
जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले जिम्मेवारी हेरफेर गरेपछि सोमबारदेखि शैलेन्द्र साहले अर्थ मन्त्रालयको कार्यभार सम्हालेका छन् ।
बजेटमा रहेको अबण्डा रकम तत्कालै बाँडफाँड गरि विनियोजन गर्नु पर्ने भएकोले मन्त्री साहले सोमबार सार्वजनिक विदा कै दिन कार्यभार सम्हालेका हुन् । भदौ १५ गते सम्म अबण्डा बजेट सम्बन्धि निर्णयलाई अर्थमन्त्रीले सदर गरी प्रदेश मन्त्रालयगत सुचना प्रणालीमा राख्नु पर्ने व्यवस्था छ । मन्त्रालयबाट आएका निर्णयहरु अर्थ मन्त्रालयमा रोकिएका कारण मन्त्री साह सोमबार कार्यभार सम्हालेर मंगलबार सम्म अबण्डा बजेट सम्बन्धी निर्णय सदर गर्ने मन्त्रालय श्रोतले जनाएको छ । मुख्यमन्त्री राउतले आइतबार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री साहलाई अर्थ मन्त्रालय र अर्थ मन्त्री विजय यादवलाई भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका थिए । जिम्मेवारी हेरफेरले प्रदेशमा राजनीति बृत तरंगित भएको थियो । मन्त्री साहले सोमबार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी छाडेर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै वित्तीय अनुशासन कायम गर्नु पहिलो प्राथमिकता मा राख्ने प्रतिबद्धता जनाए । प्रदेश २ का अर्थ मन्त्रालयको जिम्मा पाए लगतै मन्त्री साहले अर्थ मन्त्रालयकै कारण कुनै पनि कार्यक्रम कार्यान्वयनमा विलम्ब नहुने बताए । विनियोजित बजेट निकासा गरी मन्त्रालयका योजनाको औचित्य र आवश्यकताका आधारमा तिनको कार्यान्वयनका लागि समयमै स्रोत परिचालन गरिने साहले बताए । मन्त्री साहले प्रदेशको मानव विकास सूचकांकमा कमजोर स्थितिमा रहेका शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रलाई प्राथमिकतामा राख्ने बताए ।