अपडेट 
२०७८ भाद्र १४, सोमबार ०७:०१

गरुडा । विगत केहीदिन देखि भइरहेको अविरल वर्षाको कारण रौतहटको प्राय नदीहरुमा पानीको बहाव उच्च भएको छ ।

अविरल वर्षाले रौतहटको विभिन्न नदी तथा खोलामा ठुलो बाढी आएको छ । लगातारको वर्षाले जिल्लाको नदीहरुमा पानीको जलसतह बढ्दै गएको छ । जिल्लाको पुर्वीभेगस्थित बागमती र पश्चिममा पर्ने लालबकैया नदीका साथै जिल्लामा रहेका चाँदी, झाँझ लगायतका नदीहरुमा पानीको सतह बढदै गएपछि डुबानको जोखिम बढेको हो । नदीहरुमा पानीको सतह बढदै जाँदा जिल्लाका दर्जन बढी गाउँहरु फेरी डुबानमा पर्ने खतरा बढेको छ । वर्षाको पानीका कारण जिल्लाका सडक सञ्जालहरु समेत अवरुद्ध हुन थालेको देखिएको छ । भिषण वर्षाले जिल्लाको पुर्वी भेग स्थित बागमती र पश्चिम भेगस्थित रहेको लाल बकैया नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । त्यस्तै चाँदी, झाँझ, गुजरा, लमहा लगायतको खोलाहरुमा समेत पानीको जलस्तर बढ्दो क्रममा रहेको प्रजिअ यादवले बताए । जिल्लाको ठुलादेखि लिएर साना सबै नदीहरुमा पानीको बहाव बढदै गएकोले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ । वर्षाका कारण बागमति, लालबकैया, चाँदी, झाँझ लगाएतका नदीहरुमा पानीको सतह खतराको तहसम्म पुग्न सक्ने सम्भावना रहेकोले तटीय क्षेत्रका नागरिकहरुलाई सजकता अपनाउन प्रशासनले आग्रह गरेको हो । नदीहरुमा पानीको जलस्तर बढदै जाँदा जिल्लाका अधिकांश गाउँ, शहर र सदरमुकाम गौर समेत डुवानमा पर्ने सम्भावना बढदै गएको छ । प्रत्येक वर्ष बागमति र लाल बकैया नदीमा आउने बाढीले सदरमुकाम गौर लगायतको क्षेत्र डुवानमा पर्ने गरेको छ । प्रत्येक वर्ष जसो नदीहरुमा आउने बाढी गाउँ बस्तीमा प्रवेश गरेर ठुलो जनधनको क्षति समेत पुरयाउँदै आएको छ । रौतहट जिल्ला प्रत्येक वर्ष बाढी र डुवानको चपेटामा पर्दै आएको छ ।

केहि दिनदेखी भइरहेको वर्षा अझै केहि दिनसम्म जारी रहे यस वर्ष पनि रौतहट डुवानमा पर्ने र ठुलो जनधनको क्षति हुने सम्भावना रहेकोले जिल्लावासीलाई सतर्क रहन आवश्यक रहेको देखिएको छ ।

Comment


Related News

Latest News

Trending News