
मलगंवा । सर्लाही जिल्लाका प्रायःजसो उपभोक्ताहरु नेपाल बिद्युत प्राधिकरणसँग आक्रोशित छन् ।
अनियमित रुपमा जतिबेला पनि बिद्युत कटौती हुने, सानो हावा चल्दा र सामान्य सिमसिम पानी पर्दा पनि बत्ति जाने, भोल्टेज नआउने, कतै बिग्रिएर भोल्टेज आउने जाने भएको थुप्रै दिन सम्म पनि प्राधिकरणले थाहा नपाउने, मर्मतमा ढिलाई गर्ने लगायतले उपभोक्ताहरु प्राधिकरणसँग आक्रोशित भएका हुन् । यस विषयलाई लिएर जिल्लामा कयौँ पटक आन्दोलन तथा विरोध प्रदर्शन भईसकेका छन् । यस्ता आन्दोलनमा जनप्रतिनिधि लगायत विभिन्न संघ संगठनहरुले समेत स्थानिय उपभोक्तालाई साथ दिएका छन् । यी सबका बाबजुद पनि जिल्लाका ग्रामीण बस्तिहरुमा बिद्युतमा देखिने समस्याको अर्को कारण रुख बिरुवाहरु पनि रहेको छ । ग्रामीण बस्तिमा जहाँ बिद्युतको तार टाँगिएको हुन्छ, त्यहाँ बाँस र अन्य बस्तुले छोएको ठाउँमा करेन्ट लाग्ने सम्भावना धेरै हुने नेपाल बिद्युत प्राधिकरणका प्राबिधिकहरु बताउँछन् । प्राविधिक ज्ञान नभएका स्थानीयबासीहरु घरै अगाडी रुख बिरुवाले तारलाई छोएको देख्दादेख्दै पनि केही गर्न सकिरहेका छैनन् । त्यस्ता तारका कारण आगलागी हुने हो वा अरु कुनै दुर्घटनाहरु निम्तिने हुन कि भन्ने त्रासमा आफुहरुलाई बस्नु परेको छ , स्थानीयहरुले गुनासो गरे । गाउँलेहरु मात्र नभइ उक्त बाटो भएर आवतजावत गर्ने बटुवाहरु समेत बिजुलीको तारको त्यस्तो अवस्था देखेर डराउने गरेको स्थानीयहरुले भने ।
यसबारे विधुत प्राधिकरणलाई जानकारी गराउँदा पनि समस्या समाधान गर्न कुनै किसिमको पहल नगरेको बल्की गुनासो लिएर जाँदा आज भोली भन्दै टार्ने काम मात्र गर्दै आएको पीडित गाउँलेहरुको गुनासो छ । त्यस्ता बिजुलीको तारले गर्दा जिल्लामा वर्षेनी दुर्घटना हुने गरेको छ ।