गरुडा । नेपाल विधुत प्राधिकरण मौलापुर वितरण केन्द्रले विधुत चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हात पारेको छ ।
मौलापुर वितरण केन्द्रले गएको २ वर्षमा २४ प्रतिशत विधुत चुहावट नियन्त्रण गर्न सफल भएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा ४० प्रतिशतको हाराहारीमा भएको विधुत चुहावटलाई आर्थिक वर्ष २०७७÷०७८ मा १६ प्रतिशतमा झारेको मौलापुर वितरण केन्द्रले जनाएको छ । विधुत चुहावट नियन्त्रण गर्ने अभियान अन्तर्गत २ वर्षमा करिव २४ प्रतिशत विधुत चुहावट नियन्त्रण गर्न सफल भएको नेपाल विधुत प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख शक्ति साहले बताए । प्राधिकरणले चुहावट नियन्त्रण अभियान सञ्चालन गरेसँगै पहिलेको तुलनामा विद्युत चोरी गर्ने क्रम घटेको समेत उनले बताए । वितरण केन्द्रका प्रमुख साहका अनुसार चालू आर्थिक वर्षमा अब १६ प्रतिशत विद्युत चुहावट नियन्त्रण गर्न बाँकी रहेकाले सो अभियानलाई निरन्तरता दिइ जिल्लाको बिजुली बत्तीलाई नियमित र व्यवस्थित गर्नेतर्फ प्राधिकरण लागेको बताए । स्थानीय निकायले प्रयास गरे जिल्लामा जनताले नियमित विद्युत् सेवा पाउने र चुहावटलाई नियन्त्रण गर्ने सकिने उनको भनाई छ । स्थानीय निकाय ऐनले पनि स्थानीय तहलाई बिजुली चुहावट नियन्त्रण गर्ने अधिकारसमेत रहेकाले सो बमोजिम बिजुली चुहावट गर्नेलाई कारबाही गर्न सकिने उनले बताए । आर्थिक वर्ष २०७६÷०७७ मा विधुत उपभोग गर्ने कुल १६ हजार ग्राहक रहेकोमा आर्थिक वर्ष २०७७÷०७८ मा त्यो संख्या बढेर २१ हजार पुगेको कार्यालय प्रमुख साहले बताए । त्यस्तै चुहावट नियन्त्रण गर्ने क्रममा आर्थिक वर्ष २०७६÷०७७ मा हुकिङ्ग गरी विधुत चोरी गर्नेहरुलाई कार्यवाही गरी ४ लाख रुपैयाँ राजश्व असुल गरिएको छ भने आर्थिक वर्ष २०७७÷०७८ मा विधुत चोरी गर्नेहरुबाट ५ लाख रुपैयाँ जरिवाना अर्थात राजश्व असुल गरिएको उनले बताए । यसैविच नेपाल विधुत प्राधिकरण मौलापुर वितरण केन्द्रले अघिलो वर्षको तुल्नामा गत वर्ष एक करोड बढी विधुत महसुल असुली गरेको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा १० करोड राजश्व संकलन गरिएकोमा आर्थिक वर्ष २०७७÷०७८ मा ११ करोड रुपैयाँ राजश्व संकलन गरिएको वितरण केन्द्रले जनाएको छ ।


