जलेश्वर । एमनेष्टि ईन्टरनेशनल महोत्तरी समुह ७ ले अन्तराष्ट्रिय बेपत्ता दिवस २०७८ को अवसर पारेर प्रवचन कार्यक्रम गरेको छ ।
एआई समुह ७ का प्रमुख मुकेश कुमार कर्णको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रदेश २ का नीति आयोगका उपाध्यक्ष प्रा.डा.भोगेन्द्र झाले बेपत्ताहरुको खोजी गर्न अधिकारकर्मीहरुको ईमान्दार प्रयासको आवश्यकता रहेको बताए । लाल आयोग सार्वजनिक गर्नुपर्ने र मानव अधिकारकर्मीहरु राजनीतिबाट अक्षुण्ण रहनु पर्ने आवश्यकता उनले औंल्याए । त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलले संचारकर्मी अग्रस्थानको अधिकारकर्मी भएर काम गर्दै आएको स्मरण गराउँदै बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका पत्रकारहरुले ईमान्दारीपुर्वक कलम चलाउन प्रतिबद्ध रहेको बताए । मण्डलले अधिकारकर्मीहरुलाई हरेक प्रकारले पत्रकार महासंघ सहयोग गर्दै आएको दावी गरे । अधिकारकर्मीहरु पनि राजनीतिक दलसंग प्रभावित भएको कारण बेपत्ताहरुलाई न्याय दिलाउन समस्या भएको उनले टिप्पणी गरे । कार्यक्रममा नीति आयोगका उपाध्यक्ष प्रा.डा. झालगायत ६ जनालाई आप्mनो पेशामा उत्कृष्ट काम गरेको र राज्यबाट पदकप्राप्त पेशाकर्मीहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल प्रबल जनसेवा पदकबाट सम्मानित स्वास्थ्य निरीक्षक गिरेन्द्र झा , जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुर , नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डल र महासंघकै कोषाध्यक्ष क्षेदी चौधरीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वक्ताहरुले बेपत्ताहरुको खोजी कार्य चुनौतीपुर्ण भएपनि सरोकारवालाहरुले ईमान्दारीपूर्वक प्रयास गरे समस्या समाधान हुँदै जाने बताए ।


