् । र अमेरिकाले त्यहाँ सडक निर्माण र काबुलबाट सङ्केत प्राप्त गर्न सक्ने रेडियो टावर निर्माणमा सहयोग गरेको छ । तर आर्थिक रूपमा भने यो क्षेत्र अफगानिस्तानको अत्यावश्यक क्षेत्रमा पर्दैन । “यो गुरिल्ला युद्धका लागि उपयुक्त स्थान हो तर यो रणनीतिक छैन,“ बीबीसी विश्व सेवाका पत्रकार हरून शफीकी भन्छन् ।

“न यो कुनै बन्दरगाहको नजिक छ, न यहाँ कुनै उद्योग छ, न त यसले देशको कुल गार्हस्थ्य उत्पादनमा टेवा पु¥याउँछ ।“ उक्त क्षेत्रमा १५०,००० देखि २००,००० बासिन्दाहरू छन् जसमध्ये लगभग सबैले पर्सिअन बोल्छन् र ताजीक जातिका हुन् । यो वर्षौँदेखि तालिबान विरोधी जनसंख्या हो । तालिबान विरोधी व्यक्तित्वहरूमा अहमद शाह मसूद एक मुजाहिदीन गुरिल्ला थिए । अमेरिकामा सेप्टेम्बर ११ को आक्रमणको दुई दिनअघि अलकायदाले उनको हत्या गरेको थियो । उनले सन् १९८० देखि १९९० बीच उक्त क्षेत्रको स्वायत्तताका लागि लडेका थिए । “लाएन अफ पन्जशिर“ (पन्जशिरको अर्थ “पाँच सिंह“ हो) का रूपमा परिचित उनको तस्बिर अफगानिस्तानको राजधानीका कैयौँ स्थानहरूमा देख्न सकिन्छ । “अहमद शाह मसूदले पन्जशिरलाई अफगान–सोभियत युद्ध (१९८०को दशक) मा गढको रूपमा प्रयोग गरेका थिए,“ अमान बताउँछिन् । मुजाहीदिन र तालिबानका विभिन्न गुटबीच सन् १९९० को बीचदेखि सन् २००१ सम्म (जति बेला तालिबान सत्ताबाट बाहिरिएको थियो) भएको युद्धका बेला पनि उक्त उपत्यका महत्त् वपूर्ण रहेको उनी बताउँछिन् । “सन् २००१ मा मसूदको मृत्युपछि पनि यस क्षेत्रले तालिबान विरुद्धको लडाइँमा प्रतिरोधको आफ्नो विरासत ृ…े कायम राखेको छ ।“ धेरै अफगानहरूका लागि मसूद सम्मानित व्यक्तित्व हुन्। उनलाई राष्ट्रपति हमिद कर्जाइले राष्ट्रनायक घोषणा गरेका थिए । सन् २०१२ देखि उनको मृत्यु भएको दिनलाई सहिद दिवस र अहमद शाह मसूद दिवसका रूपमा मनाइन्छ । उपराष्ट्रपति सालेहले उनी प्रतिको आफ्नो झुकाव स्पष्ट पारेका छन् । “म मेरो नायक अहमद शाह मसूद, कमान्डर, महान् व्यक्ति र मार्गदर्शकको आत्मा र विरासत लाई कहिल्यै धोका दिन्न,“ हालसालै उनले ट्विटरमा लेखे । “म कुनै पनि हालत र अवस्थामा तालिबान आतङ्कवादीहरूसँग झुक्ने छैन ।“ पन्जशिरका एक पुराना बासिन्दा मसूद सन् १९९० को नर्दन अलाएन्स भनिने उत्तरी गठबन्धनको हिस्सा थिए । केहीले उनी युद्ध अपराधी रहेको बताउने गरेका छन् । सन् २००५ मा ह्युमन राइट्स वाचले गरेको अनुसन्धानले अफगानिस्तान युद्धका बेला उनको नेतृत्वमा रहेको सैन्य बलले गरेका कारबाहीमा “अहमद शाह मसूद धेरै दुर्व्यवहारमा सहभागी भएको“ जनाएको थियो । तर यसपालि तालिबानविरुद्ध नेतृत्व गर्ने व्यक्ति उनका ३२ वर्षे छोरा अहमद मसूद हुन् । सालेह र मसूदको अगस्ट १६ तारिखमा खिचिएको तस्बिर सामाजिक सञ्जालहरूमा देखिएका छन् र त्यसमा उनीहरूबीच गठबन्धन रहेको देखिन्छ ।

बिहीवार द वासिङ्टन पोस्ट पत्रिकामा प्रकाशित एउटा विचारमा मसूदले आफ्ना लडाकुहरूलाई अफगान सेना र विशेष फौजको समर्थन रहेको उल्लेख गरेका छन् ।

Comment


Related News

Latest News

Trending News