अपडेट 
२०७८ भाद्र १५, मंगलवार ०७:३७

जनकपुरधाम । अपराधीलाई कारबाहीको दायरामा ल्याउने काम गर्छ प्रहरी । तर प्रहरी अधिकारीकै नामबाट सामाजिक सञ्जाल मार्फत ठगी गर्न खोज्नेहरुको संख्या बढ्न थालेको छ । पछिल्लो समय धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटको नक्कली फेसबुक आइडी बनाएर अज्ञात व्यक्तिले रुपैया ठग्न खोजेको खुलेको छ । एसपी रानाभाट भन्छन्, ‘फेसबुकमा मेरो नामको फेक आइडी बनाएर मेरै साथीहरुसँग रुपैयाँ माग्न थालेका थाहा पाएँ । तत्कालै त्यो आइडी बन्द गराउने प्रक्रिया थालेको छु ।’ आफ्नो नामको फेक आइडी भदौं १३ गते बनाइएको खुलेको उनको भनाई छ ।

फेक आइडी बनाउने व्यक्तिको पहिचान भने खुल्न सकेका छैन । फेक आइडीबाट धनुषाकै पत्रकारसँग रुपैयाँ ठग्न खोजिएको थियो । फेक आइडी बनाउने ठगले ‘गुगल पे’मार्फत रुपैयाँ पठाउन भनिएको थियो । एसपी रानाभाटले थाहा पाएपछि आफ्नो आधिकारिक फेसबुकबाट साथीहरुलाई सचेत हुन आग्रह गरेका थिए । फेक आइडी बनाएर रुपैयाँ ठगी गर्न खोज्नेको पहिचान गर्न सम्बन्धित निकायमा मौखिक उजुरी गरेको एसपी रानाभाटले बताएका छन् । यसअघि प्रदेश प्रहरी कार्यालय जनकपुरका डिएसपी रामेश्वर कार्कीको नक्कली फेसबुक बनाएर पनि अज्ञात व्यक्ति ठगी धन्दा चलाएका थिए । तर अहिलेसम्म ति व्यक्तिको पहिचान भएको छैन । उनको आइडी बनाउने व्यक्ति भारतीय भएको कारण पक्राउ नपरेको बताइएको छ । विगतमा इमो र ह्वाट्स एप मार्फत भारतीयहरुले चिट्ठा परेको प्रलोभन देखाएर ठग्दै आएको थियो । तर पछिल्लो समय प्रहरी अधिकारी र अन्य भिआइपीहरुको नामबाट फेसबुक आइडी बनाएर ठगी धन्दा चलाउने अपराधि गिरोह सक्रिय भएको छ । कसैले अन्य व्यक्तिको नाममा सामाजिक सञ्जालमार्फत पैसा मागेपछि सचेत हुन प्रहरीको अनुरोध छ । सामाजिक सञ्जालमार्फत ठगी गरेको विषयमा जिल्ला प्रहरी कार्यालय धनुषामा मात्रै १० वटा उजुरी परेको छ । हुन त ठगीमा परेका धेरैले उजुरी नै गर्दैनन् । तर जो उजुरी गर्छन्, ति अधिकांश घटनामा संलग्न अभियुक्त समेत कारबाहीको दायरामा आएको देखिदैन ।

धनुषामा प्रहरीमा परेको उजुरीमध्ये दुई घटनाको मात्र अनुसन्धान पश्चात त्यसमा संलग्न व्यक्तिलाई कारबाही भएको एक प्रहरी अधिकारीले बताए । उनका अनुसार ८ वटा मुद्दामा अहिले अनुसन्धान चलिरहेको छ ।

Comment


Related News