अपडेट 
२०७८ भाद्र १४, सोमबार ०६:४७

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा दुई जना मन्त्रीको कार्यभार हेरफेर गरेको छ ।

मुख्यमन्त्री राउतले अर्थमन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी आइतबार हेरफेर गरेका हुन् । अर्थ मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राउतले हेरफेर गरेका हुन् । विजय यादवलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएको छ । हेरफेर गरिएका दुवै मन्त्रीले नयाँ मन्त्रालयको जिम्मेवारी सोमबारदेखि सम्हाल्ने छन् । मुख्यमन्त्री राउत र मन्त्री यादवबीच प्रदेश सरकार गठनदेखि नै तिक्तता छ । मन्त्रालय हेरफेरले राजनीति वृत तरंगित भएपनि मन्त्री यादवले मन्त्रालय हेरफेर हुनु समान्य रहेको बताएका छन् । उनले भने–‘ मन्त्रालय र मन्त्री हेरफेर हुनु समान्य कुरा हो, यसलाई ठूलो इस्यु बनाउने कुनै तुक छैन् ।’ मन्त्री यादवलाई दिइएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा नलिई राजिनामा दिने सोचमा रहेको कुरा गलत रहेको बताएका छन् । आफुले अर्थमन्त्रालयमा रहँदा जनताकोलागि काम गरे, कृषिमा जाँदा जनताकैलागि काम गर्नु रहेको उनको भनाई थियो । तर, मन्त्री यादव भने मन्त्रालय हेरफेरवाट असन्तुष्ट देखिएका छन् । पटक–पटक मन्त्री यादवमाथि पार्टी फोडने देखि लिएर पार्टी अध्यक्ष उपेन्द्र यादवको विरुद्धमा जाने प्रवृतिले पनि पार्टी अध्यक्ष उनीवाट अनसन्तुष्ट रहदै आएका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवकै इसारामा उनको मन्त्रालय हेरफेर गरिएको छ । मन्त्री यादवको स्थानमा तत्काल कुनै सांसदलाई स्थान दिइयो भने पार्टीलाई नोक्सान हुन सक्ने भएकाले उनको मन्त्रालय मात्रै हेरफेर गरिएको हो ।

मुख्यमन्त्री बन्ने दाउमा रहेका यादवलाई पन्छाएर जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राउतलाई मुख्यमन्त्री रोजेपछि यी दुवैबीच झन् टकराब बढेको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका मन्त्री यादवले मुख्यमन्त्री राउतलाई अवरोध गर्दै आइरहेका थिए । श्रोतका अनुसार पार्टी अध्यक्ष यादव र मुख्यमन्त्री राउतकै सल्लाहमै दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको हो । मन्त्रीको जिम्मेवारी हेरफेर बारे शुक्रबार अध्यक्ष यादव र मुख्यमन्त्री राउत बिच छलफल भएको थियो । तर, शनिवार विरञ्जमा अभिमुखिकरण कार्यक्रम रहेको हुनाले मन्त्रालय हेरफेरको कुरालाई दवाएर राखिएको थियो । यसअघि मुख्यमन्त्री राउतले माओवादीलाई सरकारमा ल्याउन आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई पदमुक्त गरेका थिए । यादवले राजिनामा बुझाएपछि माओवादी केन्द्र सरकारमा आएका थिए । प्रदेश २ मा हाल जनता समाजवादी (जसपा), नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकार छ । महन्थ ठाकुर पक्षीय मन्त्री तथा राज्यमन्त्रीलाई बर्खास्त गरी मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन यसअघि कायम रहेका ६ वटा मन्त्रालयलाई टुक्राएर १० वटा बनाएका थिए । जसमध्ये ४ वटा मन्त्रालयमा जसपा, ३ वटामा कांग्रेस र एउटामा माओवादीका मन्त्री छन् । दुई वटा मन्त्रालय अहिले मुख्यमन्त्री राउतले नै राखेका छन्। वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि र कानुन न्याय तथा प्रदेश सभा मन्त्रालय मुख्यमन्त्री राउतले आफ्नो मातहत राखेका हुन्। एमाले समाजवादी पार्टीलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले तयारी गरेको छ ।

Comment

Related News

Latest News

Trending News